जिल्ला प्रशासन कार्यालय झापाले उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना तिराएको छ । बजारमा म्याद गुज्रिएका बस्तु विक्री वितरण गर्ने,अखाद्य बस्तु बेचबिखन गर्दै आएका व्यवसायीहरुलाई सो जरिवाना तिराइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार, पछिल्लो एक साता आकस्मिक अनुगमन तथा निरीक्षणका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा अस्वाभाविक मूल्य लिने व्यवसायीमाथि कारबाही गरिएको हो ।
बिज्ञापन
एक साताको अवधिमा जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका १३४ फर्म तथा व्यवसायको आकस्मिक निरीक्षण तथा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा दुई लाख ४० हजार ४४३ बराबरका म्याद गुज्रिएका तथा अखाद्य सामग्री नष्ट गरिएको छ भने एक व्यवसायीलाई सचेत गराइएको छ। कारवाहीमा परेकामा म्याद गुज्रिएको गाईको दाना बिक्री वितरण गर्ने दास किराना पसल र फेन्सिङ वायर अस्वाभाविक मूल्यमा बिक्री गर्ने शिवम् ट्रेड एन्ड सप्लायर्सलाई जनही दुई लाख जरिवाना गरिएको छ। त्यसैगरी, अखाद्य अमिलो पदार्थ बिक्री वितरण गर्ने श्रीराम अमिलो भण्डार र आवश्यक इजाजत बिना विदेशी प्याकेजिङ प्रयोग गरी आइसक्रिम बिक्री गर्ने कमल आइस उद्योगलाई जनही ५० हजार तथा ओमशान्ति मिष्ठान्न भण्डारलाई १५ हजार जरिवाना गरिएको छ। दमक १ स्थित मुना स्टोर्सलाई भने सचेत गराइएको छ।





























