सरकारी निकायहरुलाई छलेर हुने चोरी वा तस्करीको सूचनाको सुराक दिनेलाई अब सरकारले १० हजार नगदै दिने भएको छ । सरकारले भन्सार नियमावली, २०८३ कार्यान्वयनमा ल्याउँदै तस्करी र राजश्व छलीको सुराकीलाई प्रोत्साहित गर्न १० हजार रुपैयाँसम्म सुराकी खर्च उपलब्ध गराउने व्यवस्था गरिएको हो । हालैमात्र अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ०६४ सालको भन्सार नियमावलीलाई खारेज गर्दै ल्याएको नयाँ नियमावलीका यस्तो व्यवस्था राखिएको हो ।
बिज्ञापन
भन्सार चोरी निकासी वा पैठारीको सूचना दिने सुराकीलाई प्रोत्साहन गर्न भन्सार नियमावली नियमावली (२०८३) को नियम ११३ को उपनियम (६) ले सुन, चाँदी वा जवाहरित सम्बन्धी मुद्दामा सुराकी दिनेलाई १५ देखि ३० प्र्रतिशतसम्म पुरस्कारको व्यवस्था राखिएको हो ।
नयाँ व्यवस्था अनुसार,बरामद वस्तुको मूल्याङ्कन (बिगो) को १५ प्रतिशतदेखि ३० प्रतिशतसम्म पुरस्कार दिइनेछ। जहाँ चोरीको सामान मात्र पक्राउ गराउने सुराकीलाई १५ प्रतिशत, सामानसहित मान्छे पक्राउ गराउनेलाई २० प्रतिशत र सुराकीसहित आफैँले तस्करीको सामान पक्राउ गरी बुझाउनेलाई ३० प्रतिशतसम्म पुरस्कार दिने प्रावधान राखिएको हो । जफत भएको लिलाम रकमको १० प्रतिशत र नियन्त्रणमा लिनेलाई १० प्रतिशत मात्र पुरस्कार दिइने भनी बहुमूल्य धातुको हकमा पुरस्कारको दरलाई घटाएर निश्चित गरिदिएको छ । अन्य सामान्य वस्तुको हकमा भने पुरानै दर १५ देखि ३० प्रतिशत राखिएको छ । यसअघि यस्तो १० प्रतिशत मात्र पुरस्कार दिने व्यवस्था थियो ।
नयाँ नियमावलीले तत्कालीन अवस्थामै सुराकीलाई प्रोत्साहित गर्न १० हजार रुपैयाँसम्म सुराकी खर्च उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । सूचना प्राप्त भएपछि सत्यता देखिएमा विभागले बनाएको कार्यविधिअनुसार महानिर्देशकले उक्त रकम तुरुन्त उपलब्ध गराउन सक्नेछ ।
बिज्ञापन

अनुसन्धान निकाय वा अदालतले माग गरेबाहेक कुनै पनि व्यक्ति वा संस्थालाई सुराकीको पहिचान खुलाउन नपाइने प्रावधान राखिएको छ । साथै, सुराकी दिएको आधारमा मात्र कुनै व्यक्तिलाई अनुसन्धान वा अदालतमा उपस्थित हुन बाध्य पार्न नपाइने व्यवस्था पनि गरिएको छ ।
यस्तै सामान भन्सार नाकामा आइपुगेपछि मात्र त्यसको वर्गीकरण (एचएस कोड) वा उत्पत्तिका विषयमा भन्सार अधिकृत र व्यवसायीबिच हुने पुरानो विवादलाई पनि नयाँ नियमावलीले सुल्झाएको छ । यस अघि भन्सारमा आएका अधिकांश मालवस्तुलाई कर्मचारीले खोलेर हेर्ने शतप्रतिशत भौतिक परीक्षणको पुरानो शैलीलाई विस्थापित गर्दै भन्सार प्रशासनलाई आधुनिक छनोट प्रणालीमा लगिएको छ । अब कम्प्युटर प्रणालीले नै जोखिम विश्लेषण गरी मालवस्तुलाई रातो, पहेँलो, निलो वा हरियो मार्गमा पठाउनेछ, जसमा हरियो मार्गका सामान विना कुनै भौतिक परीक्षण सिधै पास हुनेछन् ।



































