‘सुशीला कार्की नेतृत्वको सरकार जेन–जी आन्दोलनको अपहरणकर्ता हो’

वीरेन्द्रनगर, सुर्खेतबाट एमबिबिएस पढ्न काठमाडौं आएका रविकिरण डाक्टर बन्न नसक्दा राजनीतिशास्त्रको विद्यार्थी बने । रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारितासँगै राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण आउँदा गोविन्द केसीको अवज्ञा उत्कर्षमा थियो । ०७२ साल असोज ३ गते संविधान जारी भएकोमा धेरैले उत्सव मनाइरहेका थिए तर डा. बाबुराम भट्टराईले ‘आधा भरी, आधा खाली’ भन्दै नैराश्यता पोखेपछि उनैको व्यक्तित्व र चिन्तनबाट प्रभावित भएर हमाल केही समय नयाँ शक्तितिर लागे । ०७४ सालको निर्वाचनमा रसुवाबाट प्रेम तामाङ र बाबुराम भट्टराईले मात्र जित हासिल गरे । बीचमा बाबुरामले बाटो मोडेर उपेन्द्र यादवसँग पार्टी एकीकरण गरेपछि रविकिरण आफैं संयोजक भएर केही समय नयाँ शक्ति पार्टी चलाए तर ‘पार’ लागेन । ०७९ सालमा पुनर्जागरण पार्टी दर्ता गराए, जसको महामन्त्री हुन् उनी । यही बीच सर्वेन्द्र खनाल, अब्दुस मियाँहरूसँगै एमालेतिर लागे तर उमेरका कारण त्यहाँ पनि छेकिए । प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा उचित लागेर केही समय राजेन्द्र लिङ्गदेनको पार्टीतिर पनि लागे । औपचारिक रूपमा जेठ २२ गते जेनजी मुभमेन्ट नेपाल आफूहरूले घोषणा गरेको भन्छन् । बीचमा राप्रपा पृष्ठभूमिका कारण आफूमाथि आक्रमण र साइबर बुलिङ भएको पीडा पोख्छन् उनी । अहिले जेनजी मुभमेन्ट दुई कित्तामा विभक्त छ, एकथरी छन् सरकारवादी, अर्काे सरकारविरोधी । रविकिरण पछिल्लो कित्तामा पर्दछन् ।

बिज्ञापन

० जेनजीले बगाएको रगतको लाभ सुशीलाले लिएको भन्दै गुनासो पोख्नुहुन्छ रे, हो ?

बिज्ञापन

– केही समय बाबुराम भट्टराईको नयाँ शक्तितिर लागें, केही समय एमालेनिकट भएर काम गरें र पछिल्लो समय राजेन्द्र लिङ्गदेनको पार्टीमा जोडिएको थिएँ । त्यही कारण राजा र राजतन्त्रसँग जोडेर मलाई ह्यारेस गरियो । बालेन साह मोबाइल अफ गरेर बस्नुभयो । त्यसपछि ममाथि निर्मम प्रहार भयो । साइबर आक्रमण भयो । इतिहासले मेरो कठिन परीक्षा लियो ।

० किन त त्यस्तो आक्रमण ?

बिज्ञापन

– स्पष्ट राजनीतिक रिजर्भ गर्ने आइडिया दिएको थिएँ । त्यो कसैलाई मन परेन । पुराना तर सत्ता गुमाएकालाई मन पर्ने कुरै भएन । मुख्यसचिव, सुरक्षा निकाय प्रमुख, प्रधानन्यायाधीश र जेनजीको तर्फबाट हामी बसेर अन्तरिम सरकार बनाउने, सानो संविधान जारी गरेर वर्तमान संविधान बदल्नुपर्ने प्रस्ताव थियो । त्यही बेला राप्रपातिर लागेको कारण यसलाई बोके राजतन्त्र फर्कन्छ भन्ने हल्ला फैलाइयो ।

० तपाईं सुशीला कार्की नेतृत्वको सरकारलाई जेनजीको प्रतिनिधिमूलक मान्न तयार हुनुहुन्न । पुरानै सत्ताको निरन्तरता हो भन्नुहुन्छ । किन यस्तो भनेको ?

– जेनजीको मुभमेन्ट निःस्वार्थपूर्वक भएको हो । यो विद्रोह सत्ताविरुद्धको बगावत होइन, सिष्टमलाई चुनौती थियो, भ्रष्टाचार, अपारदर्शिता र जनविरोधी शासन समाप्त गर्ने उद्देश्य थियो । भदौ २३ र २४ को निर्णायक आन्दोलन क्रममा ७६ भन्दा बढी मर्दा २३ सय बढी अङ्गभङ्ग अवस्थामा छन् । विडम्बना, सरकार सुशीला कार्कीहरूले हाइज्याक गरे । राज्यविहीनताको अवस्थामा फाइदा उठाए । यो सरकार नामले जेनजीको भए पनि आत्माले पुरानो सत्ताकै निरन्तरता हो ।

० मिराज ढुंगानाले ‘गरिखान देऊ’, रिजन राना मगर (आदित्य), अमित खनाल (ऊर्जा) लगायतले ‘जेनजी मुभमेन्ट अलायन्स’, रक्षा बमले जेनजी फ्रन्ट घोषणा गर्नुभएको छ । यसरी जेनजी नै छिन्नभिन्न हुँदा लाभ अरुले उठाउनु स्वाभाविकै भएन र ?

– जेनजी १२ देखि २८ वर्षको युवा समूह हो । सिंगो युवा पुस्ता हो, संसारमा कहीँ कतै यिनीहरु एकै ठाउँमा बस्दैनन् । अगुवाहरूको आ–आफ्नै इन्ट्रेस्ट होला । आन्दोलनकै कारण सामाजिक सञ्जाल त खुलिसक्यो । प्रत्यक्ष निर्वाचित कार्यकारी र भ्रष्टाार उन्मूलनजस्ता मुद्दा सम्बोधन भएको छैन । केही जेनजी प्रधानमन्त्रीको ज्यू–हजुरीमा व्यस्त छन् । कोही पार्टी बनाउनतिर लागेका छन् । हामी आफैं पनि मुद्दामा अडिग हुने सकेका छैनौँ ।

० सुदन गुरुङ र मिराज ढुंगानाहरू एक्कासी कसरी उदाए ?

– पोडकास्ट चलाउने एक साथी छन्, दिवश भण्डारी, उनैले हो मिराजलाई बाहिर ल्याएर हाइलाइट गरेको । सुदन गुरुङहरूको एउटा इन्ट्याक्ट टिम नै थियो । आन्दोलनका क्रममा विद्यार्थीहरु स्कूल र कलेजका ड्रेसमा आएका थिए । हामी नर्मल पोशाकमै थियौँ तर उहाँहरू आफ्नै पोशाकमा देखिनुभयो । ड्रेससहित देखिएको कारण सुदन गुरुङहरूकै संस्थाले गरेको रहेछ भन्ने पर्न गयो । उमेर पाको, केही समयदेखि संघ संस्था चलाएको अनुभव ।

त्यतैबाट हामीजस्ता निःस्वार्थ ढंगबाट सडकमा उत्रिएकाहरूमाथि आक्रमण भयो । उनीहरुले सबैलाई कन्भिन्स गर्न सके । यद्यपि राजनीतिक रूपमा सचेत छैनन् । एकातिर सुशीला कार्कीको खुट्टा ढोगेको तस्बिर आयो । तिनैले भोलिपल्टै सुशीलादेखि ओमप्रकाश अर्यालहरूको राजीनामा मागे । सुदन अहिले पनि बेचैनीको अवस्थामा हुनुहुन्छ ।

उहाँलाई दुरूपयोग गरेर राज्यसत्तामा लाभ लिन सकिन्छ कि भनी गतिविधि अगाडि बढाइरहेका छन्, यसबीच केही माफिया र तस्करले । अर्थमन्त्रीबाट भएका कर छुट दिने कुरा, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका विषय, कुलमान घिसिङदेखि महान्यायधिवक्तासम्मको प्रसंग हेर्दा जेनजीलाई उपयोग गरेर पावर मिसयुज गर्ने काम भइरहेको स्पष्ट देखिँदै छ ।

० जेनजी विद्रोहमा युएस एम्बेसीको युथ काउन्सिलदेखि विवेकशील साझा पार्टीबाट राजनीतिक दीक्षा लिएकाहरूको बढी संलग्नता रहेको आरोप छ, यसबारे के भन्नुहुन्छ ?

