राष्ट्रिय अनुसन्धान विभागका अधिकृत हिराबाबु भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति तथा सेवा सुविधा लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
बिज्ञापन
भट्टराईले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट प्रवीणता प्रमाणपत्र तह (आईए) उत्तीर्ण गरेको भनी २०५५ वैशाख ८ गते विभागमा झुट्टा प्रमाणपत्र पेस गरेका थिए। सो प्रमाणपत्र जारी गर्ने निकायबाट प्रमाणीकरण गराउँदा उनको नाम र कुल प्राप्ताङ्क त्यहाँको अभिलेखसँग मेल नखाएको आयोगले जनाएको छ। भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट लिएको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
बिज्ञापन
नक्कली शैक्षिक योग्यताको आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । नक्कली प्रमाणपत्रकै आधारमा उनले २०५६ जेठ १० मा सहायक निरीक्षक, २०६४ असार ३२ मा वरिष्ठ अनुसन्धान सहायक, २०७१ माघ ५ मा अनुसन्धान अधिकृत हुँदै २०७५ फागुन १३ गते प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा पाई सेवा–सुविधा उपभोग गरेका थिए । बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट पठाएको जवाफमा उक्त प्रमाणपत्र जारी नगरिएको तथ्यका आधारमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
आयोगले भट्टराईविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजाय माग दाबी गर्दै बुधवार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।





























