बढुवा समितिले सचिवमा बढुवाका लागि प्रशासनतर्फका बरिष्ठ सहसचिवहरु कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र आभा श्रेष्ठको नाम सिफारिस भएको छ। हिजो बसेको बढुवा समितिको बैठकले सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको हो। आगामी मन्त्रिपरिषद्को बैठकले एक नम्बरमा रहेका कालीलाई सचिवमा बढुवा गर्नेछ।
गत फागुनदेखि अवरुद्ध हुन पुगेको बढुवा भदौं लागे यता धमाधम हुन थालेको छ । यो अवधिमा चार जना प्रशासनतर्फका सहसचिवहरु सचिवमा बढुवा भइसकेका छन् ।पछिल्लो मन्त्रिपरिषद्को बैठकले सहसचिव बिनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। कुँवर जेष्ठता र खत्री कार्यसम्पादन मूल्याङ्कनका आधारमा सचिवमा बढुवा भएर क्रमश लुम्बिनी प्रदेशको प्रमुख सचिव र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन भइसकेका छन् । त्यस अघि बरिष्ठ सहसचिव इन्दु घिमिरे सचिवमा बढुवा भएर रक्षा मन्त्रालयमा पदस्थापन भएकी छिन भने कमल भट्टराई सचिवमा बढुवा भएर बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा रहेका छन् । प्रशासनतर्फका चार सहसचिवहरु सचिवमा बढुवा भएर पदस्थापन समेत भइसकेका छन् । हिजोमात्र थप तीन सहसचिवहरु बढुवाका लागि सिफारिस हुँदा प्राविधिकतर्फका सहसचिवहरुको बढुवा भने लामो समयदेखि ठप्प हुन पुगेको छ ।
बिज्ञापन
प्राविधिकतर्फका सचिवहरु केशव शर्मा, वैशाखमा रामआधार साह तथा असारमा चिरञ्जीवी चटौत र प्रमिला बज्राचार्य अनिवार्य अवकाशमा गएपछि यी पदहरू रिक्त भएका हुन् ।अर्काे महिना अर्थात असोज १३ गते पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल पनि आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी सेवाबाट अनिवार्य अवकाशमा गएसँगै अर्काे प्राविधिकतर्फको दरबन्दी रिक्त हुनेछ ।
बिज्ञापन
हाल प्राविधिकतर्फका सचिवहरुको दरबन्दी रहेका निकाय नेपाल ट्रष्ट,सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय प्राविधिक सचिवविहिन छन् । ती निकायमा प्राविधिक सचिव खटाउन सकिएको छैन । सचिवका दरबन्दी खाली हुँदा समेत सिफारिस र पदोन्नति नहुँदा प्राविधिक सचिवहरुले खिन्नता प्रकट गरेका छन् । प्राविधिकतर्फ सचिव बढुवाको लाइनमा सहसचिव जगदीश्वर कर्माचार्य,नवीनराज सिंह, मिना श्रेष्ठ तेस्रो नम्बरको दाबेदार हुन् ।



























