काठमाडौं । सरकारी कार्यालयमा हुने घुसखोरीको जालो पुरुष कर्मचारीमा मात्रै सीमित नरहेको अर्को घटनाले देखाएको छ। सार्वजनिक सेवामा महिलाको नेतृत्वलाई सकारात्मक रूपमा हेरिने गरिए पनि भ्रष्टाचारका घटनामा महिला कर्मचारीसमेत मुछिन थालेका छन्। यही क्रममा भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीकी डिभिजन प्रमुख अनुपमा ढकाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट साढे ७ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेकी छन्।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार साउन ८ गते बर्दिबासस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले डिभिजन प्रमुख ढकालसँगै सोही कार्यालयका मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
बिज्ञापन
अनुसन्धानबाट बोरिङ तथा मोटर जडानको काम सम्पन्न भइसकेपछि त्यसको भुक्तानी निकासा गरिदिने क्रममा सेवाग्राहीसँग रकम माग गरिएको खुलेको छ। भुक्तानी प्रक्रिया अनावश्यक रूपमा रोक्दै दुःख–हैरानी दिएर घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारले निगरानी बढाएको थियो।
त्यसक्रममा बागमती नगरपालिका–१२ स्थित डिभिजन प्रमुख ढकालको सरकारी क्वार्टरबाट सेवाग्राहीसँग लिइएको ७ लाख ५० हजार रुपैयाँसहित दुवै जनालाई रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ।
बिज्ञापन
खानतलासीका क्रममा घुसबापतको रकमबाहेक स्रोत खुल्न नसकेको थप ७१ हजार ११५ रुपैयाँ नगद र तीन थान मोबाइल फोनसमेत बरामद भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्। बरामद गरिएका नगद तथा मोबाइल फोनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।
प्रारम्भिक अनुसन्धानले सरकारी भुक्तानी प्रक्रियालाई प्रभावमा पारेर सेवाग्राहीसँग आर्थिक लाभ लिन खोजिएको देखिएको अख्तियारको भनाइ छ। पक्राउ परेका डिभिजन प्रमुख ढकाल र अधिकृत चौधरीमाथि भ्रष्टाचार निवारण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
सार्वजनिक प्रशासनमा सुशासन, पारदर्शिता र सेवामुखी प्रशासनको अपेक्षा भइरहेका बेला उच्च तहका कर्मचारी नै घुस प्रकरणमा पक्राउ पर्नुले सरकारी संयन्त्रमाथिको जनविश्वासमा थप प्रश्न उठाएको छ। पछिल्लो समय अख्तियारले विभिन्न सरकारी कार्यालयका प्रमुखदेखि अधिकृतसम्मलाई घुससहित नियन्त्रणमा लिने क्रम बढ्दै गएको छ, जसले सार्वजनिक सेवा प्रवाहमा व्याप्त भ्रष्टाचार अझै गहिरो रहेको संकेत गरेको छ।

























