रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

भोटेकोशी नदीमा आएको भीषण बाढीले आफ्नै कमाण्डरसहित १३ जना सुरक्षाकर्मीलाई बेपत्ता बनाए पनि सशस्त्र प्रहरी बल नेपालले उद्धार तथा खोजी अभियानमा आफ्नो जिम्मेवारीबाट पछि हटेको छैन। आफ्नै सहकर्मी र कमाण्डर गुमाएको पीडाबीच पनि सशस्त्र प्रहरीको टोली बाढी प्रभावित क्षेत्रमा निरन्तर उद्धार, खोजी तथा राहतमा खटिरहेको छ।भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीमा परी रसुवाको टिमुरेस्थित बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित नौ जना तथा त्रिशूली जलविद्युत् आयोजना सुरक्षा बेस, मैलुङमा कार्यरत चार जना गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए।

बिज्ञापन

ड्युटीमा निस्किएका कमाण्डर खत्री र दोस्रो कमाण्डमा रहेका नायब निरीक्षक प्रकाश न्यौपानेसहितको टोली बेपत्ता भएपछि बीओपीको नेतृत्व सम्हाल्ने जिम्मेवारी सशस्त्र प्रहरी सहायक निरीक्षक तामबहादुर थापा मगरले तत्काल लिएका थिए। उनले विपद्को चरम अवस्थामा समेत उपलब्ध सुरक्षाकर्मीलाई सुरक्षित राख्दै बीओपीको जिम्मेवारी निरन्तर सञ्चालन गरेका थिए।

बिज्ञापन

बाढी आएको करिब २४ घण्टासम्म टिमुरे क्षेत्रमा सरकारी कार्यालयका संरचनामध्ये सशस्त्र प्रहरीको बीओपी मात्र बाँकी रहेको थियो। विद्युत् र टेलिफोन सेवा अवरुद्ध हुँदा बीओपीमा रहेका सुरक्षाकर्मी प्रधान कार्यालयसँग समेत सम्पर्कविहीन बनेका थिए। कमाण्डर गुमाएको अवस्थामा पनि उनीहरूले आफ्नो जिम्मेवारी भने निरन्तर निर्वाह गरिरहे।बेपत्ता सुरक्षाकर्मीमध्ये सशस्त्र प्रहरी जवान साजन कुँवरको शव पूर्वी नवलपरासीमा फेला परेको छ भने अन्य सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्।

भदौ ११ गते धुन्चेबाट बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमाण्डमा थप टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उक्त टोलीले हालसम्म बाढी तथा पहिरोमा बेपत्ता भएका ९८ जनाको शव फेला पारेको छ।
उद्धार टोलीले भदौ १२ गते टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकालाई करिब ६० घण्टापछि जीवितै उद्धार गर्न समेत सफल भएको थियो। माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि सुरक्षाकर्मीले तत्काल उत्खनन् गरेर उनलाई सकुशल बाहिर निकालेका थिए।

बिज्ञापन


बाढी र पहिरोले स्याफ्रुबेंसी–रसुवागढी सडकखण्डलगायतका मुख्य सडकमा रहेका ४१ भन्दा बढी पुल बगाएको छ। विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुनुका साथै भौगोलिक विकटताका कारण प्रभावित क्षेत्रमा रहेका तथा बेपत्ता व्यक्तिसँग सम्पर्क गर्नसमेत कठिनाइ भइरहेको छ। बाढीले टिमुरे क्षेत्रका अधिकांश घर तथा सरकारी संरचना क्षतिग्रस्त भएकाले अहिले पनि अवस्था अत्यन्त कठिन छ।
बेपत्ता तथा प्रभावितको खोजी र उद्धारका लागि सशस्त्र प्रहरीले देशका विभिन्न स्थानबाट ४२ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ। धादिङको मलेखु र गल्छी, नुवाकोटको देविघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो–३ ए, त्रिशूली हाइड्रो–३ बी, स्याफ्रुबेंसी र बोगटिटारमा गरी विभिन्न स्थानमा बेस स्थापना गरेर उद्धार तथा खोजी अभियानलाई तीव्र पारिएको छ।


उद्धारमा विशेष तालिम प्राप्त जनशक्तिसमेत ठूलो संख्यामा परिचालन गरिएको छ। टिमुरेदेखि पश्चिम नवलपरासीसम्म करिब आठ सय जना विशेष तालिमप्राप्त सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। त्यसमध्ये विपद् व्यवस्थापन तालिम प्राप्त करिब पाँच सय, सीएसएसआर ७०, रोप रेस्क्यु ७०, गोताखोर ३०, उच्च पर्वतीय उद्धारका १०, शव व्यवस्थापनका १५, ड्रोन अपरेटर पाँच, के–९ पाँच तथा मेडिकल टोलीका ४८ जना छन्।


सशस्त्र प्रहरीले उद्धार, राहत तथा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन नुवाकोटमा सात, रसुवामा चार र धादिङमा दुई गरी १३ स्थानमा विपद् बेस स्थापना गरेको छ। विशेष उद्धार टोलीअन्तर्गत परिचालित के–९ टोलीले १२, ड्रोन टोलीले १९ तथा स्वीफ्ट वाटर रेस्क्यु टोलीले १२३ वटा शव फेला पारेका छन्।

सशस्त्र प्रहरीले यसअघि २०७२ सालको भूकम्प, कोरोना महामारी, सिमलताल घटना तथा विभिन्न विपद्, दुर्घटना र महामारीमा समेत विशेष जनशक्ति परिचालन गर्दै आएको थियो। अहिलेको विपद्मा पनि गोताखोर, सीएसएसआर, रोप रेस्क्यु, स्वीफ्ट वाटर रेस्क्यु, उच्च पर्वतीय उद्धार तथा ड्रोनलगायतका विशेषज्ञ टोली परिचालन गरिएको छ।


आफ्नै सहकर्मी र कमाण्डरलाई बाढीले बगाएको पीडा एकातिर भए पनि सशस्त्र प्रहरीको बाँकी फौज भने प्रभावित नागरिकको उद्धार र बेपत्ताको खोजीमा निरन्तर खटिरहेको छ। सञ्चारविहीन, विद्युत्विहीन र भौगोलिक रूपमा अत्यन्त जोखिमपूर्ण अवस्थामा समेत आफ्नो जिम्मेवारीबाट नहटी सशस्त्र प्रहरीका सुरक्षाकर्मीले उद्धार अभियानलाई निरन्तरता दिएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष