रसुवाको बाढी प्रभावित क्षेत्रमा ‘संघीय सरकार आकाश र फेसबुकमामा देखिन्छ, भुइँमा देखिँदैन’ : अध्यक्ष अर्याल

रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राज्यको प्रभावकारी उपस्थिति महसुस हुन नसकेको गुनासो गरेका छन्। बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको क्षेत्रमा आफैँ उपस्थित रहेका अध्यक्ष अर्यालले सामाजिक सञ्जालमार्फत उद्धार, राहत र उपचारमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

बिज्ञापन

उनका अनुसार बाढीको सूचना जारी गर्न खटिएका चार कर्मचारी अझै बेपत्ता छन् भने सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको शव पहिचानपछि दाहसंस्कार गरिएको छ। कार्यपालिका सदस्य ज्ञानु विकसहित केही शिक्षकसमेत सम्पर्कविहीन रहेको उनले बताएका छन्।

बिज्ञापन

वेत्रावती बजार, कैदलेटार, पैरेबेँसी, सल्लेटार र मैलुङ क्षेत्रमा ठूलो मानवीय क्षति भएको अध्यक्ष अर्यालको दाबी छ। २०७२ को भूकम्पपछि ११ वर्षदेखि अस्थायी बसोबास गरिरहेका करिब ३०० घरपरिवारसमेत बाढीबाट प्रभावित भएको उनले बताएका छन्।
त्यस्तै, त्रिशूली–३ बी जलविद्युत् आयोजनाका ठूलो संख्यामा कर्मचारी तथा कामदार र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कोरियन, चिनियाँ, भारतीय तथा नेपाली कामदारसमेत सम्पर्कविहीन रहेको उनले उल्लेख गरेका छन्। केही मानिस सुरुङभित्र फसेको खबर आएको उनको भनाइ छ।
गोसाइँकुण्ड तथा मानसरोवर यात्रामा निस्किएका यात्रुहरूसमेत सम्पर्कविहीन भएको भन्दै आफन्तहरूले खोजी तथा उद्धारका लागि हारगुहार गरिरहेको उनले बताएका छन्।

सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको र विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कमा समेत समस्या आएको अध्यक्ष अर्यालले बताएका छन्। मोबाइल अफ भएकाले प्रभावित क्षेत्रका धेरै मानिससँग सम्पर्क हुन नसकेको उनको भनाइ छ।

बिज्ञापन

‘टिमुरे, स्याफ्रुबेशी क्षेत्रमा धेरै नै मानवीय क्षति पुगेको छ। त्योभन्दा बढी मैलुङ, सल्लेटार, पैरेबेँसी, कैदलेटार र वेत्रावती क्षेत्रमा अकल्पनीय मानवीय क्षति पुगेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

मरणासन्न अवस्थाका घाइतेलाई उद्धार गर्न प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित सबै निकायमा समन्वय गर्दा पनि हेलिकप्टर उपलब्ध नभएको र अन्ततः १० घण्टापछि कालिकास्थान–जिवजिवे हुँदै धुन्चे अस्पताल पुर्‍याउनुपरेको उनले बताएका छन्।

नदी किनारमा ५० भन्दा बढी शव देखिएको र परिवारका सदस्यले पहिचान गरेका शवको दाहसंस्कारका लागि प्रहरीसँग समन्वय गर्दा ‘माथिको आदेशबाहेक केही गर्न नमिल्ने’ जवाफ पाएको अध्यक्ष अर्यालको भनाइ छ। बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मीसमेत बेपत्ता भएको उनले बताएका छन्।

उनले विपद्का बेला राज्यको उपस्थिति सामाजिक सञ्जालमा मात्र देखिएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। ‘हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ,’ उनले लेखेका छन्।

गृह मन्त्रालयको सचिवालयबाट नकारात्मक प्रचार नगर्न र राजनीति नगर्न आग्रहसहित फोन आएको उल्लेख गर्दै अध्यक्ष अर्यालले आफूहरूले सरकारको आलोचना गर्नुपर्ने अवस्था नै सिर्जना नहोस् र जनताले सरकार भएको अनुभूति गर्न पाउने गरी काम गर्नुपर्ने बताएका छन्।

आफू आबद्ध नेकपा (एमाले) नेतृत्वप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीका केही नेताले मात्रै आफू र प्रभावित क्षेत्रको अवस्थाबारे चासो राखेको उल्लेख गर्दै उनले परिणामविहीन रूपमा सामाजिक सञ्जाल रंग्याउने काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतले चासो र चिन्ता व्यक्त गरेको उनले उल्लेख गरेका छन्।

३५० प्रभावित विद्यालयमा आश्रित
अध्यक्ष अर्यालका अनुसार हाल प्रभावित क्षेत्रका करिब ३५० जनालाई नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा राखिएको छ। कालिका र नौकुण्ड गाउँपालिकाबाट प्राप्त खाद्यान्नलगायत सहयोगले थप तीन दिनसम्म धान्ने अवस्था रहेको उनले बताएका छन्।

तर विद्यालयको भुइँमा कालो म्याट्रेस ओछ्याएर रात बिताउनुपर्ने अवस्था रहेको छ। स्थानीय बासिन्दाले केही प्रभावितलाई आफ्नै घरमा आश्रय दिएर राखेको उनले बताएका छन्।
नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई उनीहरूको संवेदनशील अवस्थाअनुसार आवश्यक सहयोग गर्न नसकिएको उनले उल्लेख गरेका छन्।

नदी किनारमा रहेका शव कुहिन थालेपछि गाउँमा दुर्गन्ध फैलिन थालेको र त्यसबाट संक्रमणको जोखिम बढेको भन्दै उनले तत्काल शव व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। बिरामीको संख्या बढ्दै गएकाले तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा समेत धेरै मानिस रहेको र त्यहाँ खाद्यान्नलगायत आवश्यक सामग्रीको अभाव रहेको भन्दै तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्नुपर्ने उनले बताएका छन्।
त्रिशूली नदीको वारिपारि फसेका तथा परिवारबाट छुट्टिएका व्यक्तिको उद्धार गरी परिवारसँगै बस्ने व्यवस्था मिलाउनुपर्ने, सहयोग गर्न इच्छुक संघसंस्थालाई सहजीकरण गर्नुपर्ने र घरबारविहीन, बेपत्ता, अभिभावकविहीन बालबालिका तथा ध्वस्त भएका सार्वजनिक र निजी संरचनाको तथ्यांक संकलन भइरहेको अध्यक्ष अर्यालले जानकारी दिएका छन्।

प्रमुख जिल्ला अधिकारीसँग बिहीबार साँझ सम्पर्क भएको र तत्काल गर्नुपर्ने काम शुक्रबारबाट सुरु गर्ने जानकारी प्राप्त भएको उनले बताएका छन्। स्थानीय सरकारका जनप्रतिनिधिसँग समन्वय गरी राज्यको नजरमा ओझेलमा परेका क्षेत्रमा उद्धार तथा राहतका काम अघि बढ्ने विश्वास उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको बाढी प्रभावित क्षेत्रमा ‘संघीय सरकार आकाश र फेसबुकमामा देखिन्छ, भुइँमा देखिँदैन’ : अध्यक्ष अर्याल

सरकारी कर्मचारीको २ देखि १० दिनको तलब काटिने, राहतकोषमा ३६ करोड जम्मा हुने

मृत्युलाई जितेर फर्किएका अधिकृतको कहालीलाग्दो अनुभव

बाढीपीडितको उद्धारमा इन्धनको कमान्ड सम्हाल्दै निगमका प्रमुख यादव

दुई नदीको दोभानमा ठूलो ताल निर्माण,तीनदिनभित्र फुट्न सक्ने जोखिम

बाढीको वितण्डा : मृतकको संख्या २८९ पुग्यो

उद्धार- राहतलाई प्रभावकारी बनाउन ८ सहसचिवलाई फरक फरक जिम्मेवारी

बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

बिशेष