गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा युवानिधि बसौलाको जिम्मेवारी खोसिएको छ । निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र स्वास्थ्य सचिव बसौलामाथि अस्पतालको बेड संख्या बढाउने अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि अर्को व्यवस्था नभएसम्म जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय भएको हो ।
बिज्ञापन
पोखराको पद्म नर्सिङ होमलाई ५० बाट १०० बेडमा स्तरोन्नति गरी अस्पताल सञ्चालनको अनुमति दिने क्रममा तत्कालीन स्वास्थ्यमन्त्री पाण्डे, उनको सचिवालय र मन्त्रालयका सचिवले रकमको सौदाबाजी गरेको आरोप सार्वजनिक भएसँगै छानबिन समिति गठन गरिएको छ । यो प्रकरणमा तत्कालीन स्वास्थ्यमन्त्री तथा नेकपा (एमाले)का प्रदेशसभा सदस्य लक्ष्मणबहादुर पाण्डे, सचिव डा बसौला र उनका स्वकीय सचिव यादव पौडेल यो प्रकरणमा मुछिएको बिषय सार्वजनिक भएसँगै गण्डकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । पद्म नर्सिङ होमको शय्या विस्तार तथा नवीकरणका क्रममा आर्थिक लेनदेनको आरोप सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका सचिवसहित यो प्रकरणमा जोडिएका उपर छानबिन गर्न समिति बनाइएको हो । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
बिज्ञापन
यस्तै, उक्त प्रकरणमा छानबिनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा पत्राचार गर्ने निर्णयसमेत गरेको छ । एमाले प्रदेशसभा संसदीय दलले पनि छानबिन समिति गठन गरेको छ ।
दलका प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित समितिमा संसदीय दलका सदस्य तथा संसदीय बोर्ड सदस्य बेदबहादुर गुरुङ र एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी सदस्य छन् ।

























