प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलबसमेत रोकिएको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका कार्यालयमा तालाबन्दी गरिएको छ। नगरप्रमुख संजीवकुमार साहको नेतृत्वमा नगरपालिका कार्यालयसहित सबै वडा कार्यालयमा तालाबन्दी गरेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई साँचो बुझाएका छन्।
बिज्ञापन
संघीय सरकारले लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि नगरप्रमुख संजीवकुमार साह नेतृत्वको टोलीले नगर र सबै वडा कार्यालयमा तालाबन्दी गरेको हो ।
बिज्ञापन
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा बैंक खाता सञ्चालनलगायत वित्तीय कामसमेत रोकिएको, तीन महिनादेखि कर्मचारीहरुले तलव पाउन नसकेको र दसैँ, तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा कर्मचारीले तलब पाउन सक्ने स्थिति नरहेको,प्रशासनिक, वित्तीय तथा विकास निर्माणका काम प्रभावित भएको मेयर साह बताउँछन् । उनका अनुसार, प्रमुख प्रशासकीय अधिकृत पठाउन सम्बन्धित मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि दबाबस्वरूप तालाबन्दी गर्नुपरेको साहले बताए।
कार्यालय सञ्चालन गर्ने हाकिम पठाइदिन संघीय मन्त्रालयलाई बारम्बार ताकेता गरियो, आगामी तीन दिनभित्र प्रमुख प्रशासकीय अधिकृत नपठाए थप विरोधका कार्यक्रम तय गर्ने प्रमुख साहको चेतावनी छ। साहले तीन दिनभित्र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नभए नगरभित्रका स्वास्थ्य तथा शैक्षिक संस्थासमेत बन्द गर्ने चेतावनी दिएका छन्। तालाबन्दी गरिएका नगरपालिका तथा वडा कार्यालयका चाबी भने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाइएको छ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी यादवले नगरपालिकाले साँचो बुझाएको विषयमा सम्बन्धित निकायमा जानकारी गराइसकेको बताए।





























