बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्कै व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी झुटो उजुरी दिएको आरोपमा दीपक पुन मगरलाई २ हजार रूपैयाँ जरिवाना तिराएको छ ।
अख्तियारका अनुसार,अर्काको नाम र नक्कली हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिने् रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५, का दीपक पुनमगरलाई कारबाहीस्वरुप दुई हजार रुपैयाँ जरिवाना तिराइएको हो ।
बिज्ञापन
दीपक पुन मगरले आङबाबु राईको नाम र हस्ताक्षर प्रयोग गरी नेपाल प्रहरीका एक डीआईजीविरुद्ध उजुरी दिएका थिए । उक्त उजुरीमा डीआईजीले आफू अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण फिर्ता माग्दा उजुरी मिलाइदिने बहानामा ४० लाख रुपैयाँ घुस मागेको आरोप लगाइएको थियो । सो रकममध्ये १५ लाख रुपैयाँ नगद र डीआईजीकी कान्छी श्रीमतीका नाममा चेकसमेत लिएको तथा धम्की दिएको दाबी उजुरीमा गरिएको थियो । तर, आयोगले गरेको अनुसन्धानका क्रममा आङबाबु राईले उक्त उजुरी आफूले नदिएको बयान दिएका थिए । मगरले गत असार १७ गते आयोगसमक्ष बयान दिँदै उक्त उजुरी आफूले नै एबी राई अर्थात् आङबाबु राईको नामबाट दिएको स्वीकार गरेका थिए तर उनले राईको सहमतिबिना उननाम र हस्ताक्षर प्रयोग गरेर उजुरी दर्ता गराएको आयोगको सोधखोज तथा अनुसन्धानका क्रममा खुलेको र उल्लेख गरिएजस्तो डीआईजीले घुस मागेको वा धम्की दिएको घटना नै नभएको दुवै जनाले बयान दिएका थिए ।
आयोगले आङबाबु राईको नाम तथा दस्तखत प्रयोग गरी उनलाई समेत दुःख र हैरानी दिने बदनियतले पुन मगरले झुटो उजुरी दिएको तथ्य पुष्टि भएसँगै भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ बमोजिम पुनमगरलाई दुई हजार रुपैयाँ जरिवाना गरिएको अख्तियारले जनाएको छ ।





























