नयाँ तथा पुराना सवारी साधन खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ ।
बिज्ञापन
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गर्दै अब सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था बनाइएको हो । यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालका अनुसार,संशोधित व्यवस्थाअनुसार अब डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ । पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन ।
बिज्ञापन
यस्तै सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित कार्यालयमा उपस्थित भएर दर्ता तथा नामसारीको काम गर्न सक्नेछन् । सवारी साधन खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित नभए पनि आवश्यक कागजातसहित प्रतिनिधि उपस्थित गराएर दर्ता तथा नामसारी गर्न सकिने व्यवस्था बनाइएको हो । सवारी साधन बिक्री गर्ने डिलरले खरिदकर्ताको वारेसनामा, वारेसनामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सक्कल परिचयपत्र र खरिदकर्ताको फोटोसहित प्रतिनिधि उपस्थित भएमा दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ । सवारी साधन नामसारी गर्दा बायोमेट्रिक विवरण लिन सकिने गरी यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने जनाइएको छ ।
विभागले निजी तथा सार्वजनिक सवारी साधनको नामसारी प्रक्रियालाई थप सहज बनाउन सवारी दर्ता प्रणाली (भीआरएस) मा प्राविधिक पहुँचको व्यवस्था गर्ने जनाएको छ । विभागले यससम्बन्धी सूचना जारी गरेपछि सवारी विक्रेता, वितरक वा कम्पनीले भीआरएस प्रणालीसँग आबद्ध हुन आवश्यक पूर्वाधार तयार गरी यातायात व्यवस्था कार्यालयसँग पहुँच माग गर्नुपर्नेछ ।





























