बरिष्ठ सहसचिव विनोद कुँवर एकल बढुवा सिफारिसमा परेका छन् । उनी ज्येष्ठताको आधारमा (२० प्रतिशततर्फ) नेपाल सरकारको सचिव पदका लागि एकल सिफारिस मा परेका हुन् । कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत) का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत) बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार यस पटक कुँवरको नाम एकल सिफारिसमा परेको हो ।
फागुनदेखि अवरुद्ध भएको सचिव बढुवा प्रक्रियाले गति लिइरहेको छ । भदौं महिना लागे यतामात्र तीन जना सहसचिवहरु सचिवमा उक्लिएका छन् । कुँवरको नाम पछिल्लो समय निरन्तर सिफारिसमा पर्दै आएको थियो ।
बिज्ञापन
पटक पटक सचिव बढुवाका लागि सिफारिसमा पर्दै आएका कुँवर यसपटक भने २० प्रतिशततर्फबाट एकल सिफारिसमा परेका हुन्। गत भदौ ३ मा कमलप्रसाद भट्टराई बागमती प्रदेशको मुख्यसचिव, भदौ १२ गतेको निर्णयबाट इन्दु घिमिरे रक्षा मन्त्रालयको सचिव र भदौ १७ गतेको निर्णयबाट नारायणप्रसाद भट्ट कोशी प्रदेशको मुख्यसचिवमा पदोन्नति भएर पदस्थापन भएका छन् । यस्तै, ज्येष्ठताका आधारमा एकल सिफारिसमा परेका विनोदबहादुर कुँवर हाल राष्ट्रिय समावेशी आयोगका सचिव हुन । उनको जागिर अवधि १० महिना बाँकी छ ।
बिज्ञापन
उनी यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव भएर काम गरिसकेका प्रशासक हुन । त्यस अघि गण्डकी प्रदेश लोकसेवा आयोग हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या प्रशासन महाशाखा प्रमुख रहेका कुँवर मंसिर २०८०मा जनसंख्या मन्त्रालयमा आउनुअघि गण्डकी प्रदेशमा ३ वर्ष प्रदेश सचिवका रुपमा रहेर काम गरेका थिए । यस्तै सो अघि आन्तरिक राजस्व विभागमा पनि १४ महिना महानिर्देशक भएर काम गरेका थिए । विगतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित लोकसेवा आयोगमा काम गरेका कुँवर प्रधानमन्त्री कार्यालमा बस्दा उनले सिंहदरबारमा सरसफाइ र हरियाली प्रवर्द्धन गर्ने कामको नेतृत्व गरेका थिए ।



























