सुनसरीको इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी ७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भएर पल्टँदा २ जनाको मृत्यु भएको हो ।
बिज्ञापन
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ७, बालग्राममा प्रदेश १ ०२ ०४३ प ५५१४ नम्बरको मोटरसाइकल निर्माणणाधीन कल्भर्टमा ठोकिएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवै जना जिल्ला प्रशासन कार्यालयसँग सम्बद्ध कर्मचारी रहेको खुलेको छ। मृत्यु हुनेमा इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी छन् । सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुन् । रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी हुन् । उनी सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)का स्वकीय सचिवका रूपमा कार्यरत थिए । यस्तै थापा जिल्ला प्रशासन कार्यालय सुनसरीको राष्ट्रिय परिचयपत्र फाँटमा कार्यरत थिए । उनले केही समयअघि पदबाट राजीनामा दिएका थिए । उनी पनि जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी थिए ।
दुर्घटनामा घाइते भएका दुबैलाई उपचारका लागि राति नै वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरुलाई विहान ५ बजे मृत घोषणा गरिएको थियो ।



























