सरकारको निर्णय विरुद्ध नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्की सर्वाेच्च अदालत जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । पछिल्ला विवादास्पद घटनाक्रमहरूमा आइजीपी कार्कीको समेत शंकास्पद् भूमिका देखिएको भन्दै सरकारले उनलाई पदबाट हटाएको हो । सिधै बर्खास्ती गर्दा कानुनी जटिलता पर्ने देखिएपछि मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालय मातहत सारेको हो । यो निर्णयविरुद्ध कार्की सर्वाेच्च अदालत जाने भएका हुन । कार्कीलाई नियुक्त भएको एक वर्ष पनि नपुग्दै पदबाट हटाइएको छ । उनी २०८२ कात्तिकमा नेपाल प्रहरीको ३३औँ महानिरीक्षक नियुक्त भएका थिए । २९ महिना कार्यकालका लागि महानिरीक्षक नियुक्त भएका कार्की बर्ष दिन नपुग्दै जिम्मेवारीबाट हटाइएको हो ।
बिज्ञापन
यस अघि ०५३ सालमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) अच्युतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेर नयाँ आईजीपी नियुक्त गरेको थियो । सो समयमा खरेल राष्ट्रिय अनुसन्धान विभागमा हाजिर नै भएनन । बरु सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालत गएर मुद्दा जितेपछि खरेल पुनः आईजीपी भएका थिए ।
बिज्ञापन
यस्तै सुडान घोटला प्रकरणमा रमेश चन्द ठकुरीलाई सुरक्षा सल्लाकारमा सरुवा गरेर रवीन्द्र प्रताप शाहलाई आईजीपी बनाइएकै शैलीमा सरकारले बहालवाला आईजीपीलाई हटाएर नयाँ नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ ।
प्रहरी ऐन, २०१२ को दफा ९ को उपदफा (२) मा प्रहरी कर्मचारी नेपाल सरकारको इच्छानुसारको अवधिसम्म आफ्नो पदमा बहाल रहने व्यवस्था छ । यो व्यवस्थालाई आधार मानेर सरकारले प्रहरी प्रमुखलाई पदबाट हटाउन सक्ने तर्क गर्नसक्छ । प्रहरी महानिरीक्षकको नियुक्ति तथा बढुवासम्बन्धी अधिकार पनि नेपाल सरकारसँगै छ ।
बिज्ञापन
तर यही व्यवस्थाको अर्थ सरकारले कुनै पनि कारण नखुलाई, जुनसुकै बेला प्रहरी प्रमुखलाई हटाउन सक्छ भन्ने हो कि होइन भन्ने प्रश्न उठ्छ । प्रहरी ऐनको दफा ११ ले विभागीय कारबाही र सजायको प्रक्रिया तोकेको छ । यसअनुसार बर्खास्त गर्ने वा सेवाबाट हटाउने आदेश दिँदा त्यसको आधार, अभियोग, जाँचबुझको विवरण र सफाइको मौका दिइएको वा नदिइएको कारणसमेत खुलाएर अभिलेख राख्नुपर्ने व्यवस्था छ ।
दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरिसकेका छन् । उनले केही कानुन व्यवसायीसँग अदालत जानेबारे परामर्श गरेका छन् । अदालतमा कार्कीले आफूलाई हटाउने निर्णय कानुनविपरीत, स्वेच्छाचारी वा बदनियतपूर्ण रहेको दाबी गर्न सक्नेछन् । त्यस्तो अवस्थामा सर्वोच्च अदालतले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन सक्छ । अदालतले प्रारम्भिक सुनुवाइपछि सरकारसँग लिखित जवाफ माग्न, अन्तरिम आदेश दिन वा आदेश दिन अस्वीकार गर्नसक्छ ।





























