अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट लेखनको तयारीमा छ । बजेटले सरकारी कर्मचारीको तलब बढाउला कि नबढाउला भन्ने प्रश्न उठिरहेको छ । सरकारले पछिल्लो तीन बर्षदेखि कर्मचारीहरुको तलब बढाएको छैन । यस पटक बजेटमार्फत तलब बढ्नेमा सरकारी कर्मचारी ढुक्कजस्तै देखिन्छन् । तर, बजेट तयारीमा जुटेका अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले मुख खोल्न चाहेको छैनन् । सामान्यतः २ वर्षमा सरकारी कर्मचारीको तलब बढ्ने गरेको छ । राष्ट्रसेवक कर्मचारीहरुको तलब नबढेको तीन बर्ष भइसकेको छ । सरकारले अघिल्लो बर्ष कर्मचारीलाई मासिक तीन हजारले हजार महंगी भत्तामात्र बढाएको थियो । यस अघि आर्थिक बर्षआर्थिक बर्ष ०७९/८० कर्मचारीको तलब १५ प्रतिशत वृद्धि भएकोमा त्यस पछिका आर्थिक बर्ष ८०/ ८१, ८१/ ८२ र ८२/ ८३ मा राष्ट्रसेवक कर्मचारीहरुको तलब बढ्न सकेको छैन ।
बिज्ञापन
अर्थ मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार यस पटक बजेट निर्माण प्रक्रियामा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप भइरहेको छ । योजना आयोगले बजेट सिलिङ १९ खर्ब हाराहारीको राखेको भए पनि अनेकन योजनाका कारण बजेटको आकार २१ खर्ब हाराहारी पुग्ने आँकलन गर्न थालिएको छ । बजेटको आकार समेत बढ्ने भएका कारण कर्मचारीहरुको तलब पनि बढ्ने आकँलन गरिएको छ । यसैबीच निजामती कर्मचारीहरुको तलब पुनरावलोकन समितिले तलब पुनरावलोकनसहितका प्रस्ताव सरकारलाई बुझाइसकेको छ । मुख्य सचिव सुमनराज अर्यालको नेतृत्वमा रहेको समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल सदस्य रहेको समितिले तलब पुनरावलोकनको प्रस्ताव सरकारलाई बुझाइसकेको हो । समितिको बैठकले तलब बृद्धिको प्रस्ताव तयार पारेर सरकारलाई बुझाइएको समितिका सदस्य बताउँछन् ।
कर्मचारीको तलब हरेक दुई–दुई वर्षमा पुनरावलोकन गर्ने कानुनी प्रावधान छ । निजामती सेवा ऐन २०४९ को दफा २७ अनुसार मुख्यसचिवको अध्यक्षतामा अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने तलब–भत्ता पुनरावलोकन समिति रहन्छ । यसले प्रत्येक दुई–दुई वर्षमा तलब पुनरावलोकन गरी सरकारलाई सिफारिस गर्छ । समितिले समितिले तलब पुनरावलोकनसहितको प्रस्ताव सरकारलाई बुझाइसकेको छ । समितिले आफ्नो काम सम्पन्न गरेर प्रतिवेदन बुझाइसकेको छ ।
अब कर्मचारीको तलब बढाउने वा नबढाउने अन्तिम निर्णय सरकारले बजेटमार्फत गर्नेछ ।
नयाँ संविधान जारी भए आर्थिक बर्ष ७३/ ७४ मा कर्मचारीहरुको तलब २५ प्रतिशत बृद्धि गरिएको थियो भने त्यस पछिको तीन आर्थिक बर्ष पछि माथिल्ला तहका कर्मचारीको तलब १८ प्रतिशत र तल्ला तहका कर्मचारीको तलब २० प्रतिशतले बृद्धि गरिएको थियो । यस्तै आर्थिक बर्ष ०७९/८० कर्मचारीको तलब १५ प्रतिशत वृद्धि भएकोमा गत बर्ष कर्मचारीको मंहगी भत्ता तीन हजारले बढाएर पाँच हजार पुर्याइएको थियो । कर्मचारीको तलब नबढेको तीन बर्ष भइसकेका कारण यस आर्थिक बर्षमा तलब बृद्धि हुनेमा राष्ट्रसेवकहरु आशावादी देखिएका छन् ।



































