मैले २०८२ भदौ ३१ गते सडक डिभिजन चरिकोटको प्रमुखको जिम्मेवारी सम्हालेको हुँ। जिम्मेवारी सम्हाल्दा यस डिभिजनअन्तर्गतका सडकहरूको अवस्था, विशेषगरी अरनिको राजमार्गको अवस्था, पहिरोका कारण हुने अवरोध, सडक सुरक्षा, पुल तथा सडक संरचनाको अवस्था र आगामी वर्षायाममा आउन सक्ने जोखिमका विषयमा प्रारम्भिक रूपमा अध्ययन तथा मूल्याङ्कन गरेका थियौँ। जिम्मेवारी सम्हालेपछि मेरो पहिलो प्राथमिकता सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने, वर्षायाममा हुने अवरोधलाई तत्काल हटाउने र दीर्घकालीन रूपमा पहिरो तथा सडक क्षतिको समस्या समाधान गर्ने रहेको थियो। यस अवधिमा हामीले तत्काल सडक सञ्चालनसँगै दीर्घकालीन पूर्वाधार निर्माणलाई पनि समानान्तर रूपमा अगाडि बढाएका छौँ। विशेषगरी अरनिको राजमार्गअन्तर्गतका संवेदनशील पहिरो क्षेत्रहरूको पहिचान गरी त्यहाँ आवश्यक अध्ययन, डिजाइन, बजेट व्यवस्थापन, ठेक्का प्रक्रिया र निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाएका छौँ। म जिम्मेवारीमा आएको केही समयमै कोदारी नाकाको सडक लामो समयदेखि अवरुद्ध थियो।
बिज्ञापन
२०८२ असोज २ गते सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, तातोपानी भन्सार कार्यालय, उद्योगी–व्यवसायी, स्थानीय प्रतिनिधि तथा अन्य सरोकारवालासँग छलफल गरेर सडक खुलाउने विषयमा सहमति कायम गरिएको थियो। तत्काल सडक खुलाउने मात्र नभई दीर्घकालीन व्यवस्थापनको कार्यतालिकासमेत बनाएर अगाडि बढेका थियौँ। त्यसको परिणामस्वरूप डाक्लाङ र कोदारीका पहिरोहरू चार दिनभित्रै हटाएर सडक सञ्चालन गर्न सफल भयौँ र तातोपानी नाका पुनः सञ्चालनमा आएको थियो।त्यसपछि २०८२ असोज १२ र १३ गते आएको ठूलो बाढी तथा वर्षाले फेरि विभिन्न स्थानमा क्षति पु¥यायो। यस्तो विपद्का बाबजुद हामीले सडक सञ्चालनलाई प्राथमिकतामा राखेर तत्काल आवश्यक उपकरण परिचालन गर्ने, पहिरो पन्छाउने र यातायात सञ्चालनमा ल्याउने कामलाई निरन्तरता दियौँ। अहिले हामीले पहिरो गएको २४ घण्टाभित्र आवश्यक उपकरण घटनास्थलमा पु¥याउने र सम्भव भएसम्म छोटो समयमा सडक सञ्चालन गर्ने प्रणाली विकास गरेका छौँ। यसले आपत्कालीन अवस्थामा सडक लामो समयसम्म बन्द हुन नदिने वातावरण बनाउन सहयोग गरेको छ।मेरो कार्यकालको अर्को महत्वपूर्ण उपलब्धि भनेको डाक्लाङ क्षेत्रको पहिरो व्यवस्थापन हो।
बिज्ञापन
अरनिको राजमार्गको बनदेउ–लिपिङ खण्डअन्तर्गत डाक्लाङ क्षेत्रमा चारवटा प्रमुख पहिरो रहेका छन्। तीमध्ये एउटा पहिरोमा काम भइरहेको छ भने थप दुईवटा पहिरोका लागि ठेक्का व्यवस्थापन भइसकेको छ। २०८२ पुस २१ गते उक्त क्षेत्रमा पहिरो नियन्त्रण तथा ढलान संरक्षणका लागि ३० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरिएको थियो। त्यसपछि परामर्शदाताबाट डिजाइन तयार गराई विभागमा पेश गरिएको थियो। करिब एक महिनाको प्रक्रियापछि २०८२ चैत ८ गते डिजाइन स्वीकृत भयो र चैत ११ गते लागत अनुमान स्वीकृत गरी ठेक्का आह्वान गरिएको थियो। त्यसको परिणामस्वरूप २०८३ असार ११ गते डाक्लाङ–२ र डाक्लाङ–३ का लागि निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको छ। डाक्लाङ–२ का लागि करिब एक करोड ८३ लाख रुपैयाँ र डाक्लाङ–३ का लागि करिब १८ करोड ७५ लाख रुपैयाँको ठेक्का सम्झौता भएको छ। यी काम सम्पन्न भएपछि डाक्लाङ क्षेत्रको सडक सुरक्षामा उल्लेख्य सुधार आउने हाम्रो अपेक्षा छ। त्यसैगरी, कोदारी पहिरोको विषय पनि हाम्रो लागि