खुलेका जडीबुटी उद्योग धमाधम बन्द हुँदै

सुदूरपश्चिममा जडीबुटीका क्षेत्रमा काम गर्ने १८ वटा उद्योगमध्ये १२ वटा बन्द अवस्थामा छन् । चालू अवस्थामा रहे पनि कच्चा पदार्थ नपाएर सञ्चालनमा आउन नसकेका ५ वटा उद्योग छन् भने एउटा मात्र उद्योग अहिले सञ्चालनमा छ ।

बिज्ञापन

मीन ठकुरी/ धनगढी

बिज्ञापन

सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा जडीबुटीका लागि धनी मानिन्छ । यहाँ रातोच्याउ, पदमचाल, चिराइतो, अल्लो, कुट्की, पाषणवेद, लेकपाङ्कर, टिमुर, तितेपाती, जटामसी, सुगन्धवाल जस्ता महत्वपूर्ण जडीबुटी पाइन्छन् । यिनै जडीबुटीको सम्भावना देखेर ७० को दशक सुरुवातमै बाजुरामा चारवटा जडीबुटी प्रशोधन केन्द्र खुले । ति केही समय ‘धकेलगाडी’ झैँ चले । अन्ततः अहिले बन्द अवस्थामा छन् ।

बाजुराको हिमाली गाउँपालिका नेटा गाउँमा रहेको जडीबुटी प्रशोधन केन्द्र, खप्तड छेडेदह गाउँपालिकाको काँडा गाउँमा रहेको जडीबुटी प्रशोधन केन्द्रर बडिमालिका नगरपालिकाको भौनेलामा रहेको जडीबुटी प्रशोधन केन्द्र हाल बन्द अवस्थामा छन् भने गौमुल गाउँपालिकाको दह गाउँमा रहेको जडीबुटी प्रशोधन केन्द्र भने गत वर्ष तुषारगाढ खोलामा आएको बाढीले बगाएपछि बन्द छ ।

बिज्ञापन

‘पर्याप्त जडीबुटी भए पनि प्रशोधन गरी निकालिएको तेलले बजार नपाउँदा जडीबुटी प्रशोधन केन्द्र बन्द अवस्थामा रहेका छन्,’ बाजुराका जडीबुटी व्यवसायी धनलाल रोकायाले भने,‘यहाँ उत्पादित तेलको बजार भनेको नेपालगन्ज हो, नेपालगन्जका व्यापारीले मनोमानी मूल्य तोकिदिँदा उद्योगहरु घाटामा गएपछि बन्द रहेका छन् ।’

सामुदायिक स्तरबाटै सञ्चालित ती चारवटै उद्योगबाट केही समय राम्रै उत्पादन भएपनि उत्पादित तेलले उचित मूल्य र बजार नपाउँदा समस्यामा परेको उनको भनाइ छ ।

बाजुराको जस्तै हालत यहाँका अन्य उद्योगको पनि छ । कैलालीको लम्कीचुहा नगरपालिकामा तीन जना व्यवसायी मिलेर सगरमाथा जडीबुटी उद्योग सञ्चालनमा ल्याए । मेन्था, क्यामोमाइललगायत प्रशोधनका लागि आउने सबै प्रकारका वनस्पतिको प्रशोधन गरेर तेल निकाल्ने गरी उद्योग सञ्चालनमा ल्याइएको थियो । सुरुको पहिलो लटमा उद्योगीले किसानमा लगानी गरेर क्यामोमाइल खेती गर्न लगाए । खेती गरेका किसानले उत्पादन गरेको क्यामोमाइलबाट एक गुणा पनि फाइदा भएन । ‘किसानले ४० हजार लगानी गरेर क्यामोमाइल लगाए,’ उद्योग सञ्चालक खडानन्द सापकोटाले भने,‘उत्पादित क्यामोमाइलबाट दुई हजार रुपैयाँ बराबरको तेल उत्पादन भयो, किसानसँगै हामी पनि घाटामा गयौँ ।’ लगत्तै कोरोना आएपछि उद्योग पनि बन्दै रह्यो । एक करोड १० लाखको लागतमा सञ्चालन गरेको उद्योग सञ्चालनमा नआउँदै अन्ततः व्याज तिर्नमै ठिक्क भएको उनी बताउँछन् । ‘उद्योग खोल्यौँ, फाइदा भएन, लगत्तै कोरोना आयो,’ उनले भने,‘उद्योग खोल्दा लिएको बैंक ऋणको व्याज तिरिरहेका छौँ ।’

