नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

चन्द्रनगर गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद चर्किँदै गएको छ। कार्यालयमा नियमित उपस्थित नभएको आरोप लगाउँदै गाउँपालिका अध्यक्ष राजकुमार महतोले प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साहको हाजिरी काटेपछि प्रशासनिक विवाद सतहमा आएको हो।

बिज्ञापन

अध्यक्ष महतोले बुधबार साहको हाजिरी काट्दै चालु आर्थिक वर्ष सुरु भएयता उनको कार्यालय उपस्थिति अत्यन्त न्यून रहेको दाबी गरेका छन्। उनका अनुसार साउन महिनामा प्रमुख प्रशासकीय अधिकृत साहको हाजिरी सात दिन मात्रै देखिएको छ। अन्य दिनको विवरणमा ‘काठमाडौं काज’ उल्लेख गरिएको अध्यक्ष महतोको भनाइ छ।

बिज्ञापन

अध्यक्ष महतोले गाउँपालिकाको चालु कार्यकालको अन्तिम वर्ष भएकाले विकास निर्माण र सेवा प्रवाहलाई तीव्र बनाउनुपर्ने समयमा कार्यालय प्रमुख नै नियमित उपस्थित नहुँदा समस्या भएको आरोप लगाए।‘जनताका काम छिटो गर्नुपर्ने बेला प्रमुख प्रशासकीय अधिकृत नियमित कार्यालयमा उपस्थित हुनुभएको छैन,’ अध्यक्ष महतोले भने।

अध्यक्ष महतोले गत आर्थिक वर्षको गाउँ गौरव आयोजनाका लागि विनियोजन गरिएको ९ करोड ४० लाख रुपैयाँसमेत कर्मचारीकै कारण खर्च हुन नसकी फ्रिज भएको आरोप लगाएका छन्। उक्त रकम खर्च हुन नसक्नुमा प्रशासनिक नेतृत्वको भूमिका रहेको उनको दाबी छ।तर, प्रमुख प्रशासकीय अधिकृत साहले भने अध्यक्षले लगाएको अनुपस्थितिको आरोप अस्वीकार गरेका छन्। उनले अध्यक्षसँगको विवाद असार मसान्तदेखि नै सुरु भएको दाबी गर्दै गाउँसभाबाट पारित बजेट तथा कार्यक्रम कानुनअनुसार प्रमाणित नभएको विषयमा आफूले असहमति जनाउँदै आएको बताए।
साहका अनुसार भदौ १० गते गाउँसभा सम्पन्न भए पनि त्यसपछि बजेट तथा कार्यक्रम कानुनी प्रक्रियाअनुसार प्रमाणित गरी प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गर्नुपर्ने व्यवस्था पालना नभएको उनको दाबी छ।

बिज्ञापन

‘गाउँसभा सम्पन्न भएको १५ दिनभित्र बजेट प्रमाणित गरी प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। त्यसपछि मात्रै अख्तियारी प्राप्त हुन्छ र योजना कार्यान्वयनको प्रक्रिया अघि बढ्छ,’ साहले भने।बजेट निर्माणकै क्रममा आफूले प्रशासनिक खर्च कटौती गरिएको तथा बजेट तर्जुमा दिग्दर्शनविपरीत बजेट ल्याइएको भन्दै अध्यक्षलाई लिखित ज्ञापनपत्रसमेत बुझाएको साहले बताए।
आफू कार्यालयमा उपस्थित नै नभएको भन्ने आरोपलाई पनि उनले अस्वीकार गरेका छन्। साहका अनुसार भदौ २४ र २५ गतेसम्म आफू कार्यालयमा गएको भए पनि स्वास्थ्य समस्याका कारण त्यसपछि नियमित रूपमा कार्यालयमा उपस्थित हुन नसकेको हो।

अध्यक्षले हाजिरी काट्ने र प्रमुख प्रशासकीय अधिकृतले कानुनी प्रक्रियाको प्रश्न उठाउने अवस्थाले चन्द्रनगर गाउँपालिकाभित्र जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबीचको समन्वय कमजोर बनेको देखिएको छ। यसको प्रत्यक्ष असर बजेट कार्यान्वयन, योजना सञ्चालन तथा सेवाग्राहीका काममा पर्न सक्ने अवस्था देखिएको छ।
विवाद समाधानका लागि बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पक्षबीच छलफलसमेत भएको छ। छलफलपछि विवादलाई कार्यपालिका बैठकमार्फत समाधान गर्ने सहमति भएको जनाइएको छ।

अब कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतको कार्यालय उपस्थिति, बजेट प्रमाणीकरण तथा कार्यान्वयनमा देखिएको कानुनी विवाद र अध्यक्षले काटेको हाजिरीबारे कस्तो निर्णय गर्छ भन्ने विषयले चन्द्रनगरको प्रशासनिक गतिविधिलाई प्रभावित गर्ने देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

सरुवा सूची गुपचुप राखेर ‘सेटिङ’को आरोप, सामान्य प्रशासनमा सुशील पनेरुको दबदबा

अख्तियारमा एक बर्षमा ३३ हजार उजुरी,४९ प्रतिशत स्थानीय तह सम्बन्धित

निजामती विधेयकमा लोकसेवाको राय कुर्दै सरकार : यस्ता छन् चार दर्जन नयाँ प्रावधान

सुब्बादेखि उपसचिव तहका सयौं कर्मचारीको सरुवा,सूची गुपचुप

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

सचिव पराजुलीको अख्तियारमा पोष्टिङ,नेपाल ट्रष्टमा दवाडी,तीन निकाय अझैं सचिवविहिन

बिशेष