भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले नापी विभागको महानिर्देशक परिवर्तन गरेकी छिन् । मन्त्रिस्तरीय निर्णयबाट विभागका महानिर्देशक प्रकाश जोशीलाई मन्त्रालयमा तानेर उनको ठाउँमा ठाउँमा विभागकै उपमहानिर्देशक करुणा केसीलाई जिम्मेवारी दिइएको छ । केसी विभागको कितानापी महाशाखा हेर्दै आएकी थिइन । नापी अधिकृतदेखि उनी विभागमा कार्यरत छिन् ।जोशी लामो समयदेखि विभागको महानिर्देशकको रुपमा कार्यरत थिए । उनी आफैं विभागबाट सरुवा खोजिरहेका थिए । उनलाई अहिले मन्त्रालयको अतिरिक्त समूहमा राखिएको भूमि मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
विभागले गत २३ असोजमा झण्डै आठ सय हाराहारीका कर्मचारीहरुको सरुवा गरेको थियो । यता नापी विभागले सोही सरुवासम्बन्धी कुनै गुनासो भए ३० असोजभित्र पेश गर्न सूचना जारी गरेको छ । सो सूचनामा भनिएको छ,निजामती सेवा ऐन, २०४९, निजामती सेवा नियमावली, २०५० तथा प्रचलित स्वीकृत मापदण्डबमोजिम कुनै गुनासो भए स्पष्ट तथ्य, आधार र कारण खुलाएर असोज ३० गतेभित्र पेस गर्न भनिएको छ । तोकिएको समयसीमाभित्र प्राप्त गुनासोमाथि प्रचलित कानुनी व्यवस्था तथा स्वीकृत मापदण्डबमोजिम आवश्यक कारबाही गरिने जनाएको छ।





























