विकल्प नेताको कि व्यवस्थाको ?

यी पुराना नेताको विकल्पको खोजी भएको धेरै भएको छैन। वर्तमान संविधानको कार्यान्वयन संगै नेताको काम गर्ने शैलीमा सुधार आउने अपेक्षा गरिएको थियो। पहिलो चुनाव सम्म त जनताले सुधारका कुनै संकेत आउछ होला भन्ने आशा गरेका हुन् तर यी नेताले आफू बाहेक अरू कसैलाई योग्य देखेको छनक नपाएरै होला दोश्रो निर्वाचनमा मतदाताहरू राजनीतिक दलले दिएका भन्दा पृथक उम्मेद्वारलाई मत संकेत गर्न थाले तर यसो गर्दा पनि यिनीहरू सच्चिन चाहेनन्। उनीहरूमा सच्चिन पर्ने नै हो भने बरू सक्किन तयार भएको जस्तो अनुभूति देखियो।

बिज्ञापन

बहुदलीय ब्यबस्थामा राजनीतिक दल उपर जनताको विश्वास हुन जान्छ तर राजनीतिको आदर्श र दर्शनमा चल्नु पर्ने दलहरू नेताको सिण्डिकेटमा चल्न थाले पछि जनतामा राजनीतिक दलहरू उपर पनि कम आस्था हुन थाल्यो। लामो समयको प्रतीक्षा पश्चात नेपाली जनताले यी वयोबृद्धहरूको बिकल्प खोजे कै हुन्। यो बिकल्प उमेर बढी भएका नेताले देश चलाउन सकेनन् भनेर हैन कि यिनीहरूमा देश चलाउने क्षमता भएन भनेर खोजिएको हो। क्षमता हुनेहरूलाई उमेरले छेक्दैन र कम उमेर भएकाहरू क्षमतावान् हुन्छन् भन्न पनि खोजिएको हैन। यहां भन्न खोजिएको के हो भने केही वर्ष यता देशको शासन सत्तामा रहेका हरूमा दूर दृष्टि पनि भएन र क्षमता पनि भएन, यिनीहरूबाट जनआकांक्षा बुझ्न सक्ने ल्याकत पनि भएन भनिएको हो। यसका साथै यिनीहरूले आफू बाहेक अरूमा काम गर्ने क्षमता हुन सक्छ भनेर विश्वास पनि गरेनन्। यस प्रकार नेपाली जनताले नेताको बिकल्प खोज्न थालेका हुन्। यही असन्तुष्ठीको एउटा रूप हो चैत्र १५, २०८१ को प्रदर्शन। यो प्रदर्शनमा राजतन्त्र पक्षधरले अग्रता लिएको देखियो तर सकारात्मक नतिजा दिन सकेन। खासगरी अस्ताई सकेको राजतन्त्रका पक्षपातिहरूले यसलाई जतिसुकै संवैधानिक वा निस्कृय राज संस्था भने पनि यसका पात्र बढी महत्वाकांक्षी देखिन्छन्। यी पात्रले प्रणाली भित्र सियो बनेर प्रवेश गर्ने तर हात्ती बनेर निस्कने चाहना राख्छन् , यिनले विगतमा रहर पुर्याउन नसकेका अधिनायकवादी रहर र आकांक्षा पूरा गर्ने अभिलाषाका साथ अगाडि बढेको पाईन्छ। यी राजावादी भनिएकाहरू आदित्यको आशामा पर्खी पर्खी आन्दोलनका कार्यक्रम राखेका छन्।

बिज्ञापन

राजावादीको यो आन्दोलनको छनक यो हैन कि जनताले वर्तमान ब्यबस्थाको विकल्प राजतन्त्रलाई रोज्न चाहन्छन्, बरू यो चाहीं पक्कै हो कि हाल शासन ब्यबस्था चलाउने पात्रहरूले जन विश्वास गुमाई सकेका छन् र जनताले यिनीहरूको बिकल्प खोजेका हुन् तर वर्तमान राजनीतिक ब्यबस्थाको बिकल्प खोजेका हैनन्। हाम्रा श्री ३ हरूले आफै श्री ५ बन्न खोज्दा वर्तमान असन्तुष्ठी छताछुल्ल भएको हो। यो कुरा हाम्रा श्री ३ हरूले बुझ्न जति ढिला गर्छन् मुलुक उती नै अस्थीरता तर्फ उन्मुख हुन्छ। यो कुरा यिनीहरूले पनि बुझेका छन् तर यिनीहरुले २ दिन भए पनि यही पाराले मुलुक लुट्न चाहन्छन् र जनतालाई भेडा बनाउन चाहन्छन्। यस अर्थमा अबको आन्दोलन अरूले हैन यिनै नेताको कार्यशैलीको विरोधमा गणतन्त्रका पक्षधरहरूले नै गर्नु पर्ने अवस्था आएको छ।

यी नेतालाई आलोचना गर्दा यिनीहरू सोच्छन् कि यो आलोचना सरकार उपर हो, राज्य उपर हो, ब्यबस्था उपर हो । किनभने यिनीहरूले आफूलाई सरकार, राज्य वा ब्यबस्थाको बिकल्प मानेका छन् र कार्यकर्ताले यसैलाई समर्थन गरेका छन्, त्यसैको परिणाम हो हालको अस्थीरता , त्यसैको परिणाम हो प्रतिगमनकारीको सक्रियता। त्यसकारण हाल देखिएको अस्थिरताको उपचार अरूबाट हैन गणतान्त्रिकहरूले आफै भित्रबाट खोज्नु पर्ने हुन्छ। किनभने यो अस्थिरताको जग यिनै श्री ३ हरुको कृयाकलापले सृजना गरेको हो।

बिज्ञापन

यिनीहरूले गणतन्त्र आरम्भको शुरूवाती संगै सेवा प्रवाह देखि सुसासनका काम गर्नुको सट्टा स्वआशनका काम गरेका कारण जनताको आशामा तुषारापात भएको हो। यस्तो विषयमा नागरिक समाज र मेडियाले आरम्भ देखि नै यिनीहरूलाई सचेत गराउदा पनि यिनीहरूको गतिविधिमा कुनै सुधार नआउदा हालको स्थिति देखिएको हो। सत्य र तितो कुरा यिनलाई नपचेको हुदा यिनीहरू बरू सकिन खोजे तर सच्चिन चाहेनन्। यिनका झोले कार्यकर्ताको स्वार्थी आवाजलाई आधार बनाएर यिनीहरूले आफूलाई मूल्यांकन गरेका हुनाले आफ्नो कमी कमजोरी देखेका छैनन्। यिनीहरू जति स्वार्थी कार्यकर्ताको आवरणमा ढाकिदै जान्छन् उती जनताको नजरमा नांगिदै जाने निश्चित छ। त्यसैले यही राजनीतिक ब्यबस्थामा यिनीहरूको प्रतिस्थापन नै आजको आवश्यकता हो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।