अत्यन्तै महत्वपूर्ण र चुनौतीपूर्ण विषय रहँदै आएको छ। कोदारी पहिरो अरनिको राजमार्गको ११३ किलोमिटर खण्डमा रहेको अत्यन्त संवेदनशील पहिरो क्षेत्र हो। पहिरोमाथि करिब २५० घरधुरी जोखिममा रहेका कारण सडकको भित्तातर्फ काटेर सडक विस्तार वा पहिरो नियन्त्रण गर्ने काम सहज छैन। स्थानीय बस्तीलाई जोखिममा पारेर सडकको भित्तो काट्न सक्ने अवस्था हुँदैन। त्यसैले अन्य स्थानबाट ढुंगा तथा गिट्टी ल्याएर सडकमा भरान गरी यातायात सञ्चालन गर्ने वैकल्पिक उपाय अपनाउँदै आएका छौँ। कोदारी पहिरोका लागि २०८२ मंसिर २३ गते करिब ४८ करोड ४९ लाख रुपैयाँको स्रोत सुनिश्चित भएको थियो। मंसिर २५ गते ठेक्का आह्वान भयो र २०८२ फागुन ५ गते निर्माण व्यवसायीसँग ठेक्का सम्झौता पनि भयो। तर त्यसै क्रममा चीन सरकारको तर्फबाट उक्त पहिरो नियन्त्रणका लागि परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिहरू आएर छलफल गर्नुभयो। त्यसपछि चीन सरकारको सहयोगमा ‘अरनिको राजमार्ग आपत्कालीन आयोजना’ सञ्चालन गर्ने विषय अघि बढ्यो। विभागबाट पनि चीन सरकारलाई उक्त काम कार्यान्वयन गर्न सहमति भएको जानकारी गराइएको थियो। त्यसैअनुसार पहिले भएको ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढ्यो। निर्माण व्यवसायी २०८३ वैशाखमा साइटबाट फर्किएको अवस्था छ।
तर चीन सरकारबाट अपेक्षित रूपमा काम सुरु हुन नसकेका कारण कोदारी क्षेत्रमा अहिले चुनौती थपिएको हो। यस क्षेत्रमा अत्यधिक वर्षा हुने भएकाले वर्षाका कारण सडकको भित्ता पटक–पटक भासिने गरेको छ। २०८३ साउन २ गतेदेखि जोखिम अझ बढेको र सामान्य रूपमा ढुंगा तथा गिट्टी भरान गरेर सडक सञ्चालन गर्न पनि कठिन भएको अवस्था छ।यसका बाबजुद हामीले सडक सञ्चालनका लागि निरन्तर प्रयास गरिरहेका थियौ । र भाद्र ८ गते अविरल वर्षा र पहिरोका कारण करिव एक महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । कोठे पहिरो विगत करिब ४० वर्षदेखि समस्याग्रस्त क्षेत्र हो। त्यहाँ एकतर्फी रूपमा सञ्चालन हुँदै आएको सडकलाई दुई लेनमा सञ्चालनयोग्य बनाएका छौँ। सडक सुरक्षालाई विशेष प्राथमिकता दिएका छौँ। सवारी साधन तथा यात्रुको सुरक्षालाई ध्यानमा राखेर पहिरो क्षेत्रमा आवश्यक व्यवस्थापन गरिएको छ। त्यसैगरी सिङ्गटी–लामाबगर सडकखण्डमा पनि ठेक्का व्यवस्थापन गरिएको छ। चारवटा पुलका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। सडक मात्र निर्माण गरेर पुग्दैन, पुल, नाली, पहिरो नियन्त्रण, ढलान संरक्षण र अन्य सहायक संरचनालाई पनि एकीकृत रूपमा अघि बढाउनुपर्छ भन्ने मान्यताका आधारमा हामीले काम गरिरहेका छौँ।
बिज्ञापन
समग्र रूपमा हेर्दा हाम्रो डिभिजनको कुल बजेट करिब दुई अर्ब ४० करोड रुपैयाँ रहेकोमा हालसम्म करिब एक अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ। यो करिब ७३ प्रतिशत वित्तीय प्रगति हो। भौतिक प्रगतितर्फ पनि हामीले उल्लेख्य काम गरेका छौँ। यस अवधिमा करिब १३ किलोमिटर सडक कालोपत्रे गरिएको छ। करिब २५ हजार वर्गमिटर सडकको मर्मत तथा पुनःस्थापना गरिएको छ। एउटा महत्वपूर्ण पुलको निर्माण कार्यसमेत सम्पन्न भएको छ। त्यसैगरी बाह्रबिसे सडकखण्डको मर्मत कार्य दुई वर्षको अवधिमा सम्पन्न गर्ने गरी ठेक्का भएको भए पनि हामीले व्यवस्थापन र कार्यान्वयनमा विशेष ध्यान दिएर एक वर्षमै सम्पन्न गर्न सफल भएका छौँ। यसले समयमै काम सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

























