नेपाल चलचित्र कलाकार संघको साधारणसभा तथा निर्वाचन भोलि जेठ ३ गते हुने भएको छ। यसै सन्दर्भमा अध्यक्ष पदका उम्मेदवार उत्तम के.सी. नेतृत्वको समूहले आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। समूहले कलाकारहरूको हक, हित, सुरक्षा तथा चलचित्र क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै विभिन्न महत्वपूर्ण प्रतिबद्धताहरू सार्वजनिक गरेको हो।
उक्त समूहका प्रमुख प्रतिबद्धताहरू यसप्रकार छन्:
बिज्ञापन
१. हरेक कलाकारका लागि न्यूनतम पारिश्रमिक, लिखित करार, श्रम अधिकार, स्वास्थ्य बीमा, दुर्घटना सहायता, राहत कोष तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गरिनेछ।
२. ज्येष्ठ, संघर्षशील, महिला, दलित, आदिवासी, जनजाति, मधेसी लगायत सबै कलाकारहरूको सम्मान, संरक्षण, सामाजिक सुरक्षा र समान अवसरको ग्यारेन्टी गरिनेछ।
३. नयाँ पुस्ताका कलाकारहरूका लागि तालिम, अडिसन, छात्रवृत्ति, मार्गदर्शन र पेशागत अवसर विस्तार गरिनेछ।
बिज्ञापन
४. सदस्यता प्रणाली, परिचयपत्र, अभिलेख, आर्थिक कारोबार तथा संघका सम्पूर्ण निर्णय प्रक्रियालाई डिजिटल, पारदर्शी र व्यवस्थित बनाइनेछ।
५. संघको सम्पत्ति संरक्षण, नियमित अडिट, निष्पक्ष सुनुवाइ, हेल्पडेस्क तथा सदस्य सेवामा गुणात्मक सुधार गरिनेछ।
६. संघलाई सिण्डिकेट, स्वार्थ समूह र पक्षपातबाट मुक्त राख्दै सम्पूर्ण कलाकारहरूको साझा, स्वतन्त्र र विश्वसनीय संस्थाको रूपमा विकास गरिनेछ।
७. निर्माता, निर्देशक, प्राविधिक, पत्रकार, वितरक, प्रदर्शक लगायत चलचित्र क्षेत्रका सबै पक्षसँग समन्वय र सहकार्य गर्दै उद्योगलाई थप सुदृढ बनाइनेछ।
८. कानुनी सुधार, सरकारी नीति निर्माण, अन्तर्राष्ट्रिय सहकार्य, प्रशिक्षण, अनुसन्धान तथा सांस्कृतिक संरक्षणमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरिनेछ।
९. संघलाई दीर्घकालीन, परिणाममुखी, संस्थागत रूपमा सक्षम र भावी पुस्ताका कलाकारहरूको भरोसाको केन्द्रका रूपमा स्थापित गरिनेछ।
१०. चलचित्रकर्मीको निधनपश्चात प्रदान गरिने राहत सहयोग रकम वृद्धि गर्न पहल गरिनेछ तथा पशुपति आर्यघाटमा सम्मानपूर्वक अन्तिम संस्कारका लागि उपयुक्त स्थान सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ।
यो समूहको विस्तृत प्रतिबद्धता–पत्र औपचारिक कार्यक्रम मार्फत सार्वजनिक भएको हो ।



































