रसुवा र तातोपानी भन्सार अवरुद्ध भएपछि चीन–नेपालबीचको वैदेशिक व्यापारलाई सहज बनाउन मुस्ताङ जिल्लास्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) मिति २०८२ भाद्र ३० गतेदेखि पूर्ण रूपमा संचालनमा आएको छ।
बिज्ञापन
बिज्ञापन
मिति २०८२ असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयमार्फत २०९ वटा विद्युतिय गाडी र १०७ वटा मालबाहक ढुवानी साधनमा रहेका मालवस्तु जाँचपास गरिएको छ। यस अवधिमा जम्मा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ।
बिज्ञापन
यस नाकामा हाल आशिकुडा प्रणाली (ASYCUDA System) समेत सञ्चालन भइसकेको छ। साथै नेपाल राष्ट्र बैंकको मिति २०८२ भाद्र ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग हुँदै प्रतितपत्र (Letter of Credit – LC) मार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरिसकिएको छ।
यसअघि २०८२ असार २४ गते रसुवाको लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा बन्द भएको थियो भने तातोपानी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोका कारण आवतजावत अवरुद्ध भएको थियो। यस्तो अवस्थामा वैकल्पिक रूपमा मुस्ताङ भन्सारको संचालनले चीनसँगको व्यापारिक गतिविधि सुचारु हुने विश्वास गरिएको छ।