निजामती सेवामा पुरस्कार, पदक र वैदेशिक भ्रमणजस्ता सुविधा कर्मठ र इमान्दार कर्मचारीलाई होइन, मन्त्री–सचिवको वरिपरि घुम्ने ‘भाग्यमानी’ कर्मचारीलाई मात्रै पाउँदै आएको गुनासो सुनिन्छ कर्मचारी वृत्तमा । कर्मचारीहरुको गुनासो झैं आगामी भदौं २२ मा मनाइन लागेको निजामती सेवा पुरस्कारबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा विडारीले उत्कृष्ट कर्मचारीको रुपमा आफ्नै मातहत काम गर्ने एक उपसचिवको नाम सिफारिस गरेसँगै यो बिषय फेरि सतहमा आएको छ ।
हरेक बर्ष २२ भदौमा मनाइँदै आएको निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा मन्त्रालयबाट इन्जिनियर कल्पना अधिकारीलाई सिफारिस गरिएको फेला परेको छ । उत्कृष्ट कर्मचारी छनोटका लागि मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षमा गठन भएको सिफारिस समिति समक्ष उनको नाम सिफारिस भएसँगै मन्त्रालयका कर्मचारीहरुले असन्तृष्टि प्रकट गरेका छन् ।
अधिकारी निजामती सेवा ऐन विपरित विगत चार वर्षदेखि एउटै कार्यालय, कालीगण्डकी कोरिडोर सडक आयोजनाको प्रमुख बनेर दायाँबायाँ भएकी छैनन् । निजामती ऐनअनुसार कुनै पनि कर्मचारीलाई एउटै कार्यालयमा बढीमा दुई वर्षसम्म बस्न पाइने व्यवस्था गरेको छ तर अधिकारीको हकमा सो पटक पटक एउटै आयोजना नेतृत्व गर्दै आएकी छिन् । अधिकारी प्रमुख रहेको कालीगण्डकी कोरिडोर आयोजनाले पाल्पाको पीपलडाँडादेखि पूर्वी नवलपरासीको गैँडाकोटसम्मको करिब ४३५ किलोमिटर लम्बाइको सडक निर्माण गर्ने जिम्मेवारी पाएको छ । यो आयोजनालाई तीन खण्डमा विभाजन गरिएको छ । तर, सडकका विभिन्न खण्ड वर्षौंदेखि अलपत्र छ ।
बिज्ञापन
२०७५ कात्तिक २ गते भारतीय कम्पनी इकेके इन्फ्रास्ट्रक्चरसँग ५ अर्ब ५२ करोड रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७८ भदौभित्र काम सकिनुपर्ने भए पनि अझै राम्दी–रानीमहल खण्ड अधुरो छ । सम्झौता म्याद दुई पटकसम्म थपिए पनि काम अघि बढ्न सकेको छैन । यसैबीच २०७८ असार २३ गते पाल्पा खण्डमा मात्र ४८ करोड रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो । तर काम यहाँ पनि पूरा भएको छैन ।
बिज्ञापन
मन्त्रालय स्रोतका अनुसार, आयोजनाका अधिकांश ठेक्का विवादित ठेकेदार विक्रम पाण्डेले पाएका छन् । उनले नमिल्ने च्यानल प्रयोग गरेर मात्रै पनि करिब ५ अर्ब रुपैयाँ बराबरको ठेक्का हात पारेको बताइन्छ । यस्ता ठेक्काबाट वैधानिक ३ प्रतिशत कमिसन मात्र १५ करोड रकम हात लाग्ने हुन्छ । यसरी ठूलो बजेट र ठेक्का हुने आयोजनाको जिम्मेवारी अधिकारीलाई वर्षौंदेखि दिइनुमा ठेकेदार, सचिव र कर्मचारीबीचको स्वार्थको गठजोड मुख्य कारण रहेको मन्त्रालयभित्र चर्चा चल्दै आएको छ ।
अधिकारी लामो समयसम्म एउटै कार्यालयमा प्रमुख बनेर बसिरहनुको पछाडि सचिव शर्मा विडारी र अधिकारीका श्रीमान मन्दिप सुवेदीबीचको सम्बन्धलाई पनि जोडेर हेर्ने गरिएको छ । सचिव शर्मा अहिले विद्यावारिधीको तरखरमा छन् । उनको विद्यावारिधीमा इञ्जिनियर अधिकारीका श्रीमान सुबेदीले सहयोग गरिरहेका छ्न । सुवेदी जिओ–टेक्निकल इन्जिनियर हुन् ।
बिज्ञापन
