‘तिनै परिचालितहरु अगुवा भन्दै हिंडिरहेका छन्’

०७४ मा काठमाडौँबाट मेयर निर्वाचित विद्यासुन्दर शाक्यले जे जति सुधारका काम गरे, अहिले त्यसैको जगमा छन् बालेन साह । ९ वटा ब्रुमर, १ देखि आठसम्म स्थानीय तहको पाठ्यक्रम, आइल्याण्ड र भत्किएका सम्पदा निर्माणलगायत अधिकांश बनाउने काम विद्यासुन्दरकै पालामा सम्पन्न भइसकेको थियो । २४ सै घण्टा १० वटा एम्बुलेन्स सञ्चालन, वडाका प्रशासनिक भवन निर्माण, दमकल भवन बिस्तारलगायत विद्यासुन्दरले गरेका अविष्मरणीय काम हुन् । कसैलाई बिझाउन नचाहने शाक्य काठमाडौँको लगनटोलमा जन्मिए, खानदानी नेवार परिवारको छोरा भएर पनि व्यापार होइन, राजनीतितिर लागे । उनको नाम काटेर माथिबाटै पूर्वमेयर केशव स्थापितलाई ०७९ मा उठाउनु नै बालेन उदयको प्रमुख कारक मान्छन्, एमालेहरू ! शाक्य पार्टीको नगर र जिल्ला कमिटी सचिव हुँदै अहिले केन्द्रीय सदस्य छन् ।

बिज्ञापन

० काठमाडौँका मेयर बालेन साहको तीन वर्षे कार्यकाललाई कसरी नियालिरहनुभएको छ ?

बिज्ञापन

– कतिपय निर्णय व्यक्तिले गरेको भए पनि पछि त्यो संस्थागत हुने हुँदा त्यसलाई त्यही रूपमा हेर्नुपर्छ । फुटपाथ र सुकुम्बासी हटाउनेबाहेक अहिले नयाँ कुरा केही देखिएको छैन । सधैं घर भत्काउने र रोड चौडा गरेर मात्र बस्ने हो भने राज्यको सम्पत्ति सडकमा मात्र देखिन्छ । अहिले त व्यक्तिगत रूपमा मेयर सा’ब चलिरहनुभएको छ भन्ने सुनिन्छ । ‘मै हुँ’ भन्ने अहंले कहाँ नै पो पुगिएला र ? स्मार्ट लाइट र हाइ मास्क मेरै कार्यकालमा अगाडि बढेका हुन् । पछिल्लो कार्यपालिका बैठकमा वडा अध्यक्षाले महानगरपालिकाको आफ्नै भवन कहिले बनाउने भनेर प्रश्न उठाएको सुनियो । अरु सबै नगरपालिकाको कार्यालय भवन छ । तर देशकै सबैभन्दा ठूलो महानगरपालिका अहिले पनि भाडाको घरमा बसिरहेको छ । तत्कालीन उपप्रधानमन्त्रीलाई आग्रह गरेर नेपाल ट्रष्टको भवन लिजमा लिन मैले पहल नगरेको भए आज महानगरपालिकाको कार्यालय कहाँ हुन्थ्यो ?

० पछिल्लो समय नेपाल प्रहरी र महानगर प्रहरी नै आमने–सामने हुने स्थिति आयो । महानगरको डोजर थापाथलीको महिला प्रहरी बिट भत्काउन पुग्यो । किन होला यस्तो द्वन्द्व ?

बिज्ञापन

– थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग भत्काउने निर्णय मेयरको मात्र हो वा कार्यपालिकाकै हो ? कार्यपालिका सदस्यहरूले स्पष्ट पार्नुपर्‍यो । अहिलेसम्म कसैले नबोलेको हुँदा त्यो संस्थागतै हो जस्तो लाग्छ । एउटा सरकारी निकायले अर्काे सरकारी निकायसँग समन्वय, सहकार्य गर्नु पर्ने हो । सार्वजनिक ठाउँमा बनाइएका थुप्रै सरकारी संरचना छन्, के ती सबैमा डोजर चलाउँदै जाने ? मेरै पालामा कमलपोखरीको पाँच रोपनी सार्वजनिक जग्गामा बसेको प्रहरी वृत्त भत्काइयो तर कुनै हल्लाखल्ला भएन । बरु महानगरपालिकाले नै त्यहाँ अर्को प्रहरी भवन बनाउन सहयोग गर्‍यो ।

प्रहरी हाम्रै लागि होइन ? जेनजी आन्दोलन अधिकांश प्रहरी बिट निशानामा परे । तर तिनलाई सरकारले भन्दा बढी स्थानीय र जनताले नै बनाए । प्रहरी हाम्रो घरछेउ मात्र बसिदिए पनि हामी सुरक्षित हुन्छौं । उसै त अहिले प्रहरी आतंकित अवस्थामा छ । तिनै प्रहरीलाई तर्साएर आलो घाउमाथि नुन चुक छर्कने काम गरेको छ महानगरपालिकाले । यस्तो कदम गलत हो । अरु ७५२ वटा नगरपालिका छन्, कतै यसरी नगर प्रहरीले प्रहरी कार्यालय भत्काएको सुनिँदैन । २४ भदौंको एक दिन मात्र प्रहरीले हात उठाउँदा देशको हालत के भयो ? कसैको मानमर्दन गर्न सजिलो छ तर इज्जत दिन गाह्रो छ ।

० सिंहदरबारलगायत देशका प्रशासनिक भवन जल्दा महानगरपालिकाका कुनै दमकल आगो निभाउन पुगेनन् बरु ललितपुरले मात्र आगो निभाइरहेको देखियो । दमकलको यथार्थ के हो ?

– पहिला एउटा मात्र दमकल स्टेशन थियो । मेरो कार्यकालमा बौद्ध रामहिटी र कामनपा १६ नम्बर वडा, बालाजु औद्योगिक क्षेत्रमा थपियो । पहिला पाँच वटा रहेकोमा तीन वटा नयाँ किनियो । पहिला घरहरू साना थिए । एउटै जुद्ध बारुणयन्त्र काफी थियो । अहिले बहुतले भवन बनिसके । ६० मीटर होरिजेन्टल, ४५ मीटर भर्टिकल पानी फाल्न सक्ने आद्युनिक खालको दमकल किनेको हामीले नै हो । मलाई पनि चित्त नबुझेको कुराचाहिँ, महानगरपालिकाकै गाडीले आन्दोलनमा पानी वितरण गरिरहेको थियो । राज्यको एउटा निकायले राज्य विरुद्ध प्रदर्शन भइरहँदा यस प्रकारको गतिविधि गर्न मिल्थ्यो कि मिल्दैनथ्यो ? आन्दोलनलाई उक्साउने अभिव्यक्ति दिने, अनि आन्दोलनकारीहरूलाई पानी बाड्ने ? मिल्ने हो कि होइन ?

नियतै खराब भइसकेपछि यस्ता प्रश्न उठ्नु अस्वाभाविक होइन । वडा सदस्यहरूकै गुनासो छ– जुद्ध वारुणयन्त्र नजिकै आगलागी हुँदासमेत त्यहींको दमकल समयमा आगो निभाउन पुगेन । त्यहाँसमेत ललितपुरकै दमकल बोलाउनुपर्‍यो । यसलाई संवेदनशीलता नभएको वा जिम्मेवारीवोध नभएको रूपमा बुझ्नुपर्‍यो वा विध्वंश होस् भन्ने नै चाहना रहेको रूपमा लिनुपर्‍यो । दमकल अर्थात एम्बुलेन्सले कसको घरमा आगलागी भयो वा को विरामी भयो भनेर हेर्दैन । चाहे सरकारको जलोस् वा व्यक्तिको निभाउने दायित्व महानगरको हो ।

० काठमाडौँ महानगरपालिकाको बजेटले ३५ वटा एम्बुलेन्स अन्यलाई बाँड्न मिल्छ त !

– नगर नगर साझेदारीअन्तर्गत यस्तो काम गर्न सकिन्छ । महानगरसँग आन्तरिक स्रोत छ तर बाहिरका स्थानीय तहको आम्दानी कम छ । काठमाडौँको एउटा सानो सहयोगले ठूलो राहत मिल्छ भने दिनु अनुचित होइन तर अरुलाई एम्बुलेन्स बाड्दा आफैं रित्तो हुनु भएन ।

० वर्तमान अन्तरिम सरकारको सूत्रधार नै बालेन साह हुन् भन्छन् । एउटा मेयरको यत्रो हैसियत हुन सक्छ ?

– यो विषयमा बोल्नुपर्ने कसैले मुख खोलेका छैनन् । आन्दोलन गर्ने, संसद भवन, सिंहदरबार, भाटभेटनीलगायत हजारौं सरकारी र निजी संरचना जलाउने को हो ? यसको जिम्मेवारी कसैले लिएको छैन । काम सकिएपछि जस–अपजस दुबैको जिम्मेवारी लिनुपर्छ । हमासले हामीले गरेको हो भनेर नैतिक जिम्मेवारी लियो । स्वयं प्रधानमन्त्री र मन्त्रीलाई नै कसले प्रधानमन्त्री र मन्त्री बनाइदियो थाहा छैन । ‘म रहरले होइन, करकापले प्रधानमन्त्री बनेको हुँ’ भनिरहनुभएको छ ।

० महर्जन कम्लेक्सको नक्सा पास कसरी भयो ? त्यसभित्रको लफडा के थियो ?

– महानगरपालिकाबाट ३५ फिटसम्मको नक्सा पास गरेको देखिन्छ । चार तल्ला होइन भने नक्सा संशोधन गरेर बनाउन पाउँछ, मापदण्डभित्र रहेर । महर्जन कम्लेक्समा ३५ फिटसम्मको नक्शा संशोधन गर्नु, अरु कसैले अवरोध नगर्नु भनेको हुँ । त्यहाँ आर्मी, प्रहरी र केटाहरू थुप्रै जान्थें, जुन तिमीहरूको कार्यक्षेत्रभित्र पर्दैन । आइन्दा कोही नछिर्नु, केही परेको खण्डमा जनप्रतिनिधिसँग समन्वय गर्नु भनेको थिएँ । मेरो कुरा नक्शा संशोधन गर्नु भन्ने मात्र थियो । देशकै पहिलो सम्पदामैत्री उक्त कम्प्लेक्स बनाउन कुनै कानुनी व्यवस्था र मापदण्डले बाधा नपर्ने सर्वाेच्चको आदेश पनि छ । सोही विषयलाई लिएर युनेस्को चिफको पुत्ला जलाउने काम भयो । म अहिलेसम्म त्यहाँभित्र छिरेको छैन ।

० यहाँको कार्यकालमा सडकको धुलो टिप्ने सात वटा ब्रुमर थिए । दुई वटा चीनको छङ्दु नगरपालिकाबाट आयो । काम तपाईंको कार्यकालमा भयो तर व्याज बालेनले खाइरहेका छन् । खुशी लाग्दैन ?

– अहिले कामभन्दा मिडियामा फोकस भयो । चर्चा र परिचर्चा कस्मेटिक काम गर्नेहरूको धेरै भयो । लोभमा फसेर नगरेको कामको चर्चा गरिँदा सिंगो देश कता पुग्ला ! कालान्तरमा नाङ्गो बादशाह बनिन्छ । मेयर भनेको अस्थायी पद हो । पात्रदहरू आउँछन, जान्छन् । मिथ्या प्रचार अस्थायी हुन्छ ।

० बालेनका अराजक गतिविधि बढ्दा पनि काठमाडौँका ३२ वडा अध्यक्षले किन बोल्न नसकेका होलान् !

– भर्खरैको कार्यपालिका बैठकमा ११ नम्बर वडाध्यक्ष हिरालाल तण्डुकारले महानगरपालिकाले प्राथमिकता दिएर आफ्नै भवन बनाउनुपर्‍यो भन्दा मेयरले तिहार मैले १० दिन अगाडि नै छिटो सकाइदिऊँ त ? भन्दै हेपेर बोलेको सुनियो । यसरी मेयरले जनप्रतिनिधिलाई हेप्दा चेप्दा उहाँहरू किन चुइँक्क बोल्नुहुन्न ? पार्टी नेतृत्व र सरकारलाई गाली गर्दा ताली ठोकेर बस्ने हो र ! कि हिरालालले उठाएको कुरा बेठीक हो भन्नुप¥यो होइन भने समर्थनमा बोल्नुपर्‍यो । मैले नेपाल ट्रष्टसँग अफिस लिँदा केही अभियन्ताले विरोध गरे, मुद्दा–मामिलामा फसाए । अहिले त्यही काम बालेनले गर्दा कसैको विरोध गरेको सुनिँदैन । करोडौं खर्च गरेर हरेक मन्दिरमा झिलिमिली बत्ती राख्दा कुनै अभियन्ता तथा जनप्रतिनिधि बोल्दैनन् । अनि दुई महिनापछि समिति बनाएर बत्ती राखेको ठीक भएन भनी प्रतिवेदन दिन्छन् । दुई महिना पनि नटिक्ने निर्णय गरेर करोडौं पैसा सक्ने ? यसको जिम्मेवारी कसले लिन्छ ?

० टुकुचा, सुकुम्बासी बस्तीका अलावा सामाखुशी क्षेत्रमै डोजर चलाउनेबाहेक बालेनको तीन वर्षे कार्यकालमा बनेका काम के के हुन् ?

– यहाँ चर्चा नै भत्काउनेको छ त ! मिडियाले त्यसैलाई प्राथमिकता दिएको छ । एउटा डाक्टरले हजारौं बिरामी बचाएको हुन्छ त्यसको कुनै न्युज बन्दैन । एक जनाको ज्यान जाँदा समाचार बन्छ । मारेको, मरेको होइन, बचाएको न्युजले प्राथमिकता पाए पो ! ट्राफिक चौकी भत्काएको न्युज जताततै कभरेज भयो तर जेनजी विद्रोहपछि स्थानीयहरूले आफैं अग्रसर भएर कतिपय प्रहरी वृत्त बनाएको समाचार विरलै पढ्न पाइयो ।

० पाँच वर्ष महानगरपालिकाको नेतृत्वमा रहँदा गर्न चाहेर पनि नसकेको कामचाहिँ के–के थिए ?

– केन्द्रीय कार्यालय आफ्नै बनाउन टेण्डर लगायौं, पूरा हुन सकेन । हाइमास्क, न्युरोडको दमकल भवन बनाउनुपर्ने विषय छन् । हाइ मास्क बत्ती राख्न टेण्डरै भइसकेको थियो । यस्तै टेकुमा पार्किङ भवन बनाउन टेण्डर आह्वान भयो । उपत्यकामा कोही पनि व्यापारिक संघ, संस्था पार्किङ भवन बनाउन तयार नभएपछि उनीहरूलाई अभिप्रेरित गर्न पार्किङ भवन बनाउन खोजिएको थियो । यसरी ठाउँ ठाउँमा पार्किङ एरिया बनाइदिएको भए आज कसैको घरमा डोजर चलाउनुपर्ने थिएन । टेकुको सात रोपनी जग्गामा नमुना पार्किङ भवन बनाउने योजना अधुरै रह्यो । एक तला बनेर त्यसै लथालिंग भयो । । काठमाडौँमा मोनोरेल, मेट्रोरेलको परिकल्पना मेरै कार्यकालमा गरिएको हो । महाराजगञ्जमा दमकल स्टेशन थप्न खोजिएको थियो मुद्दा मामिला र झमेला भयो । कुलेश्वरमा जग्गा खरिद गरी ब्रुमर थप्न खोजिएको थियो ।

० कमलपोखरी र रानीपोखरी विवादमा हात नहालेको भए हुन्थ्यो भन्ने लाग्दैन ?

– अहिले पनि कमलपोखरी निर्माण हामीले गर्‍यौं भनेर केही अभियन्ता चिच्याइरहेका छन् । हिजो कमलपोखरीको निर्माण अगाडि बढाउँदा रोक्न अग्रसर हुनेहरू युएसएडबाट भत्ता खानेहरू भन्ने पत्ता लागिसकेको छ । तिनै परिचालितहरु अगुवा भन्दै हिंडिरहेका छन् । कमलपोखरी मैले जे डिजाइन गर्न खोजेको थिएँ त्यही डिजाइनमा बन्यो । प्रहरी वृत्तलाई त्यहाँबाट हटाएर उल्टै जग्गा थप्ने काम भएको छ ।

म निर्वाचित भएको ०७४ सालमा । उनीहरू विवाद गर्न आएकाले । दुई वर्षसम्म प्रगति केही थिएन । त्यसमा पुरातत्वले पनि केही बदमासी गरेकै हो । विवाद आउनु अघिल्लो दिन काँग्रेसका भीमसेनदास प्रधानको नेतृत्वमा चेम्बर भवनमा बैठक बस्यो । एमालेलाई बदनाम गर्न उनीहरु लागेको भिडियो फुटेज भेटिएलगत्तै मैले तत्कालीन रक्षामन्त्री भीमसेनदासलाई भेट्न पटक पटक समय माग्दा पाइएन । सोही दिउँसो हरिप्रभा खड्गी ताला लगाउन गइन् । महानगरपालिका र पुरातत्वबाट असहयोग भएपछि तत्कालीन प्रधानमन्त्रीकै प्रस्तावमा यो काम संघीय सरकारले गरेको हो । रानीपोखरी र कमलपोखरी विवादमा मलाई मुछ्नुपर्ने कुनै कारण छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘तिनै परिचालितहरु अगुवा भन्दै हिंडिरहेका छन्’

परामर्शदाता छनौंटमा गम्भीर चलखेल गरेका सहसचिवलाई कुलमानको उपहार :बनाए महानिर्देशक

सहलेखापालदेखि बरिष्ठ लेखा अधिकृत गरी ३० कर्मचारीको सरुवा

सल्लाहकारले नै छाडे प्रचण्डको साथ

‘परान’ को उडान अझ उचाइमा, थपिँदै एकपछि अर्को कर्पोरेट शो

अब यी २५ सेवामा हड्ताल गर्न नपाइने,राजपत्रमा निस्कियो सूचना

२० दिनमा खरिदारदेखि उपसचिव तहका ४०१ कर्मचारीको मनमौजी र बेमौसमी सरुवा

‘लोकप्रियता’को कवचमा अर्बौँको लुट : कुलमानका एकपछि अर्को कर्तुत उजागर

बिशेष