जडीबुटी व्यवसायी तथा नेचुरल हर्बल उद्योग कञ्चनपुरका प्रतिनिधि दशरथ चन्दले सरकारको स्पष्ट नीति नभएकै कारण जडीबुटी व्यवसायी मारमा परिरहेको बताए । उनले भने,‘जडीबुटी निकासी तथा प्रशोधनका लागि सरकारको स्पष्ट नीति नै छैन । जसले गर्दा अमूल्य जडीबुटी त्यत्तिकै खेर जानुका साथै सरकारले राजस्व गुमाइरहेको छ ।’ सरकारले जडीबुटी संकलन गर्न दिने नियम ल्याएपनि निर्यात गर्न भने नदिने गरेको छ । ‘सरकारले झ्याउ संकलनका लागि इजाजत दिएको छ,’ उनले भने,‘तर, त्यो संकलित झ्याउ नेपालमा प्रशोधन हुँदैन, भारत निकासीका लागि प्रतिबन्ध छ ।’

बर्सेनि सुदूर पहाडका जिल्लाबाट झ्याउ संकलन भइरहेको बताउँदै उनले भने,‘त्यो झ्याउ व्यापारीले नेपालगन्जसम्म बैधानिकताका साथ लैजान्छन्, तर त्यहाँबाट भने चोरीको बाटोबाट भारत निकासी हुन्छ, जसले गर्दा नेपालको राजस्व गुमिरहेको छ ।’ जडीबुटीमा सरकारको स्पष्ट नीति नभएरै पनि सञ्चालनमा आएका जडीबुटी उद्योगहरु बन्द हुँदै गइरहेको पनि उनले बताए । सरकारले क्वारेन्टाइनकोनीति पनि सहज बनाउनु पर्ने उनी बताउँछन् । ‘सुदूरपश्चिममा जडीबुटीको गुणस्तर मापन गर्ने क्वारेन्टाइन नहुँदा पनि यहाँको गुणस्तरीय जडीबुटी कम मूल्यमा बेच्नु परिरहेको छ,’उनले भने,‘त्यही कारणले पनि जडीबुटी व्यवसायीदेखि उद्योगहरु धराशायी हुँदै गएका छन् ।’

अहिले लम्कीको सगरमाथा जडीबुटी उद्योग, गोदावरीको मेचीकाली जडीबुटी उद्योग, गोदावरीकै चौकीडाँडा प्रशोधन केन्द्र, धनगढी३ को बडहरा प्रशोधन केन्द्र, शुक्लाफाँटाको दिपशिखा प्रशोधन केन्द्र, शुक्लाफाँटाकै शिखर सामुदायिक वन समूह प्रशोधन केन्द्र, भीमदत्त नगरपालिकाको आर्या अर्गानिक हर्बल प्रा.लि., बाजुरा खप्तड छेडेदहको जडीबुटी प्रशोधन केन्द्र, बडिमालिकाको भौनेलामा रहेको जडीबुटी प्रशोधन केन्द्र, गौमूल बाजुराको जडीबुटी प्रशोधन केन्द्र, हिमाली गाउँपालिकाको जडीबुटी प्रशोधन केन्द्र र अमरगढी डडेल्धुराको सेती महाकाली जडीबुटी प्रशोधन केन्द्र बन्द अवस्थामा रहेका छन् ।

वनस्पती अुनसन्धान केन्द्र देवरिया, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टीकापुर, विष्णु सामुदायिक वन उपभोक्ता समूह प्रशोधन इकाई कैलारी, मनपिया सामुदायिक वन प्रशोधन ईकाई गोदावरी र गणेश सामुदायिक वन उपभोक्ता समूह प्रशोधन इकाई धनगढी भादा पनि चालू अवस्थामा रहेका तर कच्चा पदार्थ नपाएर अहिले बन्द अवस्थामा छन् ।

