काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सडक विभागअन्तर्गत कार्यरत वरिष्ठ डिभिजनल इन्जिनियर (सिडिइ)हरूको सरुवाको तयारी तीव्र पारेको छ । लामो समयदेखि तयारी भइरहेको सरुवा आजै टुङ्ग्याउने मन्त्रालयको योजना रहेको स्रोतले जनाएको छ ।
बिज्ञापन
मन्त्रालय स्रोतका अनुसार आज दिउँसो वा बेलुकासम्ममा सरुवाको निर्णय सार्वजनिक हुन सक्नेछ । यसपटक सडक विभागअन्तर्गतका ३५ जनाभन्दा बढी सिडिइको सरुवा गर्ने तयारी भइरहेको छ । सरुवाको सूची अन्तिम चरणमा पुगेको र मन्त्रालयले विभिन्न विकल्पमा छलफल गरिरहेको स्रोतको दाबी छ ।
बिज्ञापन
सिडिइसँगै सुपरिटेन्डेन्ट इन्जिनियर (सुई)हरूको समेत सरुवा गर्ने तयारी भइरहेको छ । केही इन्जिनियरलाई लगानी बोर्डमा पठाउने र केहीलाई प्रदेशमा खटाउने तयारी रहेको स्रोतले जनाएको छ । यसले सडक विभागको नेतृत्व तथा आयोजना सञ्चालनमा समेत प्रभाव पार्ने देखिएको छ ।
यसैबीच, अमेरिकामा आयोजित एमसीसीसम्बन्धी कार्यक्रममा मादक पदार्थ सेवन गरी महिलामाथि अभद्र व्यवहार गरेको आरोप लागेका सुई राजेश पौडेललाई तत्कालका लागि जिम्मेवारीविहीन बनाउने विषयमा समेत मन्त्रालयभित्र छलफल भइरहेको बताइएको छ । उक्त विषयमा मन्त्रालयले कस्तो निर्णय लिन्छ भन्ने स्पष्ट भइसकेको छैन ।
बिज्ञापन
त्यस्तै, केही सिडिइलाई निमित्तको जिम्मेवारीसमेत दिने तयारी रहेको चर्चा छ । सरुवामा कसलाई कुन कार्यालयमा पठाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषयले मन्त्रालयभित्र चासो बढाएको छ ।
लामो समयदेखि चर्चामा रहेको सडक विभागको सरुवा यसपटक कसरी व्यवस्थापन हुन्छ भन्ने चासो कर्मचारी वृत्तमा छ । सरुवा प्रक्रिया पारदर्शी, मापदण्डसम्मत र कार्यक्षमताका आधारमा हुन्छ वा पहुँच र प्रभावका आधारमा भन्ने प्रश्नसमेत उठेको छ । मन्त्रालयको अन्तिम निर्णयपछि मात्रै सरुवाको वास्तविक चित्र स्पष्ट हुनेछ ।





























