सरकारले विवादास्पद र शंकास्पद भूमिका, गतिविधि देखिएको जनाउँदै केही सहसचिवलाई सिंहदरबारबाट उपत्यका बाहिर सरुवा गरेको छ ।
बिज्ञापन
हिजोको क्याबिनेट बैठकले सरुवा गरेकामध्ये ‘म’ बाट नाम शुरु भएका सहसचिव महेश दाहाल,महेश भट्टराई,महेश बराल पनि छन् । त्यस्तै नारायण मैनालीलाई पनि सरुवा गरिएको छ । हाल हिरासतमा रहेका बिचौलिया दीपक भट्ट र उनका अंशियार तथा व्यापारिक साझेदार शंकर ग्रुपका शुलभ अग्रवालका बाबुछोरालाई अनियमित कारोबारमा वर्षौंदेखि प्रशासनिक सहयोग गर्दै आएको आरोप लागेका केही कर्मचारीको सरुवा गरिएको बुझिएको छ । भट्ट र अग्रवालको व्यवसाय विस्तारमा पूर्व सचिव,केही बहालरत सचिव,सहसचिव र केही उपसचिवको अस्वाभाविक सम्बन्ध भएकाले उनीहरुमाथि समेत अनुसन्धान गर्नैपर्ने दबाब बढेको छ ।
सहसचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहाल,भन्सार विभागका पूर्व महानिर्देशक महेश भट्टराई र धितोपत्र बोर्डका पूर्व अध्यक्ष महेश बरालललगायत उपर कर्मचारी साथीहरुले नै झोसपोल गरेको बताइन्छ । दाहाल २०८१ मंसिरमा शरद ओझालाई कार्यकारी अध्यक्षमा नियुक्त गरिनुअघि बीमा प्राधिकरणको अध्यक्ष थिए ।
बराल अर्थ मन्त्रालयबाट धितोपत्र बोर्ड सञ्चालक समितिमा प्रतिनिधि र पछि बोर्ड अध्यक्षसम्म भएका थिए । उनी बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेकै बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासकसमेत थिए । २०८१ फागुन १ देखि गत भदौ १ सम्म धितोपत्र बोर्डमा अध्यक्ष रहे।
बिज्ञापन
तत्कालीन राजश्व सचिव दिनेश घिमिरे पनि भट्टको सहयोगी रहेको र उनलाई सहसचिव हुँदा बैठकका सूचना तुरुन्त दिपक भट्टकोमा पुर्याउन क्याबिनेटको प्रस्ताव स्कृनिङ्ग गर्ने जिम्मेवारीमा खटाइएको आरोप छ ।
हिजोको क्याबिनेट बैठकको निर्णयानुसार सरुवा हुनेमध्ये अधिकांशलाई प्रदेशमा पठाइएको छ । यता सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर दिपक भट्टहरुको बीमा ठगीसम्बन्धी अनुसन्धान सकाएर फाइल सरकारी वकिल कार्यालयलाई बुझाइवरी अर्थ मन्त्रालय फर्किएका छन् ।






























