भूमि व्यवस्था तथा सहकारी विभागले गरेको कर्मचारी सरुवा विवादमा परेको छ । विभागले असोज १५ को निर्णय अनुसार १४९ जना खरिदार,२२७ जना नायब सुब्बा,४१ कम्युटर अपरेटर,२ कार्यालय सहयोगी,४९ भूमि प्रशासन अधिकृत गरी कूल ४२९ जना कर्मचारीहरुको सरुवा गरेको थियो । सो सरुवा गरिँदा सरुवाको एउटै मापदण्ड नअपनाइएको,पारदर्शी ढंगबाट सरुवा नगरिएको,कोही कर्मचारी ८ बर्षदेखि एउटै कार्यालयमा कार्यरत रहँदा समेत नचलाइएको तर केहीलाई समय अवधि नपुग्दै सरुवा गरिएको बिषयले कर्मचारी सरुवामा चलखेल भएको कर्मचारीहरुले आरोप लगाएका छन् ।
बिज्ञापन
यस्तो चलखेल कार्यालय पिच्छे देखिने कर्मचारीहरुले जनाउँछन् । जस्तो भूमि प्रशासन कार्यालय चितवनका केही कर्मचारीहरु आठ बर्षदेखि एउटै कार्यालयबाट दायाँबायाँ हुन परेको छैन । कर्मचारीहरुका अनुसार,०७६ साल देखि नै आकर्षक मानिने रजिष्ट्रेशन र मुद्दा फाँटमा कार्यरत रहेका ३ जना नायब सुब्बालाई भुमि प्रसासन कार्यालय चितवन भरतपुरबाट चलाइएको छैन ।सो कार्यालयबाट २ वर्ष मात्रै भएका ७ जना नायब सुब्बाको सरुवा भएको छ। सूची अनुसार, धनुषा जिल्ला स्थायी ठेगाना भएका रविन कुमार श्रेष्ठको कपिलवस्तु बाणगंगा, गोर्खा जिल्ला स्थायी ठेगाना भएका अशोक कुमार थापालाई बारा कलैया, कैलाली जिल्ला स्थायी ठेगाना भएका उष्म थापाको कावासोति, नवलपुरमा पठाइएको छ । सरुवाको सूची अनुसार,पर्वत स्थायी ठेगाना भएका विमल पौडेललाई माडी चितवन,डुलराज पगेनीलाई चनौलि चितवन,ईश्वर बन्धु गौतमलाई कलकीं काठमाडौंमा खटाएको छ । यस्तै बोधराज ढकाललाई पश्चिम नवलपरासीको परासीमा खटाइएको छ ।
बिज्ञापन
तर,भुमि प्रसासन कार्यालय चितवन, भरतपुरमा लामो समयदेखि कार्यरत रहेका कर्मचारीहरुलाई चलाइएको छैन । जहाँ कोही कर्मचारी सात बर्षदेखि कार्यरत छन् । रजिष्ट्रेशन फाट ‘क’ मा नायब सुब्बा रामनाथ अधिकारी बिक्रम संबत २०७६ सालबाट कार्यरत छन् । यस्तै सोही विभागको ‘ख’ फाँटमा नायब सुब्बा कपिलभद्र रिमाल सात बर्षदेखि कार्यरत छन् । यस्तै मुद्दा प्रशासन फाँटमा ऋषिराम केसीले ०७८ सालदेखि विभागमा कार्यरत छन् । विभागमा सात बर्षदेखि पाँच बर्षसम्म जरा गाढेर बसेका कर्मचारीहरु सरुवाको सूचीमा परेनन् । केसीले घर पायक हेटौंडा सरुवाको लागि निवेदन दिएका भए पनि कार्यालय प्रमुख निरबहादुर दाहाल सरुवा रोकाएको भूमि व्यवस्था विभाग स्रोतले जनाएको छ । केसीको सो कार्यालयमा आबश्यकता रहेको भन्दै सरुवा रोकेको र सरुवामा चलखेल भएको कर्मचारीहरु बताउँछन । सो कार्यालयमा रहेकामध्ये दुई बर्ष पूरा भएका अन्य दुई कर्मचारीलाई यथावत राखिएको छ । यस बिषयमा भूमि प्रशासन कार्यालय चितवनका प्रमुख भूमि प्रशासन अधिकृत निर बहादुर दाहालसँग जिज्ञासा राख्दा कार्यालयबाट सात जना कर्मचारी सरुवा भएको,यही अवधिमा ३०- ५५ को प्रावधानको त्रासका कारण दुई जना कर्मचारीले राजीनामा दिएको बताए ।
सो कार्यालयमा कार्यरत रहेका रामनाथ अधिकारी र कपिलभद्र रिमालहरु लामो समयदेखि कार्यरत रहेको उनले स्वीकारे । यस्तै, नासु ऋषि राम के सीको सरुवा रोक्न विभाग पुग्नु भएको हो ? भन्ने प्रश्नमा केसीले घर पायक हेटौडा सरुवाका लागि निवेदन दिएको,त्यहाँ खाली नभएका कारण काठमाडौंमा सरुवा चाहेको र त्यहाँ पनि सम्भव नभएका कारण सोही कार्यालयमा थमौती गरिदिन आग्रह गरेको स्वीकारे । ऋृषि सो कार्यालयको मुद्धा फाँटमा कार्यरत छन् ।
बिज्ञापन
यो त एउटा जिल्लास्थित कार्यालयभित्र भएको विकृती र विसंगतीको पाटो भयो । हरेक जसो कार्यालयमा हाकिमका दाहिने हात मानिएका कर्मचारीहरु उसैगरी लामो समयदेखि एउटै कार्यालय,आकर्षक फाँटबाट दायाँ बायाँ हुन परेको छैन । विभागमा कार्यरत केही कर्मचारीका अनुसार यसपटकको सरुवामा कार्यालयअनुसार ‘रेट’ नै तोकिएको बताइन्छ । आकर्षक कार्यालय र आम्दानी हुने कार्यालयमा सरुवा हुनका लागि रकम बुझाउने कर्मचारीको मागअनुसार सरुवा गरिएको, तर आर्थिक लेनदेन गर्न नचाहने कर्मचारीलाई भने रोजाइ विपरीत कार्यालयमा पठाइएको कतिपय कर्मचारीहरुको आरोप छ।
यस बिषयमा कार्यालयको प्रतिक्रिया बुझ्नका कर्मचारी प्रेसले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक योगेन्द्र दुलाल र प्रवक्ता तथा निर्देशक कृष्ण प्रसाद भण्डारीसँग जिज्ञासा राख्दा दुबै सम्पर्कमा आउन चाहेनन् ।





























