अधिवक्ता पृष्ठभूमिबाट राजनीतिमा आएकी कृषि, वन तथा पर्यावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी गीता चौधरीले कमाण्ड गरेको मन्त्रालयले गत आठ असोजमा गरेको राष्ट्रिय निकुञ्जमा संरक्षण अधिकृत (चिफ वार्डेन) हेरफेर विवादमा परेको छ । बहालवाला मन्त्री र सत्तापक्षका केही सांसद निकट भनिएका पत्रकारद्वय हेमन्त चौधरी र आशिष मल्ल ठकुरीबीचको संवादमा केही राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेनहरु हेरफेर गर्दा लाखौंको लेनदेन भएको अडियो सार्वजनिक भएको थियो ।
बिज्ञापन
उक्त अडियो सार्वजनिक भएपछि कृषिमन्त्री गीता चौधरीले असोज ८ कुनै पनि निकुञ्जमा कर्मचारी हेरफेर नभएको दावी गरेको भए पनि एक साता ढिला गरी सोही मिति राखेर बर्दिया राष्ट्रिय निकुञ्जमा तीन वर्षदेखि कार्यरत अशोक रामलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको छ । जबकि,उनी यसअघि चार वर्ष पर्सामै काम गरेर सरुवा भएका थिए । त्यस्तै दिलबहादुर पुनलाई चितवन राष्ट्रिय निकुञ्ज,बर्दिया राष्ट्रिय निकुञ्जमा मनोज साह र शुक्लाफाँटमा नरेन्द्र अर्याललाई खटाइँदा बाँके राष्ट्रिय निकुञ्जमा भने वीरेन्द्र कँडेललाई यथावत राखिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जकी सुष्मा राना र लाङटाङका श्यामकुमार साह राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग पुग्दा शिवपुरीका बिष्णुप्रसाद श्रेष्ठ लाङटाङ पुगेका छन् । ढोरपाटन शिकार आरक्षका अणनाथ बराल शिवपुरी राष्ट्रिय निकुञ्ज पुगेका छन् भने रारा राष्ट्रिय निकुञ्जका विश्व श्रेष्ठलाई ढोरपाटन शिकार आरक्षमा सरुवा गरिएको छ । सरुवा भएका सबै संरक्षण अधिकृतलाई असोज ८ गतेको सरुवा पत्र थमाइएको छ । यसरी सुगमबाट सुगम र दुर्गमबाट दुर्गममा सरुवा भएपछि कतिपय कर्मचारीले मन्त्री र उनको सचिवालयले निजामती सेवा ऐन विपरित काम गरिरहेको आरोप लगाउँदै आएका छन् ।
बिज्ञापन
उता मन्त्रीको ठाडो आदेशमा एक कर्मचारीको सरुवा थमौती भएको स्रोतले जनाएको छ । कोषका वरिष्ठ संरक्षण अधिकृत अम्बिकाप्रसाद खतिवडाको सरुवा मन्त्री चौधरीको आदेशपछि रोकिएको छ । गत वैशाख २१ गतेदेखि कोषअन्तर्गतको जैविक विविधता संरक्षण कोषमा हाजिर हुन १७ गते पत्र दिइएको थियो । रमाना पनि थमाइयो । तर, उनी त्यता गएनन् । मन्त्रीको मौखिक आदेशमा उनी कोषमै काम गरिरहेका थिए । हाल साउन २३ गतेको पत्रअनुसार रमाना लिएर उनी चिडियाखानामा हाजिर भएका छन् । उसो त मन्त्री चौधरी पछिल्लो समय राष्ट्रिय प्राकृतिक संरक्षण कोषकै खर्चमा घुमफिरमा व्यस्त रहेको विवरण समेत भेटिएको छ । शनिबार र आइतबार दुई दिने छुट्टीका कारण शुक्रबार आउनेबित्तिकै उनको आउटिङ शुरु हुन्छ । हप्तैपिच्छे नयाँ नयाँ ठाउँमा परिवार, पिए, सुरक्षाकर्मी, ड्राइभरसहितको टोली जाँदा कार्यालयको बजेट मिलाएर खतिरदारीमै ठूलो रकम खर्च हुन्छ । वन्यजन्तुको खाना, बसोबास, प्रवद्र्धन र चिडियाखानाको मर्मतमा रकम खर्च गरिनुपर्ने हुन्छ । तर कोषको ढुकुटीमा करोडौं रकम भएकोमा रित्तिँदैछ । कोषकै रकमबाट कोषका सदस्य सचिव डा.चिरञ्जीवीप्रसाद पोखरेल न्यूयोर्क पुगेको समेत पाइएको छ । गत सेप्टेम्बरमा प्रधानमन्त्रीसँगै अमेरिका गएका उनीहरूले १६ लाख रूपैयाँ खर्च गरेको कोष स्रोतले जनाएको छ । रोचक प्रसंग के भने, डा.पोखरेल सो कार्यक्रमसँग सम्बन्धित व्यक्ति थिएनन् । तैपनि कोषले खर्च व्यहोर्नेगरी गएका हुन् । यद्यपि कोषकी प्रवक्ता रचना साहले भ्रमणको भुक्तानीका लागि अहिलेसम्म कुनै पत्र नआएको प्रतिक्रिया दिएकी छिन् ।





