रघुवीर महासेठ भौतिक मन्त्री हुँदा अधिकारी अष्ट्रेलिया भ्रमणमा समेत सहभागी भएका थिए भने सचिव शर्मासँगै भारतको हरिद्धार पुगेको तथ्य सार्वजनिक छ । ठूला–ठूला आयोजनाको नेतृत्व दिने, वैदेशिक भ्रमण पठाउने मात्र होइन अब पुरस्कारको सिफारिससम्म उनकै नाम भए पछि कर्मचारीहरु असन्तृष्ट छन् । मन्त्रालयबाट पछिल्लो केही वर्षमै वैदेशिक भ्रमणमा सबैभन्दा बढी लाभ उठाउने कर्मचारीको रुपमा चिनिन्छन्,कल्पना । मन्त्रालयका अन्य इमान्दार कर्मचारी भने अझैसम्म कुनै आयोजना प्रमुख बन्ने अवसर नै पाएका छैनन् ।शिवलाल दाहाल, रमेश पौडेल, सुजन अधिकारी, प्रदीप भण्डारी, विजय महतो, मन्द पन्त, सजना अधिकारी, त्रिलोक घिमिरे, बद्री शर्मा, राकेश महर्जन, नातीबाबु खड्का जस्ता कर्मचारी अझै अवसर नपाएका उदाहरण हुन् ।
तर अधिकारी भने एउटै कार्यालयमा पटक–पटक प्रमुख, वैदेशिक भ्रमण, ठूला ठेक्काको रकम व्यवस्थापन र अब पुरस्कारसम्म पाउने अवस्थामा पुगेकी छिन् ।
यता यो बिषयमा सचिव केशव शर्मा विडारीसँग जिज्ञासा राख्दा निजामती पुरस्कारका लागि अधिकारीसहित १४ जनाको नाम पुरस्कार सिफारिस समिति समक्ष गएको प्रतिक्रिया दिएका छन् । उनले भने,विभागबाट सिफारिस भएर आएको हो । त्यही नाम सिफारिस समितिमा पठाइएको हो । कतिपय साथीहरुले आवेदन नै दिएनन्,आवेदन दिएकाबाटै उहाँको नाम सिफारिस भएको हो । उहाँले नै पुरस्कार पाउनैपर्दछ भन्ने पनि होइन,उहाँलाई पुरस्कार दिनै हुँदैन भन्ने पनि होइन होला ।
एउटै कार्यलयमा निजामती सेवा ऐन विपरित चार चार बर्ष जिम्मेवारी दिएको बिषयमा विडारीको जबाफ छ कतिपय साथीहरु खटाएको ठाउँमा आफू पनि नजाने र अरु बसे भनेर आलोचना गर्ने प्रवृत्ति छ यो सुधार्नुपर्दछ ।
अधिकारी एकै जनाले पटक पटक वैदेशिक भ्रमणको अवसर पाएको बिषयमा उनै सचिव भन्छन्,म आएपछि होइन म भन्दा अगाडि नै वैदेशिक भ्रमणमा पठाइएको हो ।
निजामती किताबखानाको विवरण अनुसार,०६८ सालमा निजामती सेवा प्रवेश गरेकी अधिकारी २०७९ फागुनमा उपसचिवमा बढुवा भइन् । तर बढुवा भएपछि पनि उनी कालिगण्डकी कोरिडोर सडक आयोजनामै निरन्तर प्रमुखको भूमिकामा छन् ।
यसअघि पनि सचिव शर्माले अघिल्लो वर्ष भौतिक मन्त्रालयकै कर्मचारी शोभा गिरीलाई उत्कृष्ट निजामती पुरस्कार दिलाएका थिए । गिरी १६ वर्षदेखि एउटै आयोजना नेतृत्व गर्दै आएकी छन् । उनी पनि १४ वर्षदेखि एडीबी आयोजना छोडेर अन्यत्र सरुवा भएकी छैनन् ।
यसरी हरेक वर्ष प्रदान गरिने निजामती सेवा दिवस पुरस्कार मन्त्री वा सचिवको ‘नजिकका कर्मचारी’ ले मात्रै पाउने गरेको गुनासो बढ्दो छ ।
सरकारले सो अवसरमा १ सर्वोत्कृष्ट, १० उत्कृष्ट र ३० कर्मचारीलाई पुरस्कार दिने गरेको छ । तर, करिब ८६ हजार कर्मचारीमध्ये इमान्दार र कर्मठभन्दा पनि सचिव–मन्त्रीको कृपा प्राप्त गरेका कर्मचारीलाई मात्र पुरस्कार दिइने गरेको कर्मचारीहरुको गुनासो छ ।
यसरी एउटै कर्मचारीले निरन्तर पुरस्कार, पदक, ठूला आयोजनाको जिम्मेवारी, वैदेशिक भ्रमण र बजेटको खेल पाउँदा अन्य कर्मचारी निराश र वञ्चित भएको अवस्था छ ।
निजामती सेवामा पुरस्कार र सम्मान कर्मठताभन्दा बढी सचिव–मन्त्रीको निगाहामा निर्भर देखिनु विडम्बना हो । यसपटक पनि सचिव शर्माले आफ्नै मातहतको कर्मचारीलाई उत्कृष्ट कर्मचारीका रुपमा सिफारिस गरेपछि मन्त्रालयभित्र ‘पुरस्कारको व्यापार’ र ‘स्वार्थको द्धन्द’ को चर्चा चर्किएको छ ।
यस्तो अवस्थामा सरकारले निजामती सेवामा पारदर्शिता, ऐनको पालना र इमान्दार कर्मचारीलाई प्रोत्साहन दिने नीतिलाई कडाइका साथ कार्यान्वयन नगरेसम्म हरेक वर्षको पुरस्कार विश्वसनीयभन्दा पनि विवादास्पद बन्ने निश्चित छ ।