ऋषि भट्टराई
बिज्ञापन
बुटवल, जेष्ठ २१ । बुटवलमा आज भएको कार्यक्रममा स्थानीय तहमा जनप्रतिनिधि र सञ्चारकर्मीको भूमिकाबारे छलफल भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले दलित तथा सिमान्तकृत समुदायको आवाजलाई सशक्त रुपमा उठाउनु पर्नेमा सरोकारवाला हरुले जोड दिएका छन् । जागरण मिडिया सेन्टरद्धारा सञ्चालित रेडियो जागरण ९३.६ मेगाहर्जले बुटवल उपमहानगरको सहयोगमा बुटवलमा आयोजना गरेको सामाजिक समावेशिकरणको मुद्धामा स्थानीय सरकार र सञ्चारमाध्यमको भूमिका बिषयक छलफल कार्यक्रममा सहभागीहरुले यस्तो कुरा बताएका हुन । उनीहरुले बुटवल उपमहानगरपालिका द्धारा दलित तथा सिमान्तकृत समुदायका पक्षमा थालेका प्रयास र गरेका कामहरुको सन्बन्धमा छलफल समेत गरिएको हो ।
बिज्ञापन
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले विभेदका मुद्धा जहिल्यै पनि पत्रकार र सञ्चारमाध्यमको प्राथमिकतामा पर्ने बताउँदै समन्वयका लागि जनप्रतिनिधिहरुले भूमिका खेल्नुपर्ने बताए । उनले जातका बिषयमा सञ्चारक्षेत्र विभाजित हुन नहुने बताउँदै मुद्धा उठानमा सञ्चारक्षेत्रले कहिल्यै कन्जुस्याईँ नगरेको बताए । यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु यमबहादुर सुनार, कृष्णबहादुर सुनार, बसन्ती विश्वकर्मा र सुनिता खडलुकले बुटवल उपमहानगरपालिकामा दलित तथा सिमान्तकृत समुदायको सवाललाई कार्यक्रम र बजेट मार्फत सक्दो सम्बोधन गर्ने प्रयत्नमा जुटेको बताउँदै प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा रेडियो जागरणका तर्फबाट विनोद परियारले बुटवल उपमहानगरका असल अभ्यास अन्तर्गत तयार पारिएको कार्यक्रमहरु र त्यसबाट प्राप्त निकर्षलाई जनप्रतिनिधि र सरोकारवालाहरुका विच प्रस्तुत गरेका थिए ।
बुटवल उपमहानगरका उपनिर्देशक दामोदर ज्ञवालीले बुटवल उपमहानगरबाट दलित तथा सिमान्तकृत समुदायका सवालमा नीतिगत र बजेट कार्यक्रमका रुपमा समेटिएका बिषयहरुबारे प्रस्तुती राखेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरु माया दर्नाल, अधिकारकर्मीहरु लोकबहादुर नेपाली, गंकुल विश्वकर्मा, अधिवक्ता दीपा सुनार, मनु खड्का, पत्रकार टंक सुनार लगायतले दलित जनप्रतिनिधिहरुले जातीय छुवाछुत अन्त्यका लागि ठोस कार्यक्रम ल्याउनुपर्नेमा सुझाव दिएका थिए ।