मन्त्रिपरिषदको अहिले बेलुका बसेको बैठकले जर्नेल अशोक सिग्देललाई भावी प्रधानसेनापतिमा सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बिज्ञापन
स्रोतका अनुसार आगामी भदौ २४ गते अवकाश हुने सेनापति प्रभुराम शर्माको स्थानमा सिग्देललाई लाने तयारीस्वरुप क्याबिनेटले कामुमा सिफारिस गरेको हो । नेपाली सेनाको परम्पराअनुसार अवकास पाउन एक महिना अगाडि विदामा बस्ने प्रचलन छ। शर्मा साउन २४ गतेदेखि विदामा बस्दैछन्। उनी ३ बर्ष सेनापति रहनेछन् भने पर्सिदेखि शशीभवनबाट प्रभुराम शर्माले सीतापाइलास्थित निजी निवासमा सामान सार्दैछन् । उनी विदामा बस्ने भएपछि सरकारले सिग्देललाई कामुको जिम्मेवारी दिइएको हो।
बिज्ञापन
सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा किर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सिग्देलको जन्म २०२१ र २०२३ साल गरी दुई पटक भएको प्रमाण फेला परेको छ। उनले नागरिकताको प्रतिलिपि निकाल्दा जन्म मितिमा हेरफेर गरेको भेटिएको छ। त्रिविको अभिलेख र एसएलसीको अभिलेखमा केरमेट गरी प्रमाणपत्र बनाएको भन्दै सेनाकै कर्मचारीहरूले अख्तियार दुरुपयोग आयोगमा सिग्देल विरुद्ध उजुरी दर्ता भएको थियो तर रक्षा मन्त्रालयले भने सिग्देलको शैक्षिक योग्यता र नागरिकताको प्रमाणपत्रमा कुनै कीर्ते नभएको जबाफ दिइसकेको छ । उनीमाथि दोहोरो नागरिकता लिएको र जन्ममिति किर्ते गरेको आरोप लागेको छ । सोही विषयमा सर्वोच्चमा दायर गर्न खोजिएको युवराज सफलको रिट हिजो दरपीठ भएको थियो ।