बैकल्पिक सरकार बन्न सक्छ?

हाल नेपालमा सरकार चलाएर बसेका नेताहरू बारम्बार परीक्षण गरिएका नेता हुन्। यिनीहरूको कार्यशैली र ब्यबहार त्यही छ जुन दशकौ अगाडि थियो। जनचाहना र प्रविधिको विकासका कारण सरकारले गर्नु पर्ने डेलिभरीमा ब्यापक सुधारको खांचो छ तर यो ब्यापकतालाई सम्बोधन गर्न यो परम्परावादी सरकारले नसकेको मात्र हैन कि नसक्ने नै प्रमाणित भै सक्यो। यसै कारण केही वर्ष देखि नै यहां बैकल्पिक सरकारको खोजी भै रहेको छ। गएको निर्वाचनमा केही नयां ब्यक्ति वा नयां दल उपर जनमत बढेको पाईयो। यसरी नयांको खोजी हुनुलाई पनि बिकल्पको रूपमा लिन सकिन्छ। संसदीय भाषामा बैकल्पिक सरकार भन्नाले प्रतिपक्षलाई भनिन्छ, तर हाम्रोमा कुन सत्ता पक्ष हो कुन प्रतिमक्ष हो छुट्याउनै गाह्रो हुने रहेछ। किनभने सत्तामा रहेर दिक्क बनाएको पार्टी नै ३/४ महिना मै प्रतिपक्षमा बस्न पुग्छ। यसैले दुबै पक्ष नै परीक्षण भै सकेकाले नेपालको सन्दर्भमा प्रतिपक्षमा रहेको पार्टी सत्तामा जादैमा बिकल्प दिन सकेको पाईदैन।

बिज्ञापन

त्यसै गरी बैकल्पिक सरकारको अर्को रूप हो- सडकमा आन्दोलन गरेको समूह, वर्तमान सरकार संग असन्तुष्ट भएर केही समुह सडकमा गएर विरोध जनाउछन्, तिनीहरूले जनताको आवाज बोल्छन्। यसको गतिलो उदाहरण प्रजातन्त्रको प्राप्तिका लागि गरिएको २००७ र २०४६ सालको आन्दोलनलाई लिन सकिन्छ। यो आन्दोलन हाक्नेहरू पनि वैकल्पिक सरकार हुन्। तर कुरा के भयो भने २०४६ तिर सान्दर्भिक देखिएका दल र नेताहरू क्रमशः स्खलित हुदा पनि सत्ता लिप्सामा रही रहेकाले वर्तमान अवस्था सिर्जना भएको हो। जसरी पोखरीमा पानी जम्दै जादा त्यहांको पनि विषाक्त हुन्छ त्यसरी नै नेपालको राजनीतिक पोखरी चलायमान हुन नसक्दा विषाक्त हुदै गएको हो। यसैले यो पोखरीलाई चलायमान बनाउनु नै आजको आवश्यकता हो। वास्तवमा आज सडक पनि खाली छ, केही पुरातनवादी समूहले क्षणिक उपस्थिति देखाए पनि जन भरोसा पाउन सकेको छैन।

बिज्ञापन

वैकल्पिक सरकारको अर्को मोडल हो- Non Traditional or Decentralized Systems यो पुरानो वा परम्परावादी किसिमको मोडल हैन, यसमा विकेन्द्रित वा सामाजिक संस्थाले सरकारको काम गरेका हुन्छन्। नेपालको परिवेशमा भन्नु पर्दा गैर सरकारी निकायहरू, प्रत्यक्ष चुनिएका स्थानीय निकायहरू,सहकारी निकायहरू, सामाजिक संस्थाहरू पर्दछन्। उदाहरणको रूपमा भन्ने हो भने दोश्रो संविधान सभाको चुनावका लागि बैकल्पिक सरकारको रूपमा देखिएको निजामती कर्मचारीको सरकारलाई लिन सकिन्छ।यसै गरी दलीय राजनीतिबाट माथि उठेका नागरिक समाजलाई पनि बैकल्पिक सरकारको रूपमा लिन सकिन्छ। नेपाल मै पनि यस्तो सरकारको प्रयोग विगतमा भएको पाईन्छ र हाल वंगलादेशमा भएको सरकार पनि यस्तै प्रकृतिको हो। सरकारका बिकल्पहरू धेरै तवरबाट खोज्न सकिएला तर नेपालमा भने पुरानो सोच भएकाहरू सरकारमा बसेर डेलिभरी दिन नसकेको वा सुशासन दिन नसकेको तीतो यथार्थ हो। सरकारका बिकल्प चुनावबाटै खोज्नु पर्छ। तर हाम्रो देशमा हुने र भएका चुनावहरू Syndicate मा आधारित हुने गरेका छन्। पार्टी र पार्टीका नेताको नजिक हुन सकेमा त्यो ब्यक्ति लोकप्रीय नभए पनि पार्टीले चुनावको टिकट दिने चलन छ। जनता बीच लोकप्रीय भएकाहरू मध्ये कमैले मात्र चुनावको टिकट पाउछन् । हाम्रा राजनीतिक दलहरू मध्ये वाम पन्थी दलहरू क्याडर बेस्ड हुने नै भए तर मास बेस्ड हुनु पर्ने प्रजातान्त्रिक पार्टी समेत वाम पक्षको सिको गर्दै क्याडर बेस्ड भएको अनुभूति गरिदै छ। क्याडर बेस्ड पार्टी जनता बीच भन्दा पनि कार्यकर्ता बीच लोक प्रीय हुने हुदा यस्ता पार्टी लोक प्रीय हुन सक्दैनन्। मतदातालाई बिभिन्न प्रलोभन र डर त्रासमा राखेर निर्वाचन गरिन्छ। यसरी हुने निर्वाचनले गणितबाट जित बनाउन सक्छ तर जनताको मन र भावना यस्तो चुनावले जित्न सक्दैन। नेपालमा यस किसिमको गणितीय चुनावको उदाहरण दिनु पर्दा संविधान सभाको पहिलो चुनावमा नेकपा माओवादी केन्द्रको परिणाम हेरे पुग्छ जसमा गणित थियो तर जन भावना थिएन। यसरी जनभावना बोक्न नसकेको मतदान र यसबाट बनेको सरकार देखावटी मात्र हुन्छ र यसले जनतालाई डेलिभरी दिन सक्दैन।
यसरी दलीय सिण्डिकेटबाट दिक्क भएका मतदाताले २०७९ मा भएको संघीय चुनावमा क्षमता नै पहिचान नभएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई छानेको देखियो। यसरी भरखर स्थापित भएको पार्टीलाई राष्ट्रिय दलको रूपमा संसदमा भित्र्याउनु भनेको पुराना नेता र दलको बिकल्प खोजेको संकेत हो। खास गरी भन्ने हो भने राजनीतिक दलहरूलाई गाली गर्नु बेकार छ। किनभने राजनीतिक दलहरूलाई लोकप्रीय र चलायमान बनाउने त्यस दलको नेता र उसको टीमले हो। नेताको पद वा आसनमा बसेर मात्र नेता हुन सकिदैन। नेता हुनका लागि सम्बन्धित ब्यक्तिमा विशेष गुण हुनु पर्छ। राजनेतामा के कस्ता गुण हुनुपर्छ भनेर हेर्ने हो भने निम्न गुणले सम्पन्न नेता मात्र राजनेता हुने भनेर उल्लेख गरेको पाईन्छ- Visionary,Integrity and Honesty,Strong Communication Skills, Empathy and Compassion, Decisiveness, Courage and Resilience, Adaptability and Open mindedness, Knowledge and Expertise, Collaboration and Teamwork, Commitment to Public Service, Charisma and Inspiration आदि।

हामीले कर तिरेर पालेका नेताहरूमा उल्लिखित विशेषताहरूको सर्वथा अभाव रहेको पाईन्छ। यसकारण हाल दल हाकिरहेका नेताहरू कुनै पनि सफल देखिएनन्। यसैले यिनीहरूलाई हटाएर यो स्थानमा त्यही दल भित्रका अन्य नेताले पार्टी सम्हाल्नु पर्छ। किनभने नेता भनेको रातारात उदाउने ब्यक्तित्व हैन। यसको निम्ति त्यही दल भित्रबाटै सम्भावना खोज्नु पर्ने हुन्छ। त्यही सम्भावना भएको ब्यक्तिले बिकल्प दिन सक्नु पर्छ।

बिज्ञापन

अहिले राजनीतिक दलबाट बाहिर रहेको ब्यक्ति नेत्तृत्त्वमा पुग्न सक्ने कानूनी एवं संवैधानिक ब्यबस्था छैन। यसको बिकल्पमा केही समय यता प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचनको कुरा पनि उठेको छ, जुन संविधानमा हाल भएको प्रावधान विपरीत देखिन्छ। यसरी प्रत्यक्ष चुनिएर आएको कार्यकारी तानशाह हुन सक्छ भन्ने आरोप पनि लाग्ने गरेको छ तर संसदबाटै चुनिएका कार्यकारी ले पनि तानाशाही ब्यबहार देखाएको ताजा विगत हामी संग छ। देश भित्र देखिएका विसंगति, विकृति र प्रदुषित राजनीतिलाई सुधार गर्न केही शाहसी कदम चाल्नै पर्ने स्थिति पनि छ।

Lee Kuan Yew जस्ता दूर दृष्टि भएका सकारात्मक नेता पाएर सिंगापुरले गरेको विकासलाई हेर्ने हो भने उनलाई तानाशाह भन्नेहरू समेत अल्पमतमा पर्छन्। सत्ताका लागि नभएर विकासका लागि कठोर कदम चाल्ने नेतालाई तानाशाह भन्न मिल्दैन। लथालिंग भएको देशलाई ट्र्याकमा हिडाल्न निश्चय पनि मेहनत गर्नु पर्छ, यो मेहनतलाई तानाशाही भन्ने हो भने फोहोरको डुंगुर सहन सक्नु पर्यो, हैन भने दूर दृष्टि भएको नेता छानेर उसैलाई मुलुक जिम्मा लगाउनुको बिकल्प देखिदैन।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।