नेपाल सरकारले शुरु गरेको स्वास्थ्य वीमा कार्यक्रम संकटमा परेको छ ।
बिज्ञापन
वीमा वोर्डले अर्बाैको भुक्तानी अड्काएका कारण स्वास्थ्य वीमा नै संकटमा परेको हो । मासिक करोडौं घाटा खाएर स्वास्थ्य वीमा गर्न नसक्ने भन्दै आगमी माघे संक्रान्तिको दिनदेखि त्रिवि शिक्षण अस्पतालले सो सेवा बन्द गर्न लागेको हो ।
टिचिङ अस्पतालले २०७७ सालदेखि नै स्वास्थ्य बीमामार्फत उपचार सेवा प्रदान गर्दै आएकोमा पाँच बर्ष पछि उक्त सेवा बन्द गर्न लागेको हो । मासिक २ करोड रुपैयाँ घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसक्ने भन्दै अस्पतालले आउँदो १ माघदेखि स्वास्थ्य बीमाअन्तर्गतका सबै उपचार सेवा बन्द गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।
स्वास्थ्य वीमा बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न लागेका हुन । त्रिवि शिक्षण अस्पताललाई मात्र स्वास्थ्य वीमा वोर्डले ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । अस्पतालले १६ पुसमा स्वास्थ्य बीमा बोर्डलाई पत्र पठाउँदै बाँकी ३८ करोड ९५ लाख ९७ हजार रुपैयाँ तत्काल भुक्तानी गर्न र अस्पतालको दररेटअनुसार सम्झौता गर्न माग गरेको थियो तर सुनुवाई नभए पछि उसले उक्त कार्यक्रम बन्द गर्न लागेको हो ।
बिज्ञापन
मासिक ४ देखि ५ करोडको बीमा क्लेम हुने तर डेढदेखि २ करोड दाबी अस्वीकृत हुने गरेको र विगत २ वर्षदेखि अस्पतालको दररेटलाई मान्न आग्रह गर्दा पनि सुनुवाइ नभएको अस्पतालले जनाएको छ ।
बीमा बोर्डको कमजोर व्यवस्थापन, समयमै भुक्तानी नहुनु र दीर्घकालीन समस्या समाधानमा नेतृत्व असफल भएपछि मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको हो । शिक्षण अस्पताल जस्तो केन्द्रीय र रेफरल अस्पताल नै बीमा कार्यक्रमबाट बाहिरिनु स्वास्थ्य बीमा बोर्ड नेतृत्वमाथि गम्भीर प्रश्न उठाउने घटनाका रूपमा हेरिएको छ।
हाल स्वास्थ्य वीमा बोर्डको अध्यक्षमा चन्द्र थापा र कार्यकारी निर्देशक रघुराज काफ्ले छन्।


























