महालेखा परीक्षकको कार्यालय ले आज बिहान ११ः३० बजे राष्ट्रपति कार्यालय मा आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष आफ्नो ६३औँ वार्षिक प्रतिवेदन पेश गर्ने भएको छ।
बिज्ञापन
संवैधानिक निकायका रूपमा सरकारी निकाय, मन्त्रालय, सार्वजनिक संस्थान तथा विभिन्न कार्यालयहरूको आर्थिक अनुशासन, खर्च प्रक्रिया र सार्वजनिक वित्तीय व्यवस्थापनको परीक्षण गर्दै आएको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमार्फत चालु आर्थिक वर्षसम्मका विभिन्न सरकारी निकायहरूको लेखापरीक्षण निष्कर्ष सार्वजनिक गर्ने तयारी गरेको हो।
प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेपछि अपराह्न ३ बजे महालेखा परीक्षकको कार्यालयले पत्रकार सम्मेलन आयोजना गरी मन्त्रालयगत बेरुजु, अनियमितता, असुलउपर गर्नुपर्ने रकम, पेश्की, म्याद नाघेका हिसाब तथा वित्तीय अनुशासनसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।
पत्रकार सम्मेलनमा कुन मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखियो, कुन निकायमा वित्तीय अनुशासन कमजोर रह्यो, सार्वजनिक खरिद, आयोजना कार्यान्वयन तथा राजस्व व्यवस्थापनमा कहाँ कमजोरी भेटियो भन्ने विषय खुलाइने अपेक्षा गरिएको छ।
बिज्ञापन
हरेक वर्ष सार्वजनिक हुने महालेखा परीक्षकको प्रतिवेदनलाई सरकारी निकायहरूको आर्थिक पारदर्शिता, सुशासन र जवाफदेहिताको महत्वपूर्ण सूचकका रूपमा हेरिन्छ। यस वर्षको प्रतिवेदनमा संघीय मन्त्रालयहरू, प्रदेश तथा स्थानीय तह, सार्वजनिक संस्थान र विभिन्न संवैधानिक निकायहरूको खर्च प्रणालीमाथि गरिएको परीक्षणको निष्कर्ष समेटिएको बताइएको छ।



































