बिज्ञापन
Whataboutism लाई Whataboutery पनि भन्ने गरिन्छ । Whataboutism शब्द बहस वा तर्क-वितर्कको एउटा यस्तो रणनीति हो जसमा आफू माथि सिर्जित कुनै आरोप वा आलोचनाको जवाफ सीधै दिनुको सट्टा अर्कै समान वा फरक विषय उठाएर प्रश्नकर्ताको ध्यान अन्यत्र मोड्ने प्रयास गरिन्छ।यो आरोप वा गाह्रो प्रश्नको प्रति-आरोप लगाएर वा फरक मुद्दा उठाएर जवाफ दिने प्रविधि वा अभ्यास हो । Whataboutism सांस्कृतिक, राजनीतिक, वा सामाजिक बहसका क्रममा बारम्बार देखा पर्ने एक प्रवृत्ति हो । यो प्रवृत्तिमा कसैले आफ्नो कार्य वा निर्णयको आलोचना हुँदाखेरी सोही क्षणमा आलोचकलाई उल्टै प्रश्न गर्दै अर्को उस्तै उदाहरण प्रस्तुत गर्ने गर्छ जसले मूल मुद्दाबाट ध्यान मोड्ने प्रयास गरिन्छ। यसमा प्रश्न माथि नै अर्को प्रतिप्रश्न खडा गर्ने गरिन्छ। Whataboutism एक किसिमको विमर्शात्मक मोड हो, जसमा एक पक्षले प्रतिपक्षको आलोचना वा प्रश्नको जवाफ दिनुको सट्टा उसैको विगत, कमजोरी, वा बेथिति देखाएर प्रतिक्रिया दिन्छ। यसको संरचनामा “तपाईं यस्तो भन्नुहुन्छ, तर तपाईंले पनि त यस्तो गर्नुभएको छ!” भनेर अर्को व्यक्ति वा समूह भन्दा आफूलाई राम्रो सावित गर्ने प्रयास गरिन्छ।यस्तो अवधारणाको प्रयोग शीतयुध्दकालीन समयमा फरक विचारधारा राख्नेहरुको प्रश्नमा प्रतिप्रश्न गर्ने परम्पराको विकास भएको थियो।
बिज्ञापन
Whataboutism को प्रयोगमा गहिरो मनोवैज्ञानिक प्रवृत्ति लुकेको हुन्छ। व्यक्तिहरू आलोचनालाई नकारात्मक रूपमा लिन्छन् र आत्मरक्षा अर्थात Deflection mechanism को रूपमा प्रयोग गर्छन्। यसमा निम्न मनोवृत्तिहरू रहने गर्दछ:
स्व-रक्षात्मक मानसिकता: आलोचनाबाट जोगिने प्रयास।
बिज्ञापन
सापेक्ष नैतिकता: ‘यदि उसले गर्यो भने म किन नगर्ने?’ भन्ने दृष्टिकोण।
अर्को पक्षको दोषको आडमा आफ्नो गल्ती लुकाउने प्रवृत्ति।
राजनीतिमा पनि Whataboutism को प्रयोग हुने गरेको देखिन्छ । जब कुनै राजनीतिक दलको कार्यशैली वा निर्णयको आलोचना हुन्छ, जवाफमा अर्को दलको पुरानो गलत कार्यको उदाहरण प्रस्तुत गर्ने गरिन्छ । सामाजिक सञ्जाल, अन्तरवार्ता र बहसहरूमा पनि यस्तो रणनीति व्यापक देखिन्छ।
Whataboutism का उदाहरणहरू
A: तिमीले ट्राफिक नियम तोड्यौ।
B: तर अरू मान्छेले पनि त त्यही गर्छन् मैले गर्दा मात्र किन प्रश्न उठाइन्छ।
A: तिमी कार्यालयमा किन ढिलो आयौ ?
B: अरू पनि त ढिलो आउने गरेका छन् ।
A: तिमीहरूको पार्टी सरकारमा रहदा धेरै भ्रष्टाचार भएको छ।
B: तर तिमीहरूको पार्टीले पनि पहिले सरकारमा रहदा त्यही गरेको थियो, त्यसो भए तिमीहरूले पनि सही गर्यौ त?
