राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति सिफारिस समितिको संयोजकबाट राजीनामा दिएका छन् । भट्टका नातेदारहरूको पनि बोर्ड अध्यक्षका लागि आवेदन परेपछि स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै राजीनामा दिएका हुन् ।
यस अघिका अध्यक्ष रहेका सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएसँगै रिक्त रहेको अध्यक्ष पदपूर्तिका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवनकुमार दाहाल सदस्य नियुक्त गरेको छ ।
बिज्ञापन
बोर्डमा अध्यक्षका लागि ४७ जनाले आवेदन गरेको र त्यसमध्ये एकजना उनका नजिकका दाजु रहेकाले ‘स्वार्थको द्वन्द्व’बाट बच्न राजीनामा दिएको बताइन्छ । सो पदका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा गोपाल भट्टले पनि धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन दिएसँगै अध्यक्ष भट्टले नैकिकता आधारमा राजीनामा दिएका हुन । आवेदकमध्ये गोपाल भट्ट नजिकका दाजु हुन् । भट्ट दाजुभाइ दुबैजना नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कार्यकारी निर्देशक हुन् ।
चार वर्षदेखि नेपाल एसबिआई बैंकमा सञ्चालक रहेका गोपाल केही महिना अघि बाहिरिएका थिए । त्यसअघि सानिमा क्यापिटलको सञ्चालक थिए । गुणाकरको राजीनामापछि अब नयाँ संयोजक नियुक्त गर्नुपर्ने भएको छ ।


































