भूमि समस्या समाधान समिति झापाले २६ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ शान्तिनगर १ ज नक्साबाट साविकदेखि नै स्थायी रूपमा भोगचलन गरी आएका २६ अव्यवस्थित बसोबासी परिवारलाई भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले संयुक्त रुपमा लालपुर्जा वितरण गरेका हुन ।
बिज्ञापन
साविकका आयोगबाट नापनक्सा भई फिल्ड बुक कायम भइसकेको तथा विभिन्न कारणले वितरण हुन नसकेको २६ परिवारलाई कुल दुई बिघा छ कट्टा आठ धुर जग्गाको लालपुर्जा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जनाए ।
बिज्ञापन
बुद्धशान्ति गाउँपालिकाबाट भूमिहीन दलित ३१ परिवार र भूमिहीन सुकुम्बासी १४८ परिवारले आवेदन दिएका छन् यद्यपि स्थानीय तहबाट प्रमाणीकरण भई समितिमा प्राप्त भइ नसकेको कारण वितरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जनाएका छन् । उनका अनुसार,प्रमाणीकरण भई आएमा पहिलो प्राथमिकतामा राखी प्रचलित कानुन बमोजिम मिल्ने प्रकृतिको भए जग्गा वितरण गरिने छ ।





























