गृह मन्त्रालयले ऋण असुलीका नाममा ऋणीलाई दुःख र यातना दिनेलाई कारबाही गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण असुलीका नाममा ऋणीमाथि गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाही गर्न भनेको छ ।
बिज्ञापन
भदौ १८ गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान सँग सरकारले गरेको सहमतिपत्रको बुँदा नं ८ कार्यान्वयन गर्न निर्देशन दिएको छ। मन्त्रालयको सचिवस्तरीय निर्णयमा बैंक तथा वित्तीय संस्थाहरूले ऋण असुलीका नाममा ऋणीलाई दुःख दिने वा यातना दिने काम गरे कारबाही गरिने उल्लेख छ । ऋण असुलीका लागि यातना दिने,घरबाट जिन्सी सामान उठाएर लैजाने,किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड,गालीबेइज्जती,दुर्ब्यवहार गर्ने लगायतका गैरकानुनी कार्य गर्नेलाई कारबाही हुने भनिएपछि बैंक तथा वित्तीय संस्थाले त्यसतर्फ थप कदम अघि बढाउन नसकिने अवस्था बनेको हो । ‘ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड, गाली बेइज्जती, दुर्व्यवहार लगायतका गैरकानुनी कार्यहरू गरेमा त्यस्ता कार्यउपर पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने र प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने’, भन्दै गृहले सहमति बुँदा नम्बर ८ पत्रमा उल्लेख गरेको छ ।
बिज्ञापन
भदौ १२ गते मन्त्रिपरिषद्को बैठकले द्विपक्षीय सहमति ग्रहण गर्ने र कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने गरेको निर्णयअनुसार भदौ १८ गते सचिवस्तरीय निर्णय गरेर गृहले पत्राचार गरेको हो ।





