सुदूरपश्चिम जडीबुटीको ‘जिन बैंक’ भएको वनस्पति अनुसन्धान केन्द्र कैलालीका वरिष्ठ वैज्ञानिक अधिकृत गंगादत्त भट्ट बताउँछन् । उनका अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी जडीबुटी खप्तडमा पाइने गरेको छ ।

नासिँदै जडीबुटी

जडीबुटीको अथाह भण्डार भएको सुदूरपश्चिममा जथाभावी संकलन गरिदिँदा नासिन थालेका छन् । जडीबुटी संकलकहरुले जरैबाट जडीबुटी निकालिदिने, हाँगावाला जडीबुटी भए हाँगै भाँचिदिने गर्नाले पनि नासिन थालेका छन् । यस्तै, गर्मी मौसममा जंगलमा डढेलो लाग्नाले पनि जडीबुटीको बंश विनाश हुन थालेको गौरीगंगा–७ का वैद्य टोपबहादुर जोगी थारू बताउँछन् । डढेलोले वर्षौदेखिको उनको जडीबुटी दिएर उपचार गर्ने समाजसेवामा समस्या आएको छ । ‘बिरामीलाई जडीबुटी दिन मलाई फूर्सदै हुँदैनथ्यो,’ उनले भने,‘अहिले जंगलमा डढेलो लाग्दा जडीबुटी नासिएका छन्, जसले गर्दा दिनभरी जडीबुटी खोज्नु परेको छ ।’

डढेलोले वन सखाप हुनुका साथै वनभित्रका बहुमूल्य जडीबुटी पनि नासिने चिन्ता थपिएको उनी बताउँछन् । ‘हाम्रो यो वनमा अत्याधिक मात्रामा जडीबुटी छ,’ उनले भने,‘हरेक वर्ष जंगलमा डढेलो लाग्दा पहिलेको जसरी जडीबुटी पाउनै सकिएको छैन ।’ जंगल जोगाउन मात्रै नभई त्यहाँ रहेका जडीबुटी संरक्षणका लागि पनि सम्बन्धित निकाय जाग्नुपर्ने उनी बताउँछन् ।

पछिल्लो समयमा सुदूरपश्चिमको जंगलमा डढेलो सल्कँदा बहुमूल्य जडीबुटी नासिने चिन्ता थपिएको संरक्षणका क्षेत्रमा काम गरिरहेकी गौरी लामा बताउँछिन् । हरेक वर्षको डढेलोले सुदूरपश्चिममा पाइने २ सय ५० भन्दा बढी जडीबुटी नासिने सम्भावना रहेको उनले बताइन् ।

सुदूरपश्चिमका तराईमा भुइँ अमला, सर्पगन्धा, अस्र्वगन्धा, हर्रो, बर्रो, अमला, वन हलेदो, असुरो, गुर्जो, पिपली पहाडी भेगमा चुत्रो, दालचिनी, टिमुर, कुटकी, चिराइतो, पाँचऔलो, यार्सागुम्बालगायतका जडीबुटी पाइने गरेको बताउँदै उनले भनिन्,‘महत्वपूर्ण जडीबुटीहरु सुदूरपश्चिमका वनजंगलमा पाइन्छन् ।’ डढेलोका कारणले यि र यस्ता महत्वपूर्ण जडीबुटी नासिनुका साथै वंशै विनाश हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको उनले बताइन् । ‘डढेलोले गर्दा जडीबुटीका बोटविरुवा पूरै डढ्छन् भने त्यसका बीजहरु पनि पोलिएर नष्टहुँदा अर्कोपटक उम्रने सम्भावना न्यून हुन्छ,’ उनले भनिन,‘त्यसैले पनि डढेलोले जडीबुटीलाई बढी प्रभावित पारेको छ ।’

सुदूरपश्चिममा व्यवसायिक रुपमा जडीबुटीको खेती नगरिएकोले जंगलकै भर पर्नुपरेको बताउँदै उनले भनिन्,‘घरमा व्यवसायिक रुपमा खेती गरिएको भए बीउ त जोगिन्थ्यो, तर यहाँ सबै जडीबुटी जंगलमै रहेका कारण डढेलोले सखाप हुने सम्भावना बढी छ ।’प्राकृतिक जडीबुटी डढेर नासिने र पुनर्उत्पादन हुने नहुने निश्चित नभएकाले डढेलोले जडीबुटीको वंश विनाश हुने सम्भावना बढेको उनी बताउँछिन् ।सुदूरका जंगलमा औषधिय गुण भएका थुप्रै जडीबुटी रहेको र त्यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको बताउँदै उनले भनिन्,‘जंगललाई डढेलोबाट जोगाउन सबैभन्दा पहिले वन व्यवस्थापन र समयमै अग्नि नियन्त्रण रेखा, कन्ट्रोल फायर जस्ता विधि अपनाउन आवश्यक छ ।’

