“निजामती सेवाबाट नागरिक सेवातर्फ: वेबरियन ढाँचाको असान्दर्भिकता र नयाँ सोच”

  पृष्ठभूमि

बिज्ञापन

    ‘निजामती’ शब्द अरबी-फारसी भाषाको ‘निजाम’ शब्दवाट आएको आगन्तुक शब्द हो, जसको शाब्दिक अर्थ व्यवस्थापन, प्रशासन वा शासकीय प्रणाली सञ्चालन गर्ने व्यवस्थित ढाँचा भन्ने हुन्छ। भारतीय उपमहाद्वीपमा मुगल शासनकालमा राज्य सञ्चालन गर्ने, शान्ति सुरक्षा कायम गर्ने र मुख्य रूपमा भू-राजस्व असुली गर्ने प्रशासनिक निकायलाई ‘निजामत’ वा ‘निजामती’ भनिन्थ्यो। पछि ब्रिटिस इस्ट इन्डिया कम्पनीले सैनिक सेवा (Military Service) बाट गैर-सैनिक (Civil) प्रशासनलाई छुट्याउन ‘निजामती सेवा’ (Civil Service) नामाकरण गरेको हो । यसरी निजामती शब्दको उदय ऐतिहासिक रूपमा राज्यको नियन्त्रण, हुकुम र राजस्व सङ्कलन गर्ने नियन्त्रणमुखी संयन्त्रका रूपमा भएको देखिन्छ।
नेपाल सरकार (मन्त्रीपरिषद्) को वि.स. २०६१ को निर्णय अनुसार वि.स. २०१३ साल भाद्र २२ गते पहिलो पटक ‘निजामती सेवा ऐन, २०१३’ जारी भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष भाद्र २२ गते निजामती सेवा दिवस मनाउन प्रचलन सुरु भएको पाइन्छ। सो समयमा मुलुकमा एकात्मक शासन प्रणाली विद्यमान थियो। तर, देशमा सङ्घीयताको आगमनसँगै निजामती सेवाको विस्तार प्रदेश र स्थानीय तहसम्म भएको छ। नेपालको संविधान जारी भएपश्चात् नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र सरकारको पूर्ण वा ५१ प्रतिशतभन्दा बढी स्वामित्व भएका सङ्गठित संस्थाहरूमा योग्यता प्रणालीका आधारमा पदपूर्ति गर्ने अधिकार लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोगको क्षेत्राधिकारभित्र परेको छ। यसरी सार्वजनिक सेवाको दायरा व्यापक बनेकाले अब यसलाई ‘निजामती सेवा’ मात्र नभनी ‘नागरिक सेवा’ भन्नु उपयुक्त देखिन्छ।

बिज्ञापन

नाइने छैन यस पालिको निजामती सेवा दिवस:

यसपालि (अर्थात् वि.सं. २०८३ भदौ २२ गते) मनाउन लागिएको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रमहरू सरकारले रद्द गरिएका छन्।सरकारले यो वर्ष दिवस तामझामका साथ नमनाउने निर्णय गर्नुका मुख्य कारणहरूमा गत भदौ १० गते नेपाल-चीन सीमाक्षेत्र रसुवागढी (भोटेकोशी नदी) मा आएको भीषण बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भई मुलुक शोकको अवस्थामा रहेको, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरू यतिबेला प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यमा निरन्तर खटिनुपर्ने अवस्था रहेको मूख्य कारणहरु रहेका छन् । निजामती सेवा दिवस मनाउनका लागि विनियोजित गरिएको सम्पूर्ण बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय सरकारले गरिसकेको छ । तसर्थ: निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले यो संकटको समयमा उत्सव मनाउनु उपयुक्त नहुने ठहर गर्दै सम्पूर्ण औपचारिक कार्यक्रमहरू रद्द गरेको जनाएको छ।

बिज्ञापन

वेबरको नोकरशाही सिद्धान्तको असान्दर्भिकता:

नेपालको निजामती सेवा अझै पनि जर्मन अर्थशास्त्री तथा समाजशास्त्री म्याक्स वेबर (Max Weber) को नोकरशाही (Bureaucratic Theory) सिद्धान्तमा आधारित भएर सञ्चालन भइरहेको छ। औद्योगिक क्रान्तिको पृष्ठभूमिमा स्थिर समाज र कलकारखानाका श्रमिक व्यवस्थापनका लागि यो मोडल उपयुक्त भए तापनि आजको प्रविधि र ज्ञानमा आधारित समाज (Knowledge-based Society) मा वेबरको परम्परागत सिद्धान्त असान्दर्भिक बन्दै गएको छ। हिजोको प्रशासन फाइल, अड्डा र भौतिक उपस्थितिमा चल्थ्यो भने आजको प्रशासन डेटा, प्रविधि र अनलाइन प्रणालीबाट सञ्चालित छ। वेबरको नोकरशाही सिद्धान्त आजको डिजिटल युगमा असान्दर्भिक हुनाका मुख्य कारणहरू देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छ।
• प्रक्रियामुखी भर्सेस नतिजामुखी: वेबरको मोडलले ऐन-कानुन र तोकिएको प्रक्रियाको अक्षरसः पालना (Red Tapism) मा जोड दिन्छ। तर modern समाजलाई ढिलासुस्ती होइन, द्रुत सेवा र नतिजा (Outcome) को माग गर्दछ।
• कठोरता भर्सेस लचिलोपन: नोकरशाही सिद्धान्त पदसोपान (Hierarchy) र कठोर नियममा आधारित हुन्छ। आजको डिजिटल युगमा अनपेक्षित समस्या समाधान गर्न चाहिने लचिलोपन, नवीनता र द्रुत निर्णय क्षमता वेवरको सिद्धान्तमा सम्भव छैन।यसको विकल्पमा नयाँ सार्वजनिक व्यवस्थापन,नयाँ सार्वजनिकल सेवा ,नयाँ सार्वजनिक शासन, डिजिटल शासन,उत्थानशील शासनका कयौ नयाँ अवधारणा विकासित भईसकेको अवस्थामा वेवरको सिद्धान्त असान्दर्भिक भईसकेको छ । विश्वमा प्रशासन अव पुरानो जडताबाट मुक्त भई नयाँ सोच र अवधारणलाई आत्मसाथ गर्दै आफ्नो रुपान्तरणको गतिलाई बढाएको पाइन्छ।
• अति-तटस्थता भर्सेस मानवीय संवेदनशीलता: वेबरको ‘निर्वैयक्तिक सम्बन्ध’ ले कर्मचारीलाई नियम पालना गर्ने मेसिन जस्तै बनाउँछ। तर सार्वजनिक सेवा नागरिकका सामाजिक, आर्थिक र मानवीय समस्याहरूसँग प्रत्यक्ष जोडिने भएकाले यसमा दया, करुणा र मानवीय संवेदनशीलता अपरिहार्य हुन्छ।
• स्थिर समाजका लागि बनेको भर्सेस तीव्र परिवर्तनशील युग: स्थिर समाजका लागि बनेको परम्परागत नियन्त्रणमुखी संरचनाले आजको प्रविधि, भूमण्डलीकरण र परिवर्तनशील परिवेशलाई धान्न सक्दैन।
• भौतिक अड्डा भर्सेस डेटा र अनलाइन प्रशासन: कागज र भौतिक अड्डामा सीमित वेबरको बहु-स्तरीय (Multi-layered) निर्णय प्रक्रियाले आजको ई-गभर्नेन्स र २४/७ अनलाइन सेवाको गतिको सामना गर्न सक्दैन।

नेपालको सन्दर्भमा वेबरियन कर्मचारीतन्त्रका अवशेषहरू:
हामी कहाँ नयाँ सार्वजनिक व्यवस्थापन नयाँ सार्वजनिक सेवा नयाँ सार्वजनिक शासन डिजिटल शासनमा अवधारणलाई निकै चर्चा पाइन्छ यद्यापी व्यवहारमा नेपालको कर्मचारीतन्त्रमा वेवरियन सिद्धान्तमा अवशेषहरु पाइन्छ । जसलाइ देहायको कारणबाट प्रष्ट पार्न सकिन्छ।

• अति-पदसोपान र ढिलासुस्ती (Strict Hierarchy & Red Tapism): नेपालको प्रशासनिक संरचना अझै पनि आदेश र तोकादेश (Chain of Command) मा आधारित छ। फाइल प्रणाली र बहु-स्तरीय निर्णय प्रक्रियाले गर्दा साना निर्णयहरूमा पनि महिनौँ लाग्ने परिपाटी वेबरियन ढाँचाकै निरन्तरता हो। नेपालको सार्वजनिक संगठनमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा एउटा उपसचिवको दरबन्दी सृजना गर्दा कयौ शाखा अधिकृत र सहायक कर्मचारीहरुको दरबन्दी सगै सृजना गर्नु यसैको उपज हो ।

• प्रक्रियामुखी र ऐन-कानुनको अक्षरसः पालना (Procedure-Oriented): नतिजा (Outcome) भन्दा पनि ऐन, नियम, निर्देशिका र कार्यविधिको ‘प्रक्रिया’ पुर्‍याउनमा बढी ध्यान दिइन्छ। कानुनी रूपमा ‘प्रक्रिया मिलेको’ तर व्यावहारिक रूपमा नागरिकले सास्ती पाएको अवस्था व्यापक छ।नेपालका कार्यक्रम आयोजना तथा परियोजनाको कार्यान्वयन महालेखा परिक्षकको लेखा परिक्षण र अख्तियारबाट बच्ने हिसावले कार्यान्वयन गरिन्छ जहा नतिजा र प्रभावकारितालाई नजरअन्दाज गरिनु यसैको उपज हो ।
• शासकीय र नियन्त्रणमुखी मानसिकता (Ruler Mindset): वेबरको ‘निर्वैयक्तिक सम्बन्ध’ (Impersonality) को दुरुपयोग गर्दै कर्मचारीहरूले आफूलाई ‘नागरिकको सेवक’ भन्दा पनि ‘शासक’ मान्ने परम्परागत सोच कायमै छ।
• गोपनीयता र पारदर्शी नहुनु (Culture of Secrecy): वेबरियन नोकरशाहीले आन्तरिक सूचना र निर्णय प्रक्रियालाई गोप्य राख्न रुचाउँछ। नेपालमा सूचनाको हक सम्बन्धी कानुन भए तापनि प्रशासनको आन्तरिक संस्कृति अझै पनि पारदर्शी बन्न सकेको छैन।
• विभागीय साँगुरोपन (Silo Mentality): वेबरको श्रम विभाजन (Division of Labor) को सिद्धान्तका कारण विभिन्न सरकारी निकायहरूबीच समन्वयको अभाव छ; प्रत्येक मन्त्रालय वा विभाग आफू अनुकूल मात्र सोच्ने गर्दछन्।

निजामती सेवा दिवसलाई किन नागरिक सेवा दिवस भन्ने:

परम्परागत प्रशासनिक दृष्टिकोणले केवल कानुनी प्रक्रिया र बजेट खर्चलाई मात्र प्रगति मान्ने गर्दथ्यो। तर वर्तमान समयमा सार्वजनिक प्रशासनका अनेकौँ नवीनतम दृष्टिकोणहरू प्रचलनमा आएका छन्, जसले प्रक्रियाभन्दा बढी नतिजा र नागरिक सहभागितालाई जोड दिन्छन्। विगतमा राज्यले नागरिकलाई ‘रैती’ वा ‘प्रजा’ मान्ने र विकास तथा सेवा प्रवाहलाई राज्यको ‘निगाह’ वा ‘दान’का रूपमा हेर्ने गरिन्थ्यो। modern नतिजामूलक, फुर्तिलो, उत्थानशील र जिम्मेवार सरकारको अवधारणाले नागरिकलाई ग्राहक मात्र नभई विकास र शासनको साझेदार मान्दछ। अब सेवा र विकास दान नभई नागरिकको अधिकारको विषय बनेको छ। प्रशासन आफ्नो परम्परागत अन्तर्मुखी स्वभावबाट बाहिर निस्केर नागरिकलाई केन्द्रमा राख्ने सहकार्यमूलक तथा सञ्जालिकृत प्रणालीमा रूपान्तरण भइसकेकाले ‘निजामती सेवा दिवस’ लाई ‘नागरिक सेवा दिवस’का रूपमा पुनर्गठन गर्नु सान्दर्भिक हुन्छ।

  आजको विश्वमा “शासन गरेर सेवा दिने” होइन, “सेवा गरेर शासन गर्ने” गतिशील प्रशासनको अवधारणा लागू भएको छ। सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन, २०६४ को प्रस्तावनामा पनि सार्वजनिक प्रशासनलाई सेवा प्रदायक निकायका रूपमा विकास गर्दै लैजाने उल्लेख छ। तसर्थ, बदलिँदो सङ्घीय ढाँचा, संवैधानिक दायरा र आधुनिक लोकतान्त्रिक मूल्य-मान्यतालाई आत्मसात् गर्दै निजामती सेवा दिवसलाई नागरिक सेवा दिवस भन्नु समयसापेक्ष देखिन्छ।

सबै राष्ट्रसेवक कर्मचारीहरूमा यस दिवसप्रति पूर्ण अपनत्व भाव जगाउनका लागि पनि ‘निजामती सेवा दिवस’ लाई ‘नागरिक सेवा दिवस’ भन्नु आवश्यक छ। वर्तमान कानुनी व्यवस्थाले सङ्घअन्तर्गत रहेका करिब ५० हजार जनशक्तिलाई मात्र ‘निजामती कर्मचारी’को कठोर परिभाषाभित्र समेटेको छ। जबकि स्वास्थ्य सेवा, प्रदेश निजामती सेवा, स्थानीय सरकारी सेवा, संसद सेवा तथा विभिन्न सङ्गठित संस्थामा कार्यरत कर्मचारीहरू पनि गैर-सैनिक चरित्रकै हुन्; तर, निजामती सेवाको साँगुरो परिभाषाले उनीहरूलाई समेट्न सकेको छैन।

यसै सङ्कुचित दायराका कारण विगतका वर्षहरूमा कर्मचारी समायोजनबाट गएका र स्थानीय तहमा कार्यरत कर्मचारीहरूले निजामती सेवा दिवस बहिष्कारसम्मका अभियान सञ्चालन गरेका थिए। नागरिकलाई प्रत्यक्ष सेवा प्रवाह गर्ने स्थानीय तहका कर्मचारीहरूले नै यस दिवसप्रति अपनत्व महसुस नगर्नु र बहिष्कारको स्थिति सिर्जना हुनुले वर्तमान संरचनाको सीमालाई उजागर गर्दछ। तसर्थ, देशका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई एउटै छाताभित्र समेट्न र उनीहरूमा सम्मानजनक अपनत्व कायम गर्न हालको निजामती सेवा दिवसलाई पुनरसंरचना गरी ‘नागरिक सेवा दिवस’ का रूपमा मनाउनु नै उपयुक्त र समयसापेक्ष देखिन्छ।

प्रस्तुत विषय लेखकका निजि विचार हुन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

“निजामती सेवाबाट नागरिक सेवातर्फ: वेबरियन ढाँचाको असान्दर्भिकता र नयाँ सोच”

आज राष्ट्रिय शोक

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

बिशेष