– सही कुरा हो । सरकार निर्माण प्रक्रियामा सुशीला कार्कीहरूले ‘कू’ गरेपछि उनीहरूको स्कूल अफ थट त्यससँग टाइअप भएको देखियो । अहिले पनि तिनै समूहलाई बालुवाटारमा बोलाएर बेलाबखत अभिनय गराइन्छ । यसो गर्नुपर्‍यो, उसो गर्नुपर्‍यो भनेर पढाइन्छ । प्रधानमन्त्रीको सल्लाहकारहरू हेरौं न, एक जना विवेकशील पार्टीमा लागेको, अजयभद्र खनालले उसैगरी चीनविरोधी एनजिओ चलाए ।

एकातिर यो सरकारै विद्रोहीले बनाएको होइन भने यसका पक्षमा उभिने यस्ता पात्र भएपछि कहीँ न कहीँ समस्या पक्कै छ । उज्ववल थापा फाउण्डेसन अर्थात पूर्व विवेकशील साझा र बारबरा फाउन्डेसनमा काम गरेकै मान्छेहरूको प्रभुत्व छ । यसको प्रायोजक र आयोजक को हो भनेर धेरैले सोधीखोजी गरेको पाउँछु । एकदिन बत्तिसपुतलीमा मिराज ढुंगाना र केही साथी बसेका रहेछन् । उनीहरूबीच कुरा मिलेन, भनाभन भयो । हामी बबरमहलमा बसेर चार पेजको वक्तव्य निकाल्यौँ । भदौ २३ मा आन्दोलन गर्नका लागि अनुमति लिन सिडियो कार्यालयमा पुरुषोत्तम यादवहरू जानुभएको थियो । आन्दोलन शान्तिपूर्ण हुन्छ भनिएको थियो तर विश्वभर कहीँ–कतै पनि विद्रोह भनेको शान्तिपूर्ण हुँदैन ।

० भदौ २३ र २४ को घटनाक्रम एकै हुन् कि अलग–अलग ढंगबाट हेर्ने हो ?

– एकै हुन् । यसलाई अलग–अलग गरेर हेर्नुहुन्न । त्यसो गर्दा नेपालमा फेरि युद्ध हुनसक्छ । भदौ २३ र २४ गते नेपालको एक तिहाइ जनसंख्या विद्रोहमा होमिएको थियो । त्यो दिन घाइतेहरूलाई राखिएको सिभिल अस्पतालभित्र पसेर जसरी अश्रुग्यास प्रहार भयो, त्यो निन्दनीय घटना हो ।

यस्ता क्रिमिनल घटना संसारभर हुन्छ । राज्यविहिनताको अवस्थामा विद्रोहको फाइदा जसले पनि उठाउँछ । चोर्नेले चोर्‍यो । आगो लगाउनेले आगो लगायो तर यो वातावरण कसरी सिर्जना भयो ? भदौ २४ मा किन प्रहरी हात खडा गरेर भागेको ? नेपाली सेना किन व्यारेक भित्रै लुकेको ? प्रधानमन्त्री केपी शर्मा ओली किन भागेको ?

० सरकारको ७० दिनलाई कसरी लिनुभएको छ ?

– राष्ट्रपति रामचन्द्र पौडेलले पुरानै दलको अनुमति लिएर नयाँ सरकार बनाएको हुँदा यो पुरानै सरकारको निरन्तरता हो । त्यसमा केही अपरिपक्व जेनजीहरूको दुरूपयोग भएछ । जेनजी आन्दोलनको नारा थियो– ‘पारदर्शी शासन, जवाफदेही नेतृत्व ।’ तर दुई महिनासम्म कुनै मन्त्री र उच्च अधिकारीको सम्पत्ति विवरण सार्वजनिक हुँदैन ।

ऊर्जामन्त्री कुलमान घिसिङले भारतको पीटीसी इण्डियासँग विद्युत सम्झौता गरेर राज्यकोषलाई ४३ करोडबराबर घाटा पुर्‍याएको, अर्थमन्त्री रामेश्वर खनालले गैरकानुनी करछुट दिएको, महान्यायाधिवक्ताले गम्भीर अपराध अनुसन्धानमा हस्तक्षेप गरेको, यी सबै घटनाले देखाउँछन् कि सरकार ‘सुशासन’ होइन, ‘पुरानो व्यवस्थाको संरक्षण’मा व्यस्त छ । विद्रोहको जगमा बनेर, भ्रष्टाचार व्यवस्थापन गर्नु ठूलो नैतिक गिरावट हो । यही कारण सुशीला कार्की नेतृत्वको सरकार जेन–जी आन्दोलनको अपहरणकर्ता हो ।

० तपाईंहरूको हर्कत पनि पुराना दलको भन्दा फरक देखिएन ?

– १२ देखि २८ वर्षका नयाँ पुस्ता, जागरुक, इनोभेटिभ, विज्ञान प्रविधिसँग जोडिएको छ । डेनमार्क, फिनल्याण्डको सरकार कसरी चलिरहेको छ त्यो हेरिरहेको छ । यो पुस्ताको आह्वानमा भएको विद्रोहको मुद्दा सम्बोधन नहुने हो भने देशप्रतिको विश्वास टुटेर जान्छ । तीन दशकसम्म कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा बसेर राज्य लुट्नेहरूलाई छानबिन गर्नुपर्छ । सुशीला कार्कीको हकमा पनि त्यही भनिएको हो । न्यायालय स्वच्छ छैन । उहाँहरूबाट ज्ञान पाउन सकिन्न । यी सबै छानबिन गर्नुपर्ने पात्र हुन् ।

० आन्दोलन गर्न उक्साउने बालेनले नेतृत्व लिन किन खुट्टा कमाएका होलान् ?

– बालेन साह इञ्जिनियर हुन्, राजनीतिकशास्त्र र कानुनका विद्यार्थी हैनन् । अघिल्लो दिन प्रधानमन्त्रीलाई तँ अपराधी होस् लेखे । सडकमा उत्रन आह्वान गरे र आफू मोबाइल अफ गरेर बसे । सेनासँग वार्ता गर्नु भने, सेनाले सत्ता हातमा लिएको थिएन । उनको लोकप्रियता घट्ने, बढ्ने भइरहन्छ । निर्वाचन आयोगमा ०७९ सालमै पार्टी दर्ता गर्दा भेट्न बोलाएका थिए तर मैले भेटिन । बालेनमा पनि परिपक्वता देखिँदैन ।

० तपाइँको आगामी गतिविधि कसरी अगाडि बढ्छ ?

– संघर्ष र संवाद जारी राख्छौं । केपी ओलीले गरेको सभामा हजारौं मान्छे गए भनिएको छ । २७ लाख मत ल्याउनुभएको होइन ? विद्रोहको माग संबोधन नगरेसम्म शान्ति हुँदैन । फागुन २१ मा निर्वाचन हुँदैन, बरु मुलुक गृहयुद्धमा जानसक्छ । निर्वाचन के का लागि ? ०७९ मा पाँच वर्षका लागि गरिएको हैन ? बीचमा भाग्नुपर्ने स्थिति किन आयो ? केपी ओली झापामा के भनेर मत माग्न जानुहुन्छ ? प्रचण्ड, देउवाहरूले के भन्नुहुन्छ ? देउवाको घरमा जलाइएको पैसाको गन्ध अझै हराएको छैन । यस्तो अवस्थामा उहाँहरू के भनेर मुख देखाउनुहुन्छ ?

० सुशीला कार्कीलाई कसरी हटाउनुहुन्छ ?

– यही फरक मत र स्पष्ट विचार राखेकै कारण प्रहरीले मलाई पक्राउ ग¥यो तर भित्र राख्ने कुनै प्रमाण भेटेन । कुनै प्रकारको संलग्नता भएको भए कहाँ बाँकी राख्नुहुन्थ्यो होला र ? प्रहरीले मेरो घरको लोकसनै लिएर गएको छ । मलाई हाइली सर्भेलियन्समा राखिएको छ । कुनै कुकृत्यमा सामेल छैन म । विगतका भ्रष्ट सरकारहरूलाई माथ गर्ने गरी मन्त्रीहरु भ्रष्ट भइसके । सुशीला कार्कीलाई सडकबाटै हटाउने हो, अर्काे विकल्प छैन । उहाँलाई हटाएर जेनजीकै नेतृत्वमा सरकार बनाउनुपर्ने हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष