आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न सात निर्णय गरेको छ । जसमध्ये छैटौं नम्बरमा उल्लेख गरिएको छ,संवत् २०८३ साल भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथीको दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने ।
बिज्ञापन
सो निर्णयसँगै धेरैले सामाजिक सञ्जालमा भोलिदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भएको भन्दै टिका टिप्पणी गरिरहेका छन् । १९ गते कृष्ण जन्माष्टमि,२० गते शनिबार र २१ गते आइतबार सार्वजनिक बिदा, २२ गते राष्ट्रिय शोक दिवस र २३ गते जेनजी शहीद दिवस सार्वजनिक विदा रहेको चर्चा भइरहेको छ ।
बिज्ञापन
कर्मचारी प्रेसले यस बिषयमा गृहका अधिकारीहरुलाई जिज्ञासा राख्दा आगामी भदौ २२ मा सार्वजनिक बिदा नभएको जनाएको छ । सो दिन राष्ट्रिय शोक मनाउने निर्णय भएको र सरकारले त्यो दिन बिदा नरहेको बताएको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि २२ गते सार्वजनिक बिदा नभएको प्रष्टाएका छन् ।
यसैबीच बागमती प्रदेश सरकारले सोही दिन अर्थात भदौ २२ गते प्रदेशका तीन जिल्लाहरु चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार,चेपाङ जातिले मनाउने न्वागी पर्वको अवसरमा बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा परेको छ ।




























