काठमाडौं । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक कटान गरी पूर्ण रूपमा अवरुद्ध भएपछि सडक विभागले पुनःनिर्माणको काम तीव्र बनाएको छ।
बिज्ञापन
बाढीका कारण अवरुद्ध सडकखण्डमा यथाशीघ्र यातायात सञ्चालन गर्ने उद्देश्यले सडक विभागले आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरण अधिकतम परिचालन गरी नयाँ ट्रयाक निर्माण तथा सडक पुनर्स्थापनाको काम गरिरहेको जनाएको छ।
बिज्ञापन
विभागका अनुसार आइतबार भदौ २८ गते निर्माणाधीन ट्रयाकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षण गरिएको छ। परीक्षणका क्रममा काठमाडौंबाट चितवनतर्फ ग्यास बुलेटसहित करिब २० वटा सवारी साधन सञ्चालन गरिएका थिए। त्यस्तै, चितवनबाट काठमाडौंतर्फ एउटा भारी सवारीसहित केही हलुका सवारी साधन पनि सफलतापूर्वक सञ्चालन गरिएको विभागले जनाएको छ।
परीक्षण सफल भए पनि सडक स्तरोन्नति, सुरक्षा व्यवस्थापन तथा अन्य आवश्यक काम अझै बाँकी रहेकाले तत्कालका लागि कृष्णभीर खण्डबाट नियमित यातायात सञ्चालन नगरिने भएको छ।
बिज्ञापन
सडक विभागका उपमहानिर्देशक तथा योजना तथा अनुगमन महाशाखाका प्रवक्ता शुभराज न्यौपानेले असोज १ गतेदेखि कृष्णभीर खण्डलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जानकारी दिएका छन्।
त्यसअघि भने कृष्णभीर खण्डबाट सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने विभागले स्पष्ट पारेको छ। यात्रु तथा सवारीसाधनलाई सम्बन्धित निकायबाट जारी हुने सूचना र वैकल्पिक मार्गसम्बन्धी निर्देशन पालना गर्न विभागले आग्रह गरेको छ।
विभागले सडक पुनर्स्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको भन्दै यात्रु तथा सरोकारवालासँग निर्माण कार्य सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ।



























