सरकारी सेवामा पछिल्लो समयमा राजीनामाको लहर चलेको छ । नयाँ सरकार बने यता झण्डै ६ सय कर्मचारीहरुले राजीनामा दिएर हिडेका छन् । जबकी विगतमा बार्षिक ७/ ८ सय कर्मचारीले राजीनामा दिने र करिब २ हजार प्लस कर्मचारीले अवकाश पाउदैं आएका थिए ।
बिज्ञापन
तर वालेन नेतृत्वको सरकार बने यताको समय हेर्ने हो राजीनामाको लहर चलेको छ । पछिल्लो तीन महिनामै यो संख्या ४१८ पुगेको छ । किताबखानाका अनुसार यसरी राजीनामा दिनेमा विशिष्ट श्रेणीका ३, राजपत्रांकित प्रथम श्रेणीका २५, राजपत्रांकित द्वितीय श्रेणीका ९५, राजपत्रांकित तृतीय श्रेणीका ११०, राजपत्र अनंकित १५९ र श्रेणीविहीन १४६ कर्मचारी पुगेका छन् । हालसम्म यी कर्मचारीको राजीनामा स्वीकृत भएको निजामती किताबखानाले जनाएको छ । यसरी जागिर छाडेर हिड्ने उच्च पदस्थ कर्मचारीहरु समेत रहेका छन् । जागिर अवधि तीन महिनादेखि १५ बर्ष जागिर अवधि बाँकी भएका कर्मचारीहरुले जागिर बीचमै माया मारेर हिडेका छन् । सचिव कमलप्रसाद पोखरेल तिनै मध्येका एक हुन ।
पोखरेलको सरुवा तथ्यांक कार्यालयबाट सञ्चारमा भए लगतै पदबाट राजीनामा दिएका थिए तर उनले आफ्नो राजीनामाको निजामती ऐनको मस्यौदासँग कुनै सम्बन्ध नभएको बताउँछन् । यस्तै
सहसचिव रूद्रप्रसाद पण्डित, रामहरि ज्ञवाली, ऋषिराज आचार्य, प्रदिपराज अधिकारी,शिवादेवी दाहाल,गोपीकृष्ण कोइराला,टेकनारायण पौडेल, हरिप्रसाद घिमिरे,खिमबहादुर रायामाझी,शिवराम गेलाल,लोकप्रसाद न्यौपाने,विनोद लामिछाने,चन्द्रबहादुर शिवाकोटी लगायतका सहसचिव रहेका छन् । उनीहरु केहीको जागिर बर्षाै बाँकी थियो ।
किताबखानाका अनुसार गत असार महिनामा मात्र २०८ कर्मचारीको राजीनामा स्वीकृत भएकोमा साउन १ गतेदेखि भदौ मसान्तसम्ममा २१० कर्मचारी थपिएका छन्,घर जानेमा । यसरी जागिर छाड्नेमा तल्ला तहका कर्मचारीदेखि सचिव तहका कर्मचारीसम्म रहेका छन् । किताबखानाको अभिलेखअनुसार साउन र भदौ दुई महिनामा राजीनामा दिनेमा सचिव वा सचिव तहका ३ जना छन्। सहसचिव वा सहसचिव तहका १४ जना, उपसचिव वा उपसचिव तहका २१ जना र अधिकृत वा अधिकृत तहका २७ जनाले राजीनामा दिएका छन्। बाँकी १४५ जना अन्य तहका छन्।
यस्तै,असार महिनामा सहसचिव तहका ८ जना, उपसचिव तहका ४५ जना, अधिकृत तहका ५० जना र अन्य तहका १०५ कर्मचारीको राजीनामा स्वीकृत भएको थियो । पछिल्लो तीन महिनामा सचिव वा सचिव तहका ३ जना, सहसचिव वा सहसचिव तहका २२ जना, उपसचिव वा उपसचिव तहका ६६ जना र अधिकृत वा अधिकृत तहका ७७ जनाले राजीनामा दिएका छन्। अन्य तहका कर्मचारीको संख्या २५० छ। यसरी तीन महिनामा राजीनामा दिने ४१८ जनामध्ये उपसचिव र अधिकृत तहका मात्रै १४३ जना छन्।
यसरी राजीनामाको लर्काे लाग्नुको कारण हाल लोकसेवा आयोगमा पुगेको संघीय निजामती सेवा विद्येयकको प्रावधान ३० र ५५ लाई कारक मानिएको छ । नयाँ ऐन आएपछि ३० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीको पेन्सन गणना गर्दा अधिकतम ३० वर्ष मात्र मानिने सम्भावना रहेको कारण पनि राजीनामाको लहर चलेको कर्मचारीहरु बताउँछन् ।


























