प्रशासनमा सचिव बढुवा धमाधम, प्राविधिकतर्फ पद रिक्त हुँदा पनि बढुवा ठप्प

सचिव बढुवाको प्रक्रिया पछिल्लो समय तीव्र बनेको छ। बढुवा समितिले प्रशासन सेवातर्फका वरिष्ठ सहसचिवहरू कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र आभा श्रेष्ठलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा समितिको बैठकले रिक्त सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको हो। सिफारिस सूचीको पहिलो नम्बरमा रहेका कालीप्रसाद पराजुलीलाई आगामी मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने सम्भावना छ।

बिज्ञापन

गत फागुनदेखि अवरुद्ध बनेको प्रशासनतर्फको सचिव बढुवा भदौ लागेयता भने धमाधम अघि बढेको छ। छोटो अवधिमै प्रशासनतर्फका चार सहसचिव सचिवमा बढुवा भई पदस्थापनसमेत भइसकेका छन्।

बिज्ञापन

पछिल्लो मन्त्रिपरिषद् बैठकले सहसचिव विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। कुँवर ज्येष्ठताका आधारमा र खत्री कार्यसम्पादन मूल्याङ्कनका आधारमा सचिवमा बढुवा भएका हुन्। सचिवमा बढुवा भएपछि कुँवरलाई लुम्बिनी प्रदेशको प्रमुख सचिव र खत्रीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।

त्यसअघि वरिष्ठ सहसचिव इन्दु घिमिरे सचिवमा बढुवा भएर रक्षा मन्त्रालयमा पदस्थापन भएकी थिइन् भने कमल भट्टराई सचिवमा बढुवा भएर बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा छन्। यसरी प्रशासनतर्फका चार सहसचिव सचिवमा बढुवा भएर पदस्थापनसमेत भइसकेका छन्। अहिले थप तीन वरिष्ठ सहसचिवको नाम बढुवाका लागि सिफारिस भएसँगै प्रशासन सेवातर्फ सचिव बढुवाको प्रक्रिया निरन्तर अघि बढेको देखिएको छ।

बिज्ञापन

तर प्रशासनतर्फ सचिव बढुवा प्रक्रिया अघि बढिरहँदा प्राविधिक सेवातर्फ भने लामो समयदेखि बढुवा प्रक्रिया रोकिएको छ। प्राविधिक सेवाका सचिवहरू केशव शर्मा, रामआधार साह, चिरञ्जीवी चटौत र प्रमिला बज्राचार्य अनिवार्य अवकाशमा गएपछि प्राविधिकतर्फका सचिवका केही पद रिक्त भएका हुन्। केशव शर्मा अवकाशमा गएपछि वैशाखमा रामआधार साह तथा असारमा चिरञ्जीवी चटौत र प्रमिला बज्राचार्यले अनिवार्य अवकाश पाएका थिए।

अर्को महिना असोज १३ गते पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले समेत आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाएपछि प्राविधिकतर्फ अर्को सचिव पद रिक्त हुनेछ।

सचिवका पदहरू रिक्त हुँदासमेत प्राविधिक सेवाका सहसचिवहरूको बढुवा प्रक्रिया अघि नबढ्दा नेपाल ट्रस्ट तथा सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयजस्ता निकाय प्राविधिक सचिवविहीन अवस्थामा छन्। महत्वपूर्ण प्राविधिक जिम्मेवारी सम्हाल्ने निकायमै सचिव पद रिक्त हुँदा प्रशासनिक तथा प्राविधिक नेतृत्वमा असर परेको भन्दै प्राविधिक सेवाका सहसचिवहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

प्राविधिकतर्फ सचिव बढुवाको लाइनमा वरिष्ठताका आधारमा जगदीश्वर कर्मचार्य, नवीनराज सिंह र मिना श्रेष्ठ अगाडि देखिएका छन्। जगदीश्वर कर्मचार्य २०७० फागुन २९ गते सहसचिव भएका हुन्। नेपाल इन्जिनियरिङ सेवाअन्तर्गत मेटेरियोलोजी समूहका उनी हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत छन्। उनी २०८६ भदौ १६ गते अनिवार्य अवकाशमा जानेछन्।

त्यस्तै, नवीनराज सिंह २०७० चैत ३ गते सहसचिव भएका हुन्। सिभिल इन्जिनियरिङतर्फका सिंह हाल लगानी बोर्डमा कार्यरत छन्। उनको अनिवार्य अवकाश २०८४ साउन ११ गते हुनेछ।

प्राविधिक सेवातर्फको अर्को प्रमुख दाबेदारमा मिना श्रेष्ठ छन्। उनी २०७१ माघ ८ गते सहसचिव भएकी हुन्। सिभिल इन्जिनियरिङ सेवाकी श्रेष्ठ हाल खानेपानी मन्त्रालयमा कार्यरत छन्। उनको अनिवार्य अवकाश २०८५ साउन २५ गते हुनेछ।

प्रशासनतर्फ रिक्त पदमा लगातार बढुवा भइरहँदा प्राविधिकतर्फ भने सचिवका दरबन्दी रिक्त भएर पनि बढुवा प्रक्रिया अघि नबढ्नुले निजामती प्रशासनभित्रै प्रश्न उठेको छ। विशेषगरी इन्जिनियरिङ पृष्ठभूमिका प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले प्राविधिक सेवाका सहसचिवलाई सचिवमा बढुवा गर्ने प्रक्रिया किन अघि बढाउन सकेन भन्ने विषय प्राविधिक प्रशासनभित्र चर्चाको विषय बनेको छ।

प्रशासनतर्फ सचिव बढुवाका लागि एकपछि अर्को सिफारिस हुँदै गर्दा प्राविधिकतर्फ भने रिक्त सचिव पद, अवकाशको समयसीमा र बढुवाको प्रतीक्षामा रहेका वरिष्ठ सहसचिवको सूची लामो बन्दै गएको छ। यसले निजामती सेवामा सचिव बढुवाको प्रक्रियामा प्रशासन र प्राविधिक सेवाबीच देखिएको असमान गतिलाई समेत सतहमा ल्याएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीको महासंकटमा सडक विभागको नेतृत्व : विपत्तिसँग जुध्दै यातायात सञ्चालनदेखि पुनर्निर्माणको खाका तयार पार्दै महानिर्देशक

प्रधानमन्त्रीको अध्यक्षतामा आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

प्रशासनमा सचिव बढुवा धमाधम, प्राविधिकतर्फ पद रिक्त हुँदा पनि बढुवा ठप्प

१२ सहसचिव सामान्य प्रशासनको जगेडामा

६९ सहसचिव पदका लागि लोक सेवाले खुलायो विज्ञापन

एउटै पालिकामा दुईजना हाकिम पठाउनुभो, कसरी काम गर्ने मन्त्रीज्यू ?

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

बिशेष