प्रदेश वन निर्देशनालय धनगढीका वन निर्देशक हेमराज बिष्टले भने,‘डढेलोले जंगल मासिनुका साथै त्यहाँ रहेका बहुमूल्य जडीबुटी पनिमासिने गरेका छन्् ।’ सुदूरपश्चिममा थुप्रै जडीबुटी रहेको बताउँदै उनले भने,‘सुदूरपश्चिममा तमामौ जडीबुटी छ, जंगलमा डढेलो लाग्नाले हुर्केका जडीबुटी नासिन्छन् ।’ जडीबुटी नासिनुको प्रमुख कारण डढेलो भए पनि जडीबुटी संकलनकर्ताहरुका कारण पनि समस्या रहेको उनी बताउँछन् । उनले भने,‘जडीबुटी संकलन गर्दा जरैबाट निकालिदिने र हाँगाविँगा भाँचेर संकलन गर्ने गर्नाले पनि जडीबुटी नासिने गरेको छ ।

छैन जडीबुटी सम्बन्धी छुट्टै नीति र ऐन

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मूल्यवान जडीबुटीको संरक्षण, समबद्र्धन तथा व्यवस्थापनका लागि छुट्टै नीति र ऐन भने ल्याउन सकेको छैन ।

मन्त्रालयले सुदूरपश्चिम प्रदेश वन नियमावली, २०७८ र वन ऐन २०७७ ल्याएको छ । उक्त ऐन र नियमावलीमा सुदूरपश्चिममा भएका मूल्यवान जडीबुटी संरक्षण, समबद्र्धन तथा व्यस्थापनको जिम्मेवारी डिभिजन वन कार्यालयलाई दिइएको छ ।

मन्त्रालयका उपसचिव भरत श्रेष्ठले मन्त्रालयले भइरहेको जडीबुटी संरक्षण गरी उत्पादन बढाउने र जडीबुटी खेती गरेर बढाउने काम गरिरहेको बताए ।

उनले प्रदेशभर जडीबुटी खेती विस्तारका लागि आव २०८१/०८२ मा संघ शसर्त तर्फ रु. दुई करोड ३० लाख र प्रदेश सरकारबाट ६० लाख बजेट विनियोजन भइ गत आवमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटी खेती विस्तारको काम भएको बताए ।

जडीबुटी खेती विस्तारका लागि चालु आर्थिक वर्षमा संघ शसर्ततर्फ एक करोड ८१ लाख र प्रदेश सरकारबाट ५२ लाख बजेट विनियोजन गरिएको श्रेष्ठले बताए ।

प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलका सचिव दीर्घ नारायण कोइरालाले सुदूरपश्चिम जडीबुटीको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकोले यसको संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापनका लागि दीर्घकालिन नीति आवश्यक भएको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकारले यस बर्ष गर्ने भनेको लगानी सम्मेलनमा सुदूरपश्चिम प्रदेशमा जडीबुटीको सम्भाव्यताबारे जानकारी लिने उद्देश्य राखिएको भएपनि विशेष परिस्थितिका कारण सम्मेलन रोकिन पुगेको बताए ।

सचिव कोइरालाले जडीबुटीको गन्तव्य भारत र चीन भएकोले बजारको प्रचुर सम्भावना रहेको बताए । उनले प्राकृतिक रुपमा रहेका जडीबुुटीलाई खुला चरिचरन, वन डढेलो र चोरी पैठारी रोक्न डिभिजन वन कार्यालय रहेको बताए ।

सुदूरपश्चिममा जडीबुटी संकलन गरी जस्ताको त्यस्तै निकासी गर्नुभन्दा जडीबुटीलाई एक तह प्रशोधन गरेर विक्री गर्दा लाभ लिन सकिने बताए । उनले मूल्यवान जडीबुटीको संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापनका लागि छुट्टै नीति र ऐन ल्याउनका लागि छलफल सुरु गरिएको जानकारी दिए ।

सुदूरपश्चिममा रहेका जडीबुटीको महत्व
जडीबुटी एवम् गैरकाष्ठ वन पैदावर विकास नीति २०६१ का अनुसार नेपालमा पाइने ३३ प्रजातिका जडीबुटीमध्ये सुदूरपश्चिममा ३१ प्रजातिका जडीबुटी पाइन्छ ।

दार्चुलाको अपि हिमाल र साइपालमा कुटकी, जटामसी, झ्याउ, पाँचऔंले, विष, यार्सागुम्बा, सतुवा जस्ता बहुमूल्य प्रकारका जडीबुटी पाइने गरेको वनस्पती अनुसन्धान केन्द्र कैलालीका वरिष्ठ वैज्ञानिक अधिकृत गंगादत्त भट्टले बताए ।

हिमाली जिल्लामा पाइने कुटकी बहुवर्षीय झारपात वर्गको जडीबुटी हो । तीन हजार ५०० देखि ४ हजार ८०० मिटरसम्मको उचाइको भिरालो चट्टान फुटेर बनेको बलौटे माटोमा पाइने कुटकी जथाभावी रुपमा संकलन भइ राखेकोले यसको पुनरुत्पादन तथा पुनरुस्थानमा असर नपर्ने गरी संकलन गर्नुपर्ने भट्टको भनाइ छ । रक्तविकार, पित्त, पित्त ज्वरो, रुघाखोकी, अजिर्ण, मधुमेह आदि रोगको उपचारमा कुटकीको प्रयोग हुने गरेको उनले बताए ।

बहुवर्षीय वासनादार झारपात वर्गको प्रजातिका रुपमा चिनिने ३ हजार २०० देखि ५ हजार मिटरसम्मको उचाईमा पाइने वहुमूल्य जडीबुटी हो जटामसी । यसको उपयोगी भाग जरा हो । जराबाट निस्कने तेलमा रक्तचाप घटाउने, हृदयघात नियन्त्रण गर्ने र तनाव घटाउने रसायनिक तत्व रहेका कारण राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहिआएको छ ।

तराईका फाँटदेखि उच्च हिमाली क्षेत्रसम्म पाइने झ्याउमा औषधीय गुण रहेको हुन्छ । विभिन्न किसिमका औषधी, खाद्य सामाग्री र अत्तर एवम् अन्य सुगन्ध प्रशोधनका सामाग्रीहरु उत्पादनगर्नयो प्रयोग गरिन्छ ।

असोज कात्तिक महिनामा फूल झरीसकेपछि संकलन गरिँदै आएको पाँचऔंले २ हजार ८०० देखि ४ हजार मिटरसम्मको उचाइमा पाइन्छ । प्राकृतिक अवस्थामा यसको फैलावट एकदमै कम भएका कारण अस्तित्व संकटमा पर्ने गरी संकलन गर्न नहुने अधिकृत भट्टले बताए । आधिकारीक निकायबाट सर्वेक्षण गराएर यसको संकलन गर्नुपर्ने बताउँदै उनले भने,‘पाँचऔंलेको जरा बलबर्धक/शक्तिबर्धक जडीबुटीको रुपमा प्रयोग गरिन्छ ।’२ हजार देखि ४ हजार ८० मिटर उचाईमा पाइने विष झारपात वर्गको वनस्पतीका रुपमा चिनिन्छ । यसको उपयोगी भाग गाना/जरा भएकोले औषधीको रुपमा प्रयोग गर्दा निकै सावधानी अपनाउनु पर्दछ ।

सुदूरपश्चिमका हिमाली जिल्ला दार्चुला र बझाङ हिमाली भेगमा पाइने बहुमूल्यवान् जडीबुटी यार्सागुम्बा हिउँले ढाकिने ३ हजार ९०० देखि ५ हजार १०० मिटरसम्मका हिमाली घाँसेमैदानहरुमा पाइन्छ । श्रोत सर्वेक्षण गरेर मात्र संकलन गर्नुपर्ने यार्सागुम्बा ती दुई जिल्लामा जथाभावी रुपमा संकलन हुँदै आएकोछ । यौनवद्र्धक जडीबुटीका रुपमा समेत चिनिँदै आएको यार्सागुम्बा नेपालबाट चामल, चिया तथा रक्सीमा धुलो मिसाई विदेश निर्यात हुँदै आइरहेको छ । वन नियमावली २०७९ अनुसार यार्सागुम्बाको राजश्व प्रति किलोग्राम रु. ३१ हजार तोकिएको छ ।

वहुवर्षीय झारपात वर्गमा पर्ने महत्वपूर्ण जडीबुटी हो सतुवा । यसको उपयोगी भाग जरा भएकोले यसको अत्यधिक मागका कारण यसको संख्या घट्दै गएको छ । घरेलु उपचारपद्धति, आयुर्वेदिकका रुपमा सतुवाको प्रयोग हुँदै आएको बरिष्ठ बैज्ञानिक अधिकृत भट्टले बताए ।

यसैगरी सुदूरपश्चिम प्रदेशको मिनी स्वर्गका रुपमा चिनिने खप्तड क्षेत्रमा पाचऔंले र सतुवा पाइने गरेको छ । खप्तड आसपासका वस्तीमा यी दुई वनस्पतीको प्रवद्र्धन गर्न सके रोजगारीसँगै आर्थिक लाभ मिल्ने देखिन्छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा पाइने चिराइतोले जडीबुटीको व्यापारमा प्रमुख स्थान ओगटेको छ । पहिलो वर्षमा हुर्कने र दोस्रो वर्षमा बढ्ने फूल र बीउ लाग्ने चिराइतोको सम्पूर्ण भाग औषधीयुक्त भएको हुँदा पूरै विरुवा संकलन गरिँदै आएको बजुराका डिभिजन कार्यालयका वन अधिकृत सुरेशचन्द्र डिसीले बताए ।

बहुवर्षीय वनस्पतीका रुपमा चिनिने सुगन्धवालका जरा र काण्ड उपयोगी भाग हुन् । जराबाट निकालिएको तेल विभिन्न किसिमका सुगन्धित वस्तु बनाउन र विभिन्न किसिमका औषधी निर्माणमा प्रयोग हुने गरेको डिसीको भनाइ छ । ३ हजार २०० देखि ४ हजार २०० मिटरको उचाईमा पाइने पदमचालको काण्ड र जरा उपयोगी मानिन्छ । आयुर्वेदिक प्रणालीअनुसार यसको काण्ड र जरा जुलाफ लगाउने, कब्जियत हटाउने, शक्तिवर्धक पाचन, तागत दिने, पखाला लाग्ने रोगको औषधीमा प्रयोग हुने गरेको जनाइन्छ ।

बहुवर्षीय झारपात वर्गको जडीबुटी पाषाणभेद महाभारत श्रृंखलाको चट्टानयुक्त पाखाहरुमा पाइन्छ । आयुर्वेदिक चिकित्सा पद्धतीमा यसको काण्ड ज्वरो, तागत, पखाला, कफ, हृदयरोग, पेट दुखेको, आउँ आदिको औषधी निर्माण र पत्थरी रोगको उपचारमा प्रयोग गरिन्छ । रातो च्याउमा हाम्रो शरीरमा भएको विषाक्त पदार्थहरू बाहिर फाल्ने तत्व हुन्छ । प्रेसर, सुगर, कोलेस्टोरल, क्यान्सर रोगीहरूका लागि यो धेरै लाभदायी मानिन्छ ।

यसैगरी सुदूरपश्चिमका दुई तराईका जिल्ला कैलाली र कञ्चनपुरमा भुइँ अमला, सर्पगन्धा, अस्वर्गगन्धा, हर्रो, बर्रो, अमला, वन हलेदो, असुरो, गुर्जो पिपली लगायतका जडीबुटी पाइने गरेका छन् । भुई अमला, अमलाको औषधीय गुण पाइल्स र भिटामीन सी रहेको छ । सर्पगन्धा उच्च रक्तचाप, मानसिक तनाव, अस्वर्गगन्धाले शक्ति प्रदान, बर्रो, हर्रोको पेटसम्बन्धी, टिमुर मुखको रोग, ससुरोको ज्वरो र खोकी, पिपली दम खोकी, दालचीनी मसला तथा दम खोकीको औषधीय गुण पाइने गरेको सुदूरपश्चिम आयुर्वेदिक चिकित्सालय धनगढीका बैद्य निरीक्षक सुरेन्द्र बहादुर शाहीले बताउँछन् ।

