काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बाढी प्रभावित क्षेत्रमा परिचालित सशस्त्र प्रहरी बल नेपालले ३ हजार ६ सयभन्दा बढीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ।
रसुवामा भदौ १० गते आएको बाढीपछि सशस्त्र प्रहरीले प्रभावित क्षेत्रका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी निरन्तर स्वास्थ्य सेवा दिँदै आएको हो। नेपाल एपीएफ अस्पताल बलम्बुबाट दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
बिज्ञापन
सशस्त्र प्रहरीका अनुसार चिकित्सकसहितको टोलीले रसुवाको जिल्ला अस्पताल धुन्चे र टिमुरे, नुवाकोटको आयुर्वेद चिकित्सालय, क्रियापुत्री भवन, केन्द्रीय कारागार नुवाकोट, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय र नुवाकोट स्वास्थ्य चौकीलगायतका स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।त्यसैगरी धादिङको गल्छी तथा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत भदौ १० गतेदेखि स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
बिज्ञापन

बाढीपछि विभिन्न स्थानमा विस्थापित, घाइते तथा बिरामी भएका नागरिकसँगै बालबालिका र वृद्धवृद्धालाई समेत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। बाढीका कारण प्रभावित नुवाकोटस्थित केन्द्रीय कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य अवस्थालाई समेत प्राथमिकतामा राखेर विशेष स्वास्थ्य परीक्षण गरिएको छ।
केन्द्रीय कारागार नुवाकोटमा भदौ १७ गते १ सय ८५ जना र भदौ २४ गते २ सय १७ जना गरी ४ सय २ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। स्वास्थ्य परीक्षणसँगै कैदीबन्दीलाई आवश्यक स्वास्थ्यसम्बन्धी परामर्शसमेत प्रदान गरिएको थियो।
बाढीपछि सरुवा रोग तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीको स्वास्थ्य टोलीले उपचारमा मात्रै सीमित नभई प्रभावित क्षेत्रमा रोग नियन्त्रण तथा वातावरणीय स्वच्छताका कामसमेत अघि बढाएको छ। नुवाकोटको देवीघाट बजार क्षेत्र, देवीघाट माध्यमिक विद्यालय परिसर तथा केन्द्रीय कारागार क्षेत्रमा किटनाशक औषधि छर्किएको छ। क्रियापुत्री भवन क्षेत्रमा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बिज्ञापन

बाढी प्रभावित क्षेत्रमा घाइतेको तत्काल उपचार तथा उद्धारलाई सहज बनाउन सशस्त्र प्रहरीले ‘मास क्याजुअल्टी भेइकल’ समेत परिचालन गरेको छ। गम्भीर घाइते तथा थप उपचार आवश्यक पर्नेका लागि नेपाल एपीएफ अस्पताल बलम्बु र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित ट्रमा सेन्टरमा शय्या तयारी अवस्थामा राखिएको छ।
स्वास्थ्य सेवासँगै सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई पनि तीव्रता दिएको छ। प्रभावित विभिन्न क्षेत्रमा ४ हजार २ सयभन्दा बढी सशस्त्र प्रहरी कर्मचारी परिचालन गरिएको छ।

परिचालित टोलीले बाढीमा परेकाहरूको खोज तथा उद्धार, घाइतेको उपचार, आपत्कालीन औषधि व्यवस्थापन, होल्डिङ सेन्टर सञ्चालन तथा राहत सामग्री वितरणलगायतका काम गरिरहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बाढीपछि प्रभावित नागरिकको स्वास्थ्यमा पर्न सक्ने तत्कालीन तथा दीर्घकालीन असरलाई ध्यानमा राख्दै चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा निरन्तरता दिएको सशस्त्र प्रहरीले जनाएको छ।



























