सरकारले अध्यादेशबाट एकै पटक १५९४ जनालाई पदमुक्त गर्दैछ । सरकारले ःल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले नासु तहका कर्मचारी आर्दश श्रेष्ठदेखि पूर्व मुख्यसचिव लीलादेवी गड्तौलासहितका १५९४ जना पदाधिकारीहरु पदमुक्त हुँदैछन् ।
बिज्ञापन
शक्ति र सत्तासँग नजिक रहेका पूर्व प्रशासकहरु अवकाशमा गएको साता दिन वा महिना दिन नबित्दै विभिन्न निकायहरुमा राजनीतिक नियुक्ति पाएका थिए । उनीहरुलाई एकमुष्ठ रुपमा हटाइन लागेको हो । यसरी एकैपटक राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ जना पदाधिकारीहरू एकैपटक पदमुक्त हुँदा नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेल भने जोगिएका छन् ।
सरकारले नेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित ७ पदाधिकारी, रासस ऐन, २०१९ अन्तर्गतका २ जना सञ्चालक र गोरखापत्र संस्थान ऐन, २०१९ बमोजिमका अध्यक्ष तथा सञ्चालक गरी ३ जनाको पद रिक्त हुने भएको छ । यस्तै,चलचित्र जाँच समितिका अध्यक्ष र सदस्य गरी ३ जना, प्रेस काउन्सिलका अध्यक्ष र सदस्य गरी १० जना तथा श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ अन्तर्गत नियुक्त अध्यक्ष र सदस्य गरी ६ जना पदमुक्त हुने भएका छन् । दूरसञ्चार ऐन, २०५३ बमोजिम नियुक्त प्राधिकरणका अध्यक्ष र सदस्य गरी ५ जना तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ बमोजिमका ४ जना सदस्य पदमुक्त हुने भएका छन् । यस्का अलवा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम सूचना प्रविधि न्यायाधीकरण र पुनरावेदन न्यायाधीकरणका ६ पदाधिकारी तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ अन्तर्गतका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त गरी ३ जनाको पद रिक्त हुनेछ ।
यस्तै, विज्ञापन ऐन, २०७६ बमोजिम नियुक्त अध्यक्ष र सदस्य गरी ६ जना, सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ अन्तर्गत नियुक्त ३ जना र सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ बमोजिमका अध्यक्ष र सदस्य गरी १५ जना पदाधिकारी पदमुक्त हुने भएका छन् । यसरी विभिन्न निकायमा पदाधिकारीहरु पदमुक्त हुँदा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलसहित राष्ट्र बैंकका सञ्चालकहरू पनि पदमुक्त हुन बाट जोगिएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्ले र गभर्नर विश्व पौडेल दुबैको घर चितवन पनि हो । ०७३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष बनेपछि उनीहरुबीचको सहयात्रा शुरु भएको थियो । स्वर्णिमले विश्व पौडेल चाहिँ योजना आयोगमा वरिष्ठ अर्थशास्त्रीका रुपमा भित्र्याए । स्वर्णिककै फेरो समातेर विश्व पौडेल तत्कालीन प्रधानमन्त्री एवं कांग्रेसका सभापति देउवाको टिममा जोडिए । देउवाले पनि २०७४ को चुनावमा कांग्रेसको घोषणापत्रमा आर्थिक सुधारका योजनाहरु तयार गर्न स्वर्णिम र विश्वले भूमिका खेलेका थिए ।
बिज्ञापन
तर ०७८ मा देउवा प्रधानमन्त्री भएपछि स्वर्णिमलाई पाखा लगाउँदै विश्वलाई योजना आयोगमा लगिएको थियो । यस पछि यी दुई बीच दुरी बढ्दै गयो । त्यसलाई उत्कर्षमा पुर्याए, २०७९ को चुनावले । विश्व उपाध्यक्षबाट राजीनामा दिएर उनी चितवन १ मा चुनाव लड्न पुगेका थिए । स्वर्णिमको सांसद बन्ने चाहना पुरा भएन । तनहुँबाट पनि टिकट नपाएपछि काँग्रेस छाडेर स्वर्णिम राष्ट्रिय स्वतन्त्र पार्टीतिर लागे । चुनाव जिते । यता अघिल्लो कार्याकालमा ओली सरकारमा प्रकाशशरण महत अर्थमन्त्री हुँदा विश्व पौडेल अर्थ मन्त्रालयको सल्लाहकार भए । त्यही क्रममा गत जेठमा कांग्रेसको रोजाइमा विश्व पौडेल राष्ट्र बैंकको गभर्नर समेत नियुक्त भए । जेनजी विद्रोह पछिको चुनावमा स्वर्णीम अर्थमन्त्री भएर आएका भए पनि सरकारले एकै पटकमा १५९४ पदाधिकारीहरु हटाउँदा गभर्नरको कुर्सी पनि रोकिएको छ ।
यस्तै बैंकिङ क्षेत्रमा सञ्चालकमा नियुक्ति पाएकाहरू पनि जोगिएका छन् । यससँगै राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकमा नियुक्त भएका सञ्चालकहरू जोगिएका हुन् ।


































