काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा जनधनको क्षति भइरहेका बेला काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका कर्मचारीले बाढीपीडितका लागि सहयोगको हात अघि बढाएका छन् ।
बिज्ञापन
बुढानीलकण्ठ नगरपालिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट संकलित १५ लाख ७२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।
बिज्ञापन
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको संयोजनमा बुधबार बसेको बैठकले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कर्मचारीबाट संकलित रकम उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
विपद्का बेला सरकारी निकायको भूमिका औपचारिक जिम्मेवारी पूरा गर्नेमै सीमित नराखी कर्मचारीको मानवीय सहभागितामार्फत पीडित नागरिकलाई सहयोग गर्न सकिने सन्देश बुढानीलकण्ठको निर्णयले दिएको छ ।
बिज्ञापन
नगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न आर्थिक प्रशासन महाशाखालाई प्रचलित कानुन तथा स्वीकृत प्रक्रियाबमोजिम तत्काल आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
बाढीबाट प्रभावित नागरिकलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने निर्णयसमेत नगरपालिकाले गरेको छ ।
त्यसैगरी, विपद् प्रभावित क्षेत्रमा आवश्यक परेको अवस्थामा बुढानीलकण्ठ नगर अस्पतालको र्यापिड रेस्पोन्स मेडिकल टिम (आरआरटी) लाई पूर्ण रूपमा परिचालन गर्ने निर्णय गरिएको छ । यसले नगरपालिकाले आर्थिक सहयोगसँगै स्वास्थ्य सेवा र जनशक्तिलाई समेत विपद् व्यवस्थापनमा उपयोग गर्ने तयारी गरेको देखाएको छ ।
भौगोलिक रूपमा बाढी प्रभावित क्षेत्रभन्दा टाढा रहेको स्थानीय तहले आफ्ना कर्मचारीबाट रकम संकलन गरी उद्धार कोषमा पठाउने निर्णय गर्नुले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका आफ्नो प्रशासनिक सीमाभन्दा बाहिरसम्म विस्तार हुन सक्ने देखाएको छ ।
विपद् जुनसुकै जिल्लामा आए पनि त्यसबाट प्रभावित नागरिक नेपाली नागरिक नै भएकाले राज्यका सबै तह र निकायले आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गर्नुपर्ने मान्यता बुढानीलकण्ठको निर्णयले अघि सारेको छ ।
विशेषगरी कर्मचारीबाट संकलित रकम उद्धार कोषमा जम्मा गर्ने र आवश्यक परे स्वास्थ्य टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णयले स्थानीय तहबीचको मानवीय सहकार्यको उदाहरण प्रस्तुत गरेको नगरपालिकाको भनाइ छ ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि ठूलो स्रोत आवश्यक भइरहेका बेला बुढानीलकण्ठको पहलले अन्य स्थानीय तहलाई समेत आफ्ना कर्मचारी, जनशक्ति तथा उपलब्ध स्रोत परिचालन गरी विपद् प्रभावितको सहयोगमा उभिन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले बाढी तथा विपद्बाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सम्बन्धित सबै पक्षलाई प्रभावकारी समन्वय र सहकार्यमा जुट्न आग्रह गरेको छ ।

