शिक्षक: तिमीले गृहकार्य समयमा बुझाउनुपर्ने थियो।
विद्यार्थी: तर सर, श्याम त कहिल्यै समयमै बुझाउँदैन, उसलाई केही हुँदैन ।
माता/पिता: तिमी कोठा किन सफा गर्दैनौ?
बच्चा: तर दिदीले पनि त आफ्नो कोठा कहिल्यै सफा गर्दिनन् त ।
हाकिम: तपाईंको रिपोर्टमा त्रुटि भेटियो, ध्यान दिनुपर्छ।
कर्मचारी: तर अरूको रिपोर्ट त झनै खराब थियो।
प्रश्न: सामाजिक सञ्जालको तपाईंको पोस्टले समाजमा नकारात्मक असर पर्न सक्छ।
उत्तर: तर तपाईं आफैं पनि त हिजो यस्तो पोस्ट गर्दै हुनुहुन्थ्यो त ।
पति: हामीले खर्च कम गर्नुपर्छ भनेका थियौं तर तिमीले फेरि अनावश्यक किनमेल गर्यौ।
पत्नी: तर तपाइले पनि हिजो साथीहरूसँग पार्टीमा धेरै पैसा खर्च गर्नु भयो त ।
A: तपाईंहरूले सीमा सम्झौता उल्लंघन गर्नुभयो।
B: तर तपाईंहरूले पनि विगतमा यस्तो उल्लंघन गर्नुभएको थियो।
शिक्षक: हामीले सहमति गरेका थियौं कि अतिरिक्त काम बिना सूचित गरिन्न, तर मलाई हिजो भनिएन।
प्रधानाध्यापक: तर तपाईँ पनि हिंजो विना सूचना स्कूल आउनु भएन ।
A: तपाईंको कम्पनीले पर्यावरणमा प्रदूषण फैलाउँदै छ।
B: अरु कम्पनीहरु त यस्तै गर्छन्, तिनीहरुलाई किन भन्नुहुन्न?
A: तिमी कहिल्यै मेरो कुरा ध्यान दिन्नौ।
B: तर तिमीले पनि त हिजो मेरो फोन उठाएको थिएनौ।
ग्राहक: तपाईंको उत्पादनको गुणस्तर खराब छ।
कम्पनी: हाम्रो प्रतिस्पर्धीको उत्पादन त अझ नराम्रो छ ।
बच्चा: म यो हप्ता घुम्न जान चाहन्छु।
अभिभावक: तर जब मैले भनेको बेला तिमीले सहयोग गरेनौ, अब त घुम्न जाने होइन ।
कर्मचारी: यस काममा मलाई उचित महत्व दिइएन।
प्रबन्धक: तर जब हामीलाई सहयोग चाहिएको थियो त्यति वेला तिमी कहाँ थियौ?
यसरी Whataboutism को प्रयोग गर्दा आफूमा रहेको समस्या लाई कम समस्या देखाउन सोही प्रकृतिको अरुको समस्या भन्दा आफ्नो समस्या सानो हो वा यस्तो काम त अरुवाट पनि हुने गरेकोमा आफूले गरेको कमजोरी त्यति ठूलो होइन भन्ने सावित गर्न खोजिन्छ ।
Whataboutism को प्रयोग किन गरिन्छ
Whataboutism को प्रयोग विभिन्न कारणहरूले गरिन्छ, विशेष गरी जब मानिसहरू कुनै आरोप, आलोचना, वा असहज प्रश्नको प्रत्यक्ष उत्तर दिन चाहँदैनन्। यसलाई धेरैजसो रक्षात्मक रणनीति को रूपमा प्रयोग गरिन्छ।
१. आफूलाई बचाउन
जब कुनै व्यक्ति वा समूहमाथि आलोचना हुन्छ, उनीहरू दोष स्वीकार गर्न नचाहेमा “अर्काले पनि त त्यही गरेको थियो” भनेर ध्यान अन्यत्र मोड्ने प्रयास गर्छन्।
उदाहरण:
A: तिम्रो सरकारले भ्रष्टाचार गरिरहेको छ।
B: तर अघिल्लो सरकारले पनि त्यस्तै गरेको थियो!
यसरी B ले आफूमाथि लागेको आरोप स्वीकार नगरी अर्कै विषयतर्फ मोड्ने प्रयास गर्छ।
२. ध्यान अन्यत्र मोड्न
जब कसैसँग कुनै समस्या समाधान गर्ने ठोस जवाफ हुँदैन, उसले अर्कै समस्या उठाएर बहसको दिशा परिवर्तन गर्छ।
उदाहरण:
A: तिमीले आफ्नो प्रतिज्ञा पूरा गरेनौ।
B: “तर तिमीले पनि अघिल्लो पटक वचन पूरा गरेका थिएनौ!”
३. नैतिक समानता देखाउन
केहि अवस्थामा, मानिसहरू आफ्नो गल्तीलाई कम महत्व दिन वा सामान्यीकरण गर्न “सबैले गर्छन्” भन्ने तर्क ल्याउँछन्।
उदाहरण:
A: तिम्रो देशले मानवअधिकार उल्लङ्घन गरिरहेको छ।
B: तर तिमीहरूको देशले पनि पहिला त्यस्तै गरेका थिए।
यसरी B ले आफ्नो वर्तमान गलत कामलाई अघिल्लो घटनासँग तुलना गरेर सामान्य बनाउने प्रयास गर्छ।
४. आफ्नो समूहको रक्षा गर्न
जब कुनै समूह आलोचनामा पर्दछ त्यसका समर्थकहरू अर्काहरूको गल्ती देखाएर आफ्नो समूहलाई सही साबित गर्ने प्रयास गर्छन्।
उदाहरण:
हो, हाम्रो पार्टीमा केही समस्या छ, तर तिमीहरूको पार्टीले झन् नराम्रो काम गरेको थियो।
Whataboutism को नकारात्मक प्रभाव
जिम्मेवारी स्वीकारोक्ति भन्दा अरुको दोषवाट आफू बच्ने वाटो खोज्न प्रेरित गराउंछ।
मूल बहसको विषयबाट विमुख गराउंछ।
तर्कको सट्टा आरोप-प्रत्यारोप बढाउँछ।
आत्मसमीक्षा र आत्मसुधार भन्दा अरुको गल्ती उजागर गर्नमा समय दिइन्छ।
सुधार कसरी गर्ने
तथ्यमा आधारित संवादको अभ्यास: विमर्शलाई प्रमाण, तथ्य र तर्कमा आधारित बनाउनुपर्छ।
स्वीकृति र सुधारको संस्कृति: गल्ती स्वीकार्ने र सुधार गर्ने संस्कार विकास गर्नुपर्छ।
विषय केन्द्रित बहस गर्ने
Whataboutism एक बहसजन्य रणनीति मात्र होइन, यो समाजको आलोचना स्वीकार्ने क्षमता, उत्तरदायित्व बोध, र संवादको स्तरसँग सम्बन्धित प्रवृत्ति हो। यसप्रकारका विमर्श–विचलनकारी रणनीतिहरूले लोकतान्त्रिक संवादमा दीर्घकालीन क्षति पुर्याउने भएकाले यसको पहिचान, आलोचना र निराकरण अपरिहार्य छ। आत्मसमीक्षा र समालोचनालाई स्वीकार्न सक्ने संस्कृति निर्माण नै यस समस्याको दीर्घकालीन समाधान हो।
Whataboutism को असर
वास्तविक बहसलाई कमजोर बनाउँछ।
समस्याको समाधान खोज्ने भन्दा दोष अरूलाई दिन प्रेरित गर्छ।
उत्तरदायित्व बाट बच्न झिनो सहारा लिने प्रवृत्ति वढाउंछ।
Whataboutism लाई कसरी रोक्ने
Whataboutism रोक्नका लागि स्पष्ट तर्क, तथ्यमा आधारित संवाद, र आलोचनालाई सकारात्मक रूपमा लिन सक्ने मानसिकता आवश्यक हुन्छ। यहाँ केही प्रभावकारी रणनीतिहरू छन् जसले Whataboutism बाट जोगिन वा बहसलाई सही दिशामा लैजान मद्दत गर्छन्।
१. मूल मुद्दामा फर्किन आग्रह गर्ने
उदाहरण
A: सरकारको सेवा प्रवाह राम्रो भएन।
B: तर अघिल्लो सरकारले पनि यस्तै त गरेको थियो ।
A: अघिल्लो सरकारको विषयमा पछि कुरा गरौँला, तर सेवा प्रवाह सुधार्ने उद्देश्यका साथ गठित अहिलेको सरकारको सेवा प्रवाह नराम्रो हुन मिल्छ त ?
यसरी मूल विषयमा फर्कन आग्रह गर्दा बहस सार्थक बन्न सक्छ।
२. तथ्य र प्रमाणमा आधारित बहस गर्ने
उदाहरण
A: तिमीले ट्राफिक नियम तोड्यौ।
B: तर अरूले पनि त्यस्तै गर्छन् ।
A: यो अरूले गरे पनि गलत हो तर तिमीले पनि नियम तोड्नु गलत नै हो।
यसले व्यक्तिगत उत्तरदायित्वलाई प्रस्ट पार्छ।
३. असंगत तुलना नगर्ने:
उदाहरण
A: तिम्रो देशले प्रेस स्वतन्त्रता दबाएको छ।
B: तर तिम्रो देशले पनि अघिल्लो शताब्दीमा त्यस्तै गरेको थियो।
A: त्यो विगतको कुरा हो, तर अहिले हाम्रो विषय हालको घटनामाथि र वर्तमान प्रजातान्त्रिक शासन प्रणालीको वारेमा हो ।
यसले ध्यान पुरानो गल्ती होइन वर्तमान समस्या समाधानमा केन्द्रित गर्छ।
४. बहसलाई तार्किक बनाउने
उदाहरण
A: तिमीले आफ्नो वाचा पूरा गरेनौ।
B: तर तिमीले पनि अघिल्लो पटक त्यही गरेनौ।
A: हुन सक्छ, तर अहिले हाम्रो कुरा तिमीले गरेका वाचाको बारेमा हो।
यसले संवादलाई जिम्मेवारीबोधतर्फ लैजान मद्दत गर्छ।
५. Whataboutism प्रयोग भएमा त्यसमाथि ध्यानाकर्षण गराउने।
A: तिम्रो संस्थाले गलत काम गरिरहेको छ।
B: तर अरू संस्थाहरूले पनि त त्यस्तै गरेका छन्।
A: तिमी विषय बदल्ने प्रयास गर्दैछौ। हामी अहिले तिम्रो संस्थाको बारेमा कुरा गरिरहेका छौँ।
यसले मूल विषय गुम्न नदिई समाधानमुखी बहसलाई अघि बढाउँछ।
६. स्वीकृति र आदर देखाउने भाषा प्रयोग गर्ने
म तपाईंको विचारलाई सम्मान गर्छु।
तपाईंको दृष्टिकोण बुझ्ने प्रयास गर्छु।
मेरो बुझाइमा यस्तो लागेको हो, तपाईंको बुझाइ के हो?
हामीबीच अलिक भिन्न बुझाइ भएजस्तो लाग्यो, स्पष्ट पारौं है।
हामी अहिले यस विषयमा कुरा गरिरहेका छौं। अर्को मुद्दा पनि महत्त्वपूर्ण छ, तर पहिले यसलाई समाधान गरौं।
तपाईंले अर्को समस्याको उल्लेख गर्नुभयो, तर यसले हाम्रो वर्तमान चर्चालाई कमजोर पार्दैन। कृपया मूल विषयमा केन्द्रित बनौं।
म तपाईंको चिन्ता बुझ्दछु, तर अहिलेको चर्चा यस विशिष्ट मुद्दासँग सम्बन्धित छ। हामी अर्को समयमा तपाईंले उठाउनुभएको बिषयमा छलफल गर्न सक्छौं।
तपाईंले भन्नुभएको कुरा राम्रो छ, तर हामी यहाँ किन यस विषयमा कुरा गरिरहेका छौं? यसलाई नै पहिले समाधान गरौं।
मलाई लाग्छ हामी ट्र्याकबाट हटिरहेका छौं। हामी फेरि त्यसमा फर्कन सक्छौं ।
डा. दामोदर रेग्मी नेपाल सरकारका पूर्व सचिव, प्रशासनविद, प्रोलिफिक लेखक तथा वरिष्ठ गीतकार हुन्