बिज्ञापन
डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ कैदीबन्दी फरार भएको बिषयमा छानबिन समिति गठन भएको छ । सुरक्षा संयन्त्रको गैरजिम्मेवारी, पूर्वाधारको अभाव तथा कमान्ड कन्ट्रोल नहुँदा ८ कैदीबन्दी फरार भएको बताइएको छ ।
बिज्ञापन
५० महिला र १०० पुरुष गरी १५० जना क्षमताको उक्त कारागारमा १७ जना कैदीबन्दी रहेकामा आठ जना सुरुङ खनेर फरार भएसँगै सो बिषयमा छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका इन्स्पेक्टर विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय डोल्पाका एक जना प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य छन् ।
१७ कैदीबन्दीका सुरक्षाका लागि १५ जना सुरक्षाकर्मी खटाइएको भए पनि ८ जना कैदीबन्दी ४ मिटर लामो सुरुङ खनेर फरार भएका हुन । फरार भएकामध्ये ५ जना जबर्जस्ती करणी र ३ जना चोरी मुद्दाका रहेको बताइएको छ ।
बिज्ञापन
भागेका कैदीबन्दीमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया, सोही नगरपालिकाको वडा नम्बर ४ का २८ वर्षीय धनबहादुर भन्ने हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक, नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी, सोही नगरपालिकाको वडा नम्बर १० का ३२ वर्षीय रामबहादुर कामी, वडा नम्बर ३ का ३२ वर्षीय निशान भन्ने अदेश भण्डारी र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । जेलर दीर्घराज आरसी कारागारबाट सरुवा यसअघि नै भइसकेको थियो ।





























