रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियार दुई महिना नपुग्दै गृह मन्त्रालयमा तानिएका छन्। जिल्लामा आएको विपद्का बेला प्रभावकारी रूपमा काम गर्न नसकेको, गृह मन्त्रालयसँग आवश्यक समन्वय गर्न नसकेको तथा जिल्लाबाट समेत गुनासो आएपछि गृह मन्त्रालयले परियारलाई फिर्ता बोलाएको हो।
बिज्ञापन
परियार २०८३ असार २४ गते रसुवाको प्रमुख जिल्ला अधिकारीका रूपमा हाजिर भएका थिए। जिल्लाको नेतृत्व सम्हालेको दुई महिना पूरा नहुँदै उनलाई गृह मन्त्रालयमा तानिएको हो। रसुवामा पछिल्लो समय आएको विनाशकारी बाढी तथा त्यसपछिको खोज, उद्धार, राहत र पुनःस्थापनाको कामका क्रममा जिल्ला प्रशासनको भूमिका प्रभावकारी नभएको गुनासो मन्त्रालयसम्म पुगेपछि परियारलाई फिर्ता बोलाउने निर्णय गरिएको बताइएको छ।
बिज्ञापन
विपद्का बेला जिल्लामा उपलब्ध सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरकारी निकायबीच प्रभावकारी समन्वय गर्न नसकेको र गृह मन्त्रालयसँग पनि आवश्यक समन्वयमा कमजोरी देखिएको मन्त्रालय स्रोतको भनाइ छ। बाढीपछि उद्धार तथा राहत व्यवस्थापनका क्रममा प्रशासनको भूमिकाप्रति जिल्लास्तरबाट समेत असन्तुष्टि व्यक्त भएपछि मन्त्रालयले सीडीओ परियारलाई फिर्ता बोलाएको हो।
परियारको स्थानमा गृह मन्त्रालयले पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई रसुवाको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाउने निर्णय गरेको छ। पाण्डेले अब रसुवामा पुगेर जिल्ला प्रशासनको नेतृत्व सम्हाल्नेछन्।
बिज्ञापन
रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण टिमुरे, रसुवागढी तथा आसपासका क्षेत्रमा ठूलो क्षति हुनुका साथै कैयौँ नागरिकको मृत्यु र बेपत्ता भएका छन्। विपद्पछिको खोज तथा उद्धार अभियान अझै जारी रहेको अवस्थामा प्रशासनको नेतृत्व परिवर्तन गरिएको हो।
सीडीओ परियारलाई दुई महिना नपुग्दै फिर्ता बोलाइनुलाई गृह प्रशासनभित्र असामान्य निर्णयका रूपमा हेरिएको छ। जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हालेको छोटो अवधिमै फिर्ता बोलाइएका परियार रसुवाको इतिहासमै सबैभन्दा कम समय कार्यरत हुने सीडीओमध्ये एक बनेका छन्।





