व्यवसाय प्रवध्र्दन गर्न निःशुल्क बिरुवा

वनस्पती अनुसन्धान केन्द्र कैलालीले जडीबुटीका गुणस्तरीय बिरुवा उत्पादन गरी व्यवसायिक रुपमा जडीबुटी खेती गर्न चाहने सर्बसाधारण कृषक, संघ,संस्थालाई औषधीजन्य प्रजातिका विरुवा निःशुल्क रुपमा वितरण गर्दै आएको छ ।

केन्द्रले कुरिलो, सर्पगन्धा, सितल चिनी, तेजपात, चिउरी, निम, बेल, मौवा, अश्वगन्धा, कामिनी, गुर्जो, इमिली, सतिसाल, अर्जुनलगायतका प्रजाति उत्पादन गरी वितरण गर्दै आएको केन्द्रका वरिष्ठ बैज्ञानिक अधिकृत गंगादत्त भट्टले बताए ।

केन्द्रले २०७८/०७९मा एक लाख, ०७९/८०मा एक लाख ३० हजार, ०८०/०८१मा ५२ हजार र ०८१/०८२ मा ५३ हजार औषधीजन्य विरुवा सुदूरपश्चिम भर वितरण गरेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा प्राकृतिक वातावरणमा जडीबुटी पाउने स्थानको पहिचान गरी उक्त क्षेत्रमा समुह, सहकारी तथा इच्छुक व्यक्तिलाई जडीबुटी खेतीको दिगो व्यवस्थापनका लागि तालिम, दिगो संकलन, भण्डारण, ग्रेडिङ, प्याकेजिङ र प्राविधिक सल्लाह दिँदै आएको वनस्पती कार्यालयले जनाएको छ । उनले जडीबुटी खेती विस्तारका लागि यहाँका समूह, सहकारीमा आबद्ध किसानलाई अनुदान दिँदै आएको बताए ।

पछिल्लो केही वर्षदेखि सुदूरपश्चिम प्रदेशबाट रिठ्ठा, तेजपात, काउलो, पाषाणभेद, अमला, झ्याउ, सुनाखरी, चुत्रो, सतुवा, कुटकी, सगन्धवाल, चिराइतो, सतावरी, सेतक चिनी, टिकमुर, यार्सागुम्बा, जटामसी, बोझो स्वदेशी तथा विदेशी बजारमा गएको पाइएको वनस्पती अनुसन्धान केन्द्रले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा पाइने ५०२ प्रजातिका औषधीय गुण भएका वनस्पती प्रजातिहरुको अभिलेख तयार गर्ने काम सम्पन्न भएको केन्द्रका वरिष्ठ बैज्ञानिक अधिकृत भट्टले जानकारी दिए ।

उनले बाँझो जमीनमा खेती विस्तार, जंगलमा भएको जडीबुटीलाई दिगो विकास, रोजगारी र आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यो रिपोर्ट इन्टरन्यूज अर्थ जर्नालिज्म नेटवर्क र नेपाल वातावरण पत्रकार समूहको सहयोगमा तयार गरिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खुलेका जडीबुटी उद्योग धमाधम बन्द हुँदै

निजामती,शिक्षकदेखि चिकित्सकसम्म दलीयकै दबदबा

दुर्गा प्रसाईंको माग : निजामती कर्मचारीको न्यूनतम तलब एक लाख हुनुपर्ने

अवकाशको पाँच महिना पछि सचिवलाई प्रदेश सभामा नियुक्ति

खरिदारदेखि सहसचिवसम्म जोडिएका भ्रष्टाचार र अकुत आर्जनका ७९४ फाइल तामेलीमा

लोकसेवाले खोल्यो शाखा अधिकृत तहको विज्ञापन

को होला अवको मुख्य सचिव : यस्तो छ बरीयता मिचेर नियुक्त भएकाहरुको नालीबेली

मधेस प्रदेशले पनि पायो Local Level PIS Portal को साँचो

बिशेष