राष्ट्रिय स्वतन्त्र पार्टीले ‘जान्नेलाई छान्ने’ नारा लगाउँदै आएको छ । निर्वाचनका क्रममा पनि यो पार्टीले ‘सार्वजनिक निकायलाई दलीय चङ्गुलबाट मुक्त गर्ने बाचा गरेको थियो । तर सरकारमा पुगिसकेपछि भने रास्वपाले त्यो नारा र त्यो बाचालाई लत्याएको देखिन्छ ।
यस्तै देखिएको छ,पछिल्लो अर्काे नियुक्तिमा समेत । चलचित्र विकास वोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितको नियुक्तिमा समेत उसैगरी विवादमा परेको छ । गत असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई विकास वोर्डको अध्यक्षमा नियुक्ति गरेको थियो । गत भदौ १३ गते निवर्तमान अध्यक्ष दिनेश डीसीको दुई वर्षे कार्यकाल सकिएसँगै असोज १ गते बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरेको थियो। अध्यक्ष छनौटका लागि सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको नेतृत्वमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्मकर्मी अशोक शर्मा सम्मिलित छनौट कमिटी बनाइएको थियो । सोही कमिटीले अध्यक्ष पदमा ११ जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुत गराउने निर्णय गरेकोमा पण्डित,नरेशकुमार पौडेल र निशा अधिकारीलाई अन्तिम तीन प्रतिस्पर्धीका रूपमा छनोट गरेर मन्त्रीसमक्ष सिफारिस गरी पण्डितलाई वोर्ड अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको थियो,दशै अगाडिको क्याविनेटले । उनलाई आजै नियुक्तिपत्र दिने तयारी भइरहेको हो ।
बिज्ञापन
पण्डित रास्वपा सभापति रवि लामिछाने पत्नी तथा तत्कालीन बोर्ड अध्यक्ष निकिता पौडेलको निकट भएर काम गरिसकेका पात्र हुन् । उनले निकिताको सचिवालयमा रहँदा बोर्डमा बक्सअफिस सफ्टवेयर प्रणाली लागू गर्ने कामलाई सहजीकरण गरेका थिए । उनले सिनेमा हलहरुमा बक्स अफिस प्रणाली र इ टिकेटिङ लागु हुँदा विज्ञ तथा सल्लाहकारको रुपमा काम गरेका थिए। पछिल्लो समय राजनीतिक वृत्तमा समेत चर्चामा रहेका पण्डितले गत निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहयोग गरेको बताइएको छ ।





























