नेपाल पर्यटन बोर्डले निमित्त सीईओलाई मन्त्रालयमा तानेर नयाँ सीइओ नियुक्ति प्रक्रिया अगाडि बढाएको छ ।राजनीतिक नियुक्ति पाएकाहरुलाई हटाउने नाममा अध्यादेशबाट यस अघिका सीइओ पदमुक्त भएको पाँच महिना पछि वोर्डले सीइओका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त पेस गर्न आह्वान गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन दिन सक्नेछन् । यदि आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसम्म दरखास्त दिन सकिने व्यवस्था गरिएको छ । दरखास्त दिन चाहनेहरूले तोकिएका शैक्षिक योग्यता र अनुभवका कागजातका साथै पर्यटन बोर्डको प्रभावकारिता बढाउने रणनीतिक कार्ययोजना (३ हजार शब्द नबढ्ने) र आफ्नो अनुभव तथा उपलब्धि झल्किने प्रतिवेदन (१ हजार शब्द नबढ्ने) पेस गर्नुपर्नेछ । साथै, आवेदन दस्तुरबापत १५ हजार रुपैयाँ नबिल बैंक लिमिटेड, तीनधारा शाखामा रहेको नेपाल पर्यटन बोर्डको खातामा जम्मा गरी सोको भौचर पनि संलग्न गर्नुपर्नेछ ।
उम्मेदवार हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने र प्रचलित कानुन बमोजिम अयोग्य नभएको हुनुपर्ने योग्यता तोकिएको छ ।
बिज्ञापन
त्यस अघि बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐरलाई मन्त्रालयमा काज सरुवा गरिएको छ । नेपाल पर्यटन बोर्ड सञ्चालक समिति अध्यक्ष तथा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले ऐरलाई मन्त्रालय तानिएको स्वीकारे । पर्यटन मन्त्री खडकराज पौडेलले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालय सरुवा गरेका हुन् । मन्त्रालय तानिएका बोर्डका निमित्त कार्यकारी प्रमुख भने जिम्मेवारविहिन बनाइएको पर्यटन मन्त्रालयले जनाएको छ